‘पानीबाहेक सबैथोक किनेर खानुपर्छ, मजदुरी नगरी सुखै छैन’

दैनिक कमाउने र खाने परिवारको मान्छे हुँ । एक दिन काम नगरे घरमा चुलो बल्दैन । पेट भर्नका लागि भए पनि दैनिक ज्याला मजदुरी गरिरहेको छु ।

पुस २०, २०८२

गयाप्रसाद थारु

”We have to buy everything except water, there is no happiness without working hard.”

What you should know

बर्दिया — घाम नदेखेको पनि तीन हप्ता भइसक्यो । बीचमा दुई/तीन दिन झुलुक्क घाम लागेको थियो । अचेल एक दिन घाम लाग्यो भने बाँकी ६ दिन हुस्सु लाग्छ । अब माघीसम्म यस्तै त होला । पोहोर–परार यति सारो जाडो भएको थिएन । मंसिरमा त ठिकठिकै जाडो थियो । पुस लागेपछि त बिहानदेखि साँझसम्म बाक्लो हुस्सु लागिरहेछ ।

हुस्सु मात्र लागे त हुन्थ्यो नि, अहिले पानी परेजस्तो शीत वर्षा हुन्छ । शीतलहर चलेपछि ठन्डीले हातगोडा चलाउन सकिन्न । यस्तो चिसोले हामी दैनिक ज्याला मजदुरी गर्नेलाई धेरै कष्ट हुने गरेको छ । शरीरमा किला घोचेजसरी दुख्छ । मजदुरी गर्न नसकेपछि गुजारा गर्न मुस्किल भइरहेको छ । जाडोले गर्दा अहिले बिहानै काममा निस्कन सकिँदैन । 

झन् बिहान बाक्लो हुस्सु लागेका बेला त साइकल चलाउन ज्यादै धौ हुन्छ । राम्रोसँग बाटो पनि देखिँदैन । काम गरेर घर फर्किने बेला झमक्क रात परिसक्छ । त्यसैले झोलामा टर्च बोकेर काम गर्न जान्छु । 

बढैयाताल गाउँपालिका–९ जुक्तिनगरमा स्थायी बसोबास छ । अहिले ४३ वर्षको भएँ । अहिले गुलरिया नगरपालिका–८ मा घर बनाउने काम गरिरहेको छु । काम गर्ने ठाउँबाट मेरो घर ९/१० किलोमिटरको दूरीमा छ । अचेल बालापुर गाउँमा दिनहुँ जसो चितुवा देखिने गरेको छ ।

कामका लागि गुलरिया पुग्न दुईवटा जंगल पार गर्नुपर्छ । हाम्रै गाउँका अर्का एक जना पनि सँगै आउने भएकाले भरोसा लाग्छ । ती साथी नआएका दिन चितुवाको डरले म पनि काममा जान्नँ ।घरबाट काम गर्न गुलरिया आउन दुईवटा जंगल पार गरेर आउनु पर्छ । एक्लै आउन डर लाग्छ । हाम्रै गाउँका अर्का एक जना पनि सँगै आउने भएकाले भरोसा लाग्छ । 

काम सकिएपछि गुलरिया नगरपालिकाको सुहेलवा, बालापुरको झुलुङ्गे पुल पार गरेर बिक्री हुँदै घरसम्म पुग्छु । बिहान गुलरिया आउँदा र साँझ घर फर्किंदा ठिहीले हात बरफजस्तै चिसो भइहाल्छ । बाक्ला र न्याना कपडा किन्न आफूसित पैसा छैन । साँझ घरमा पुगेर आगो तापेपछि बल्ल राहत महसुस हुन्छ । मजदुरी गर्नु रहर होइन, बाध्यता हो । के गर्ने ? ठन्डीका बेला घरमा परिवारसितै बसेर खान पुग्दैन । दैनिक कमाउने र खाने परिवारको मान्छे हुँ । एक दिन काम नगरे घरमा चुलो बल्दैन । पेट भर्नका लागि भए पनि दैनिक ज्याला मजदुरी गरिरहेको छु ।

ऐलानी जमिनमा घरबास छ । खेतबारी छैन । पानीबाहेक घरमा आवश्यक सबै चिज किनेर खान्छौं । बुढाबुढी र छोराछोरी गरेर परिवारमा चार जना छौं । ठूली छोरीको विवाह भइसक्यो । भैंसाहीस्थित स्कुलमा कान्छी छोरी ९ र छोरा ६ कक्षामा पढ्छन् । श्रीमती बिरामी परिरहन्छिन् । उनको किडनीमा पत्थरी थियो । डेढ महिनाअघि अप्रेसन गराएको छु । उनको अप्रेसन गराउँदा एक लाख रुपैयाँ ऋण लागेको छ ।

छोराछोरी सानै छन् । म काममा जाने भएकाले आराम गर्नुपर्ने श्रीमती पनि बिहानै उठ्छिन् । भर्खरै अप्रेसन भएकाले गाह्रो काम गर्न सक्दिनन् । उनलाई सघाउन म पनि बिहानै उठ्छु । कठ्यांगि्रँदो चिसोमा बिहान साढे ४ बजे उठेर नुहाइ–धुवाइ सकेर खाना पकाउने सुरसार गर्छौं । हामी साधु भएकाले नुहाएर मात्र खाना पकाउँछौं र खान्छौं । बिहान ८ बजे काममा पुग्न पौने ७ बजे घरबाट निस्कनुपर्छ । खाना पोको पारेर चिया–नास्ता गरी घरबाट निस्कन्छु ।

अन्य काम गर्न सीप छैन । घर बनाउने मिस्त्री काम गर्छु । अहिले गिट्टी, बालुवा, पानी, इँटा र सिमेन्ट खेलाउँदा झन् चिसो लाग्छ । मिस्त्री काम गरेर दिनको एक हजार कमाउँछु । त्यही कमाइले जसोतसो घरखर्च चलाइरहेको छु । प्रत्येक दिन काम पनि मिल्दैन । चामल, दाल, नुन, तेल, सरफ साबुन, लत्ताकपडालगायत आवश्यक सामग्री सबै किन्नैपर्छ । छोरीले ट्युसन पढेको महिनाको १ हजार ७ सय बुझाउँछु । आफूले पढ्न सकिएन, तर छोराछोरीलाई पढाउने ठूलो सपना छ । 

प्रस्तुति : रामप्रसाद चौहान

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

घरखर्च

गयाप्रसाद

Link copied successfully