‘दैलेखबाट आएर पूर्वी पहाडमा कहलिएको जुत्ता व्यापारी बनेको छु’

औजार–उपकरण हुने हो भने छिटो जुत्ता उत्पादन गर्न सकिन्छ । त्यसैले रकम बचत गरेर औजार खरिद गर्ने योजना बनाएको छु ।

पुस २४, २०८२

गंगा रम्तेल

”I came from Dailekh and became a shoe merchant in the eastern hills.”

What you should know

खोटाङ — जनावरका छालाबाट धेरैथरीका सामान बनाउँछु । मैले बनाएका पेटी, पर्स, झोला, स्कुलका लागि चाहिने जुत्ता, पार्टी सुज, मार्टिन ब्रान्डका जुत्ता तयार गर्छु । विभिन्न प्रकारका लेडिज–जेन्सका साथै छालाकै स्पोर्ट्स जुत्ता पनि बनाउने गरेको छु ।

अहिलेसम्म मैले बनाएका जुत्तामा कमजोरी देखाउने ग्राहक भेटेको छैन । बरु आकर्षक र टिकाउ भएको भन्दै धन्यवाद दिन आउने ग्राहक धेरै छन् ।

मैले तयार गर्ने जुत्ता दिक्तेल बजारमा मात्र खपत हुँदैनन्, विदेशसम्म पुगिरहेका छन् । त्यो भनेर ठूलो मात्रामा निर्यात गर्ने होइन । यहाँबाट विदेशमा रोजगारी गर्न पुगेकाले अर्डर गर्छन् । यहाँबाट जाने मान्छेसित पठाइदिन्छु । अहिले म ४५ वर्षको भएँ ।

मेरो घर कर्णाली प्रदशेको दैलेख जिल्लास्थित नारायण नगरपालिका–५ झिल्केमा पर्छ । म यहाँ आएको ६ वर्ष भयो । दिक्तेलको बेसक्याम्पमा आशिष सुज सेन्टर खोलेको छु । त्यहीँ जुत्ता बनाउने काम गर्छु । जुत्ता बनाएर राम्रै कमाइ गरिरहेको छु ।

मैले तालिम दिएका धेरै विद्यार्थीले अहिले जुत्ता बनाउने पेसा गरिरहेका छन् । त्यसले पनि मलाई हौस्याउने गरेको छ ।महिनाको ८० हजारदेखि डेढ लाख रुपैयाँसम्म कमाउँछु । यसैबाट तीन छोरी र एक छोराको शिक्षा–दीक्षा खर्च पुगेको छ । जेठी छोरी र छोरालाई १२ कक्षासम्म पढाएको हुँ । दुवैको बिहे भइसकेको छ । दैलेखकै एक विद्यालयमा माइली छोरी १० र कान्छी कक्षा ९ मा पढ्दै छन् । उनीहरू खुसी छन् । 

व्यापार गर्छु भनेर यहाँ आएको होइन । ६ वर्षअघि रावाबेसी गाउँपालिकामा जुत्ता बनाउने तालिमको प्रशिक्षक भएर आएको हुँ । यहाँ आएर बजार बुझ्दा व्यवसाय चल्ने देखेर पसल सुरु गरेँ । अहिलेसम्म राम्रै चलेको छ । रहँदा बस्दा यो ठाउँ छोड्नै मन लागेन ।

सुरुमा ४ लाख रुपैयाँ पुँजीबाट जुत्ता बनाउने पसल सुरु गरेको थिएँ । पसल खोलेपछि राम्रो व्यापार हुन थाल्यो । कमाइ पनि राम्रो भएपछि यसलाई विस्तार गर्ने सोच बनाएँ । तर, आफूसित लगानी गर्न पैसा थिएन । अनि दिक्तेल सक्रिय बचत तथा ऋण सहकारीबाट १२ लाख ऋण लिएर पसल विस्तार गरेँ ।

व्यापार भइरहेकाले ऋण चुकाउन समस्या छैन । अहिले दिक्तेल बजारमा मात्र होइन, ओखलढुंगामा पनि पसल सञ्चालन गरेको छु । मध्यपश्चिमको दैलेखबाट आएर पूर्वी पहाडमा व्यापारी पो भएँ । ओखलढुंगामा चाहिँ दिक्तेलकै पसलको शाखा खोलेको हुँ । अहिले दुवैतिरको पसल राम्रै चलिरहेको छ । ओखलढुंगामा म आफैं बसेर व्यापार हेरिरहेको छु । दिक्तेल बजारको व्यापार छोराले चलाइरहेको छ । 

मैले परम्परागत सीप प्रयोग गरेर बनाएका जुत्ताले ग्राहकको मन जितिरहेको छु । जमानाअनुसार अब आधुनिक प्रविधिबाट जुत्ता बनाउने सोचेको छु । त्यसका लागि औजार–उपकरण आवश्यक छ । अनि उत्पादन पनि गर्न सकिन्छ । अब कमाएको रकम बचत गरेर औजार–उपकरण खरिद गर्ने योजना बनाएको छु ।

मेरो व्यवसाय ठिकै चलेको छ तर हामीजस्ता सीप प्रयोग गर्नेलाई स्थानीय सरकारले वास्ता गरेको छैन । यत्रो पेसा गर्ने मान्छेलाई जनप्रतिनिधिले के समस्या छ भनेर अहिलेसम्म सोधेका छैनन् । पालिका सबैभन्दा नजिकको सरकार हो । जनताको सुख–दुःख के छ ? कस्तो छ ? भन्ने थाहा हुनुपर्छ । तर, वास्तै गर्दैनन् । 

प्रस्तुति : डम्बरसिं राई

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

गंगा रम्तेल

Link copied successfully