‘बासको ठेगान छ, गाँस र उपचार खर्च जुटाउन कवाडी बटुल्छु’

शरीरले धान्न छाडेपछि ठेला गुडाउने काम छाडिदिएँ । तर, थपक्क बसेर खान पुग्ने अवस्था थिएन । काम नगरे के खाने भन्ने चिन्ता सुरु भइहाल्थ्यो । त्यसैले कवाडी समान बटुलेर बेच्ने काम गर्न थालेको हुँ ।

पुस १५, २०८२

भूपेन्द्र भण्डारी

”I have a place to live, I collect money to cover food and medical expenses.”

What you should know

सिन्धुपाल्चोक — मान्छेका दुःख नाप्ने यन्त्र छैनन् । जति सक्यो भोग्नैपर्ने रहेछ । दुःख पर्‍यो भन्दै बिलौना गरेर पनि त भएन । त्यसैले जे जस्तो हुन्छ, काम गरेर जिन्दगी कटाइरहेको छु ।

बाल्यकालबाटै गोडा बाङ्गा छन् । खुट्टा कमजोर भएपछि अरुले जस्तै उछलकुद गर्न सक्दिनँ । जति सकिन्छ, त्यति नै काम गर्नुपर्ने बाध्यता छ । फेरि कानमा पनि समस्या छ । राम्रोसित सुन्दिनँ । त्यसले पनि अल्झाउने रहेछ । 

यहीँको त्रिपुरासुन्दरी गाउँपालिका–३ को धुस्कुनमा मेरो घर छ । अहिले ५० वर्षको भएँ । गाउँमा कामदाम केही नमिल्ने भएपछि नजिकको बाह्रबिसे बजार आएको हुँ । बसाइँ सरेको पनि १० वर्षभन्दा धेरै भइसक्यो । 

सपना देखेर मात्रै नहुने रहेछ । मन त छ नि अरूलाई सहयोग गरौं भन्ने । तर एक गाँस खानकै लागि सारा जुनी सकिन लागेको देखेर दिक्क लाग्छ ।१० वर्षअघिको ठूलो भूकम्पका बेलासम्म ठेलागाडामा सामान ओसारपसारको काम गर्थें । ठेलामा सामान बोकेर दुई–चार पैसा कमाउँदै जीवन निर्वाह गर्दै आएको थिएँ । ठेला गुडाउँदा बल लगाउनु पर्थ्यो । त्यो काम गर्दागर्दै एक्कासि बेहोस हुने समस्या देखियो । आपतमाथि झन् आपत् थपियो । सडकको बीचमै थरथर काँपेर लड्न थालेँ । कमजोर स्वास्थ्य भएपछि मजदुरी पनि गुम्ने अवस्था आयो । अलिकति कमाउन पनि मलाई त ठूलै युद्ध लडेजस्तो हुन थाल्यो । 

त्यसबाहेक अपांगता भत्ता पनि मिल्ने गरेको छ । तीन महिनामा एकैचोटि १२ हजार बुझ्छु । भत्ताको रकम खातामा जम्मा गरेको छु । बेलाबेला त्यही रकमले उपचार र स्वास्थ्य परीक्षण गर्छु । यसअघि ठूलो बिरामी हुँदा दाजुभाइले सहयोग गरेर मलाई बचाए । उनीहरू सक्षम छन् र मलाई धेरै माया पनि गर्छन् । तर लामो समय उनीहरूमाथि बोझ बनेर बस्न ठिक लागेन । बजारमा कोठा भाडा तिर्न धौधौ भएपछि बास बस्न आफ्नै घर जाने गर्छु । 

बासको ठेगान सहज भए पनि गाँस र उपचार खर्च त्यसको दोब्बर छ । रासनपानी, ग्यासमा महिनाभर झण्डै ३ हजार जति खर्च हुन्छ । लामो समय मजदुरी र भारी बोकेकाले शरीर कमजोर छ । जसका कारण थोरै काम गर्दा पनि बिरामी पर्ने मलाई नियमित परीक्षण चाहिन्छ । जथाभावी खान हुँदैन । यही ज्यानको उपचार र दायाँबायाँ गर्दा एक हजारजति सकिन्छ । 

बाह्रबिसे अस्पताल र मेडिकलमा गएर उपचार गर्ने हो । काठमाडौं गएर चेकजाँच गर्दा पैसा धेरै लाग्छ । त्यही भएर कतै जाने आँट आउँदैन । अरु त्यस्तो ठूलो सपना छैन । एक्लो जिन्दगी हो । तीर्थ गर्न जान पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ । गाँस टार्नकै लागि त धौ धौ भएका बेला घुम्न जाने कुरा सम्भव भइरहेको छैन ।

सपना देखेर मात्रै नहुने रहेछ । मन त छ नि अरूलाई सहयोग गरौं भन्ने । तर एक गाँस खानकै लागि सारा जुनी सकिन लागेको देखेर दिक्क लाग्छ । तातोपानी नाका चलेको भए मजदुरलाई यतिसारो गाह्रो हुने थिएन । देखेको नहुने रैछ, लेखेको चाहिने रहेछ । हामीजस्ता भुइँमान्छेलाई बाँच्न पनि कठिन छ । 

प्रस्तुति  : अनिश तिवारी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

भूपेन्द्र भण्डारी

Link copied successfully