कतिपय युवा रोजगारीका लागि भारत लगायत अन्य देशमा गएका छन् । मलाई सामान्य कमाइका लागि विदेश जानुपर्छ भन्ने सोच कहिल्यै आएन । मसँग भएको सीपले मलाई र मेरो परिवारलाई सहयोग नै पुर्याएको छ ।
What you should know
गुल्मी — आरन मेरो संसारजस्तै छ । आरन चलाएर विभिन्न सामग्री बनाउँछु । भुजेरी, खुकुरी, हँसिया, बञ्चरो, कोदालोसँगै आधुनिक किसिमका औजार पनि मैले बनाउन थालेको छु । दुःखअनुसार आम्दानी पनि राम्रै हुन्छ । दिनभरि काम गरेर औसतमा महिनाको सात/आठ हजार कमाउँछु ।
यसबाट सामान्य रूपमा घरखर्च चल्छ । श्रीमती, छोराछोरी र म गरेर परिवारमा चार जना छौं । हामीलाई लाउने–खाने त्यस्तो धेरै चाहना छैन । गाउँमा बसेपछि गाउँले परिवेशअनुसार दिन कटाइरहेको छु ।
मेरो घर मालिका गाउँपालिका–५ छापहिलेको हिले हरलेमा पर्छ । अहिले २९ वर्षको भएँ । त्यही ६ कक्षासम्म पढेँ । त्यसपछि दाजुहरूसित कमाउन भारतमा गएकाले पढाइ रोकियो । एक वर्ष भारत बसेर गाउँ फर्किएँ । त्यसपछि गाउँकै कामले सन्तुष्ट छु । हाम्रो पुर्ख्यौली पेसा नै आरन थियो ।
बाउ–बाजेले गरेको बालीघरे प्रथाले बाह्रै महिना खान नपुग्ने भएपछि यसलाई मैले ज्यालादारीमा रूपान्तरण गरेको हुँ । अहिले मिल्ने ज्यालाले म सन्तुष्ट छु ।बाउ–बाजेले गरेको बालीघरे प्रथाले बाह्रै महिना खान नपुग्ने भएपछि यसलाई मैले ज्यालादारीमा रूपान्तरण गरेको हुँ । अहिले मिल्ने ज्यालाले म सन्तुष्ट छु । सात वर्षदेखि मेरो मुख्य पेसा आरन मात्र रहेन, काठको पनि काम गर्छु । साथमा सिमेन्टसम्बन्धी काम पनि जानेको छु । झ्याल, ढोका, सिमेन्ट प्लास्टर, काठका सबैका काम, छानो छाउने र अन्य काम गर्छु ।
मैले यस कामबाट दैनिक एक हजार रुपैयाँ ज्याला पाउँछु । यसरी मासिक १७/१८ हजार रुपैयाँ कमाउँछु । आरनबाट घरखर्च चल्यो भने बाँकी रकम बचत हुन्छ । सधैं बचत हुने कुरा त भएन । यताउता ठूलो खर्च चाहिँदा सजिलो हुन्छ ।
बिस्तारै आफ्नो कामलाई सजिलो र आधुनिक बनाउँदै गएको छु । अहिले मसँग विद्युतीय बेल्डिङ मेसिन, विद्युतीय रन्दा र काठ चिर्ने आरा लगायतका सामग्री छन् । यसले सीप थप निखारिन्छ । साथै काम छिटोछरितो र सजिलो बनाएको छु । गुजारा चलिरहेको छ । गुजारा चलाउन अरु केही सोच्नुपर्दैन । सीप सिकेपछि सामान्य कमाइका लागि दुःख पाउन पर्दैन ।
मुख्य कुरा सीप नै हो । सीप भएन भने गुजारा चलाउन धेरै गाह्रो हुन्छ । मसँग आरानसम्बन्धी कामको सीप छ । जुन मैले बुबाबाटै सिकेँ । यसले मलाई सधैंका लागि फाइदा गर्यो । यसलाई मैले बालीघरेबाट ज्यालादारीमा रूपान्तरण गरेको चार वर्ष भइसक्यो ।
यसले जीविकोपार्जनमा पनि मलाई सहयोग गरेको छ । साँझ–बिहानको एकछिनको मिहिनेतले पनि हातमुख जोड्न सकिन्छ । त्यसबाहेक काठको काम गर्ने सीपले मलाई सहयोग नै पुर्याएको छ । सीप नभएका युवा गाउँमा कोही छैनन् ।
कतिपय रोजगारीका लागि भारत लगायत अन्य देशमा गएका छन् । मलाई सामान्य कमाइका लागि विदेश जानुपर्छ भन्ने सोच कहिल्यै आएन । मसँग भएको सीपले मलाई र मेरो परिवारलाई सहयोग पुर्याएको छ ।
अरूलाई भन्न मैले के पो जानेको छु र ! तर, मेरो अनुभवमा सीप नै ठूलो कुरा हो जस्तो लाग्छ । कमाइका लागि जहाँ गए पनि सीप सिक्नुपर्छ । जसले गर्दा आफूलाई जहाँ गए पनि दुःख पाउनु पर्दैन । ठूलो लोभलालच गर्नेहरूलाई गाउँमा बसेर मात्रै पुग्दैन होला ! तर, सामान्य जीविकोपार्जन गर्छु, गाउँमै बस्छु भन्नेहरूका लागि सामान्य सीप सिके भइहाल्छ ।
प्रस्तुति : सन्तोष महतारा
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
