‘धेरै सीप जानेकाले काम गरेर खान सक्छु भन्ने आत्मविश्वास छ’

बिस्तारै पैसा जम्मा गरेर नेपालमै केही गर्ने सोच बनाइरहेको छु । दुःख र भोगाइले जिन्दगी बनेको जस्तो लाग्छ । जिन्दगीमा दुःख भोगेरै दुःख चिन्ने अवसर मिल्दो रहेछ ।

पुस १७, २०८२

रोहित साह 

”I am confident that I can work and earn a living because I know many skills.”

What you should know

काठमाडौँ — बुबा–आमाको अभाव केहीले पूर्ति नहुँदो रहेछ । दाजुभाइ–दिदीबहिनी भएर पनि अहिले म एक्लो महसुस गरिरहेको छु । बुवाआमाबिनाको टुहुरो जीवन बिताइरहेको छु ।

१२ वर्षसम्म आमाको काखमा लुट्पुटिँदै हुर्किएँ । त्यही बेला बिमारले थलिएर आमा बित्नु भो । धेरै उपचार गरेर बचाउने प्रयास गर्दा पनि सकिएन । त्यो कुरा सम्झिँदा अहिले पनि नरमाइलो लाग्छ । आमाको सम्झनामा बसेको २० वर्ष भइसक्यो । अहिले त बुवा पनि हुनुहुन्न । उहाँलाई गुमाएको पनि ८ वर्ष भयो । 

झापाको धरमपुर शिवसताच्छी नगरपालिका–३ मा घर छ । केही वर्षयता पेन्टिङ (रंग लगाउने) काम गरिरहेको छु । काम खोज्दै काठमाडौंमा बस्न थालेको पनि ९ महिना पूरा भयो । अहिले ३२ वर्षको भएँ, तर, बिहे गरेको छैन । अब त बिहे गर्नुपर्‍यो भनेर सोच्छु तर घर व्यवहारको जिम्मेवारीले परपर धकेल्छ । मैले धेरै काम जानेको छु । अहिले पेन्टिङको काम पाएकाले त्यही गरिरहेको छु । १५ वर्षको उमेरबाट यही काम गर्दै आएको हुँ । बीचमा कमाउन कतार पनि पुगेँ । दुई वर्ष त्यहाँ बिताए पनि भनेजस्तो काम मिलेन । चाहेजस्तो पैसा कमाउन सकिनँ । 

जिन्दगीप्रति धेरै गुनासा भएर होला– औधि खुसी मिलेका बेला पनि मन दुखिरहन्छ ।नेपाल आएर काठमाडौंमा काम खोजेँ । अहिले रंग लगाउने काम गर्छु । रंग लगाउने काम गर्दा दिनको १८ सय रुपैयाँ ज्याला मिल्छ । खाना–खाजामा तीन सय सकिए पनि दिनको १५ सय त बचाउँछु । काम गर्ने ठाउँमै बस्ने र खाने गर्छु । एक्लो ज्यानलाई धेरै खर्च हुँदैन । भविष्यलाई भनेर अलि अलि बचत गरेको छु । सधैँभरि यसरी काम पाए त आनन्दै हुन्थ्यो । तर, यो मन्दी र खडेरी लागेको सहरमा केको सधैं काम मिल्थ्यो र ! 

आफ्नो देशमा भोकै बस्न पर्दैन । केही नपाए पनि गुन्द्रुकको झोल र भात खान पाइन्छ । त्यति पाए पनि आनन्द र सन्तुष्टि हुन्छ । पहिला झापामा बुवाको होटल थियो । त्यहाँ काम गर्दागर्दैर् कुकको काम सिकेकाले गाउँमा बिहे, भतेरमा खाना पकाएर आम्दानी गरेको छु । पाँच लाख तिरेर विदेश गएकामा पछुतो भएको छ । त्यहीँ ऋण तिर्न धौ–धौ भयो । जिन्दगीप्रति धेरै गुनासा भएर होला– औधि खुसी मिलेका बेला पनि मन दुखिरहन्छ ।

टन्न कमाएर आमा–बुवालाई खुसी बनाएर राख्ने, विभिन्न ठाउँ घुमाउने सपना थियो । जुन पूरा गर्न सकिनँ । भनेजस्तो जिन्दगी कहाँ हुँदो रहेछ र ? दैवको अगाडि कसको के लाग्छ र ? मेरा सपना पनि दैवका अगाडि लाचार बने । यस्तो कुरा गर्दा मन मात्र दुख्छ । आमा–बुवापछि आफ्नै रगतको नातेदारले जस्तै माया गर्ने मान्छेहरू पनि भाग्यले भेटाएको छु । 

बिस्तारै पैसा जम्मा गरेर नेपालमै केही गर्ने सोच बनाइरहेको छु । दुःख र भोगाइले जिन्दगी बनेको जस्तो लाग्छ । जिन्दगीमा दुःख भोगेरै दुःख चिन्ने अवसर मिल्दो रहेछ । आफ्ना को ? पराय को छुट्याउन सक्ने भएँ । त्यही हो– मसित धेरै सीप छन् । जे गरेर पनि खान त सक्छु भन्ने आत्मविश्वास छ । अर्काको भन्दा आफ्नै देशमा संघर्ष गर्दा पनि आत्मसन्तुष्टि हुँदो रहेछ । 

प्रस्तुतिः आरती पौडेल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस् 

रोहित

Link copied successfully