‘सुन्तला बेचेर यसपालि २० लाखजति कमाइ हुने अड्कल छ’

'गत वर्ष सबैभन्दा बढी ४२ लाखको सुन्तला बिक्री गरेँ । यसपालि गत वर्षको जस्तो सुन्तला उत्पादन भएको छैन । सुन्तला खेतीबाट उपचार गर्दा र जग्गा किन्दा लागेको ऋण तिर्दै आएको छु ।'

पुस २६, २०८२

कृष्ण डाँगी

'It is estimated that we will earn around 2 million rupees this year by selling oranges'

What you should know

सल्यान — पढाइमा मेरो रुचि थियो । तर, परिवारको नियमित आम्दानी थिएन । स्कुल जानलाई खर्च पुर्‍याउन धौ धौ हुन थालेपछि पढाइलाई निरन्तरता दिन समस्या भइरहेको थियो । बुवाले एकोहोरो दुःख गरिरहनु भएको थियो । जति काम गरे पनि घरखर्च पुग्ने अवस्था थिएन । त्यो देखेर बुवालाई काममा सघाउनुपर्छ भन्ने लाग्न थाल्यो ।

२०५२ सालमा तत्कालीन माओवादीले सशस्त्र युद्ध सुरु गर्‍यो । गाउँका युवालाई सशस्त्र युद्धमा सहभागी हुन दबाब बढ्न थालेपछि विस्थापित हुनु पर्‍यो । कक्षा ५ मा पढ्दापढ्दै १४ वर्षको उमेरमा गाउँका साथीहरूसँगै भारतको सिम्ला पुगेँ । सुरुसुरुमा सिम्ला जाने अनि केही महिना बसेर घर फर्किने गर्थें ।

घर आएका बेला एक दिन स्याउला बटुल्न वन जाँदा  माओवादीका लागि सुराकी गरेको आरोपमा सुरक्षाकर्मीले मरणासन्न हुने गरी कुटे । बल्लतल्ल ज्यान बचाएर दाङ गएँ । त्यहीँबाट सिम्ला पुगेँ । लगातार ६ वर्षसम्म सिम्लामै बसेर तरकारी खेती गरेँ । 

सिम्लामा काम गर्ने क्रममा रुख ढलेर लागेपछि २०५५ तिर घाइते भएँ । तीन वर्षसम्म नियमित उपचार गर्नु परेकाले केही काम गर्न सकिनँ । उता उपचार गर्दा र यता गाउँमा जग्गा खरिद गर्दा १६ लाख ऋण लाग्यो । । २०५८ मा सिम्लामा बसेर केही हुँदैन भनेर घर फर्किएँ । घर आएपछि आफ्नै पाखोबारीमा अदुवा र सुन्तला खेती सुरु गरेँ । अदुवाभन्दा पनि व्यावसायिक रुपमा सुन्तला खेती गर्न थालेँ ।

खाना खर्च र छोराछोरी पढाउन मात्रै वर्षमा ५ लाख ८८ हजार खर्च लाग्छ ।सुन्तला नै मेरो आर्थिक उपार्जनको मुख्य आधार बनेको छ । अहिले ४४ वर्षको भएँ । अहिले झन्डै ४० रोपनीमा १ हजार ५ सय सुन्तलाका बोट छन् । जसमध्ये १ हजार २ सय बोटले फल दिँदै आएका छन् । पाँच वर्षअघि मैले ३५ हजारको सुन्तला बिक्री गरेको थिएँ । त्यसको दुई वर्षपछि २ लाखको बिक्री गरेँ । गत वर्ष मात्र सबैभन्दा बढी ४२ लाखको सुन्तला बिक्री गरेँ ।

बाग्चौर नगरपालिका–८, कोटमौलामा हाम्रो आठ जनाको परिवार छ । खाद्यान्न लगायत सबै कुरा किनेर खानुपर्छ । आठ जनाको परिवारलाई एक महिनामा ८ हजारको एक क्विन्टल चामल, ३ हजारको दाल, २ हजारको तेल, १० हजारको तरकारी, ३ हजारको मासु, टेलिफोन लगायत अन्य ३ हजार गरी २९ हजार खर्च हुन्छ । काठमाडौंमा पढ्दै आएका छोराछारीका लागि २० हजारजति खर्च लाग्छ ।

खाना खर्च र छोराछोरी पढाउन मात्रै वर्षमा ५ लाख ८८ हजार खर्च लाग्छ । सुन्तला काँटछाँट, मलजल, लगायत अन्य व्यवस्थापनमा गत वर्ष १० लाख खर्च भएको थियो । गत वर्ष कमाएको ४२ लाखबाट सबै खर्च कटाएर २० लाखजति बचाएँ । त्यही बचाएको रकमबाट लागेको ऋणमध्ये १२ लाख तिरेँ । अब ६ लाख बाँकी छ । यस वर्ष सबै ऋण तिर्छु । 

पहिले हामीलाई दुई छाक खान समस्या थियो । कहिलेकाहीँ मात्र भात खान पाइन्थ्यो । मासु खानु परे चाडपर्व कुर्न पर्थ्यो । नयाँ कपडाका लागि दसैं कुर्नु पर्थ्यो । व्यावसायिक सुन्तला खेतीमा लागेपछि अहिले कसैको भर पर्नु पर्दैन । सबै सहज बन्दै गएको छ । पहिला म आफैं घरखर्च जुटाउन अरुका तथा विकासे काम भएका स्थानमा काम पाइन्छ कि भन्दै हिँड्ने गर्थें । अहिले गाउँका अन्यलाई रोजगारी दिन सक्ने भएको छु । घरका सबै सदस्यलाई रोजगारी मिलेको छ । उत्पादित सुन्तला घरबाटै बिक्री हुने गरेका छन् । बिक्रीका लागि व्यापारी खोज्दै हिँड्नु परेको छैन । विगतमा परिवार पाल्न दैनिक १० घन्टासम्म काममा खटिने गर्थें । अहिले सुन्तला गोडमेल, बिक्री, मलजलका समयमा बाहेक अरुबेला काममा खटिनु पर्दैन । पहिला मलाई परिवारले भन्दा अरुले चिन्दैनथे । सुन्तला खेतीमा लागेपछि सबैले चिन्न थालेका छन् । 

प्रस्तुति : विप्लव महर्जन

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

कृष्ण

Link copied successfully