तरकारी बेचेर दैनिक चार/पाँच सयजति आम्दानी गर्छु । सामाजिक सुरक्षा भत्ता पनि पाउँछु । यो सबै गरेर घरखर्चका लागि छोरालाई सघाइरहेकी छु ।
What you should know
बर्दिया — बुढेसकाल लागे पनि सुख शान्ति महसुस गर्न पाएकी छैन । यो उमेरमा कसको इच्छा हुन्न र आनन्दले बस्ने ? तर, बुढेसकालमा आरामले बसेर खाने जो कोहीको नसिबमा नहुँदो रहेछ । बुढेसकालमा आरामले बस्ने, मनले चिताएको खाने, तीर्थधाम घुम्ने सबको रहर हुन्छ तर त्यो सबै लेखेरै ल्याउनुपर्ने रहेछ ।
झन् हामीजस्ता विपन्न परिवारलाई बुढेसकालले घेरे पनि जिम्मेवारीले छोड्दैन । जिम्मेवारीको भूमिका निर्वाह गर्दा गर्दै बुढ्यौलीले घेरे पनि त्यो महसुस गर्नै पाएकी छैन । उमेरले ७५ वर्षकी भएँ । बढैयाताल गाउँपालिका–६ मैनापोखरमा घर छ । पहिलादेखि मिहिनेत र मजदुरीको काम गर्दा गर्दै त्यही बानी पर्यो । अचेल काम नगरेर एक दिन खाली बस्यो कि के बिराएँ बिराएँ जस्तै लाग्छ ।
सानैदेखि परिश्रम गरेर बगाएको पसिनाले अहिले पनि फुर्तिली छु र यो उमेरमा पनि काम गर्न जाँगर चल्छ । गरुंगो भारी बोक्न र धेरै गाह्रो काम गर्न नसके पनि आफ्नो पेट पाल्ने हिम्मत अझै टुटिसकेको छैन ।
सानैदेखि परिश्रम गरेर बगाएको पसिनाले अहिले पनि फुर्तिली छु र यो उमेरमा पनि काम गर्न जाँगर चल्छ ।मैनापोखर बजारको सडक पेटीमा यसरी बसेर हरियो सागपात र तरकारी बेच्न लागेको पनि २० वर्ष भइसक्यो । मैनापोखर बजारका व्यापारी मलाई राम्ररी चिन्छन् । आफ्नो बारीको उत्पादन पनि बेच्छु । आफ्नो बारीमा नभएको सिजनल तरकारी अन्य ठाउँबाट किनेर ल्याएर पनि बेच्छु । यतिबेला मैनापोखर बजारको सडक पेटीमा काउली, भान्टा, केराउ, सिमी, प्याजलगायत तरकारी बेच्छु ।
अचेल अत्यधिक जाडो बढेको छ । बिहान बाक्लो हुस्सु लाग्छ । बिहान सबेरै उठ्न गाह्रो हुन्छ । तर, म बिहान सबेरै उठ्छु । सार्वजनिक गाडी चढेर कहिले गुलरियातिर तरकारी किन्न जान्छु त कहिले नेपालगन्ज रानी तलाउबाट तरकारी किनेर ल्याउँछु । तरकारी किनेर फर्किएपछि घरमा खाना खाएर मैनापोखर बजारको सडक किनारमा बेच्न बस्छु । बजारमा साँझसम्मै तरकारी बेच्छु ।
मेरा दुई छोरा र एक छोरी छन् । सबैको विवाह भइसकेको छ । जेठो छोरा अलग्गै बस्छ । म कान्छो छोरासँगै छु । म, छोरा, बुहारी, नातिनातिनी गरी पाँच जनाको हाम्रो परिवार छ । सुखदुःखमा मलाई साथ दिने मेरो श्रीमानको ६ वर्षअघि मृत्यु भइसकेको छ ।
कान्छो छोरा घरमा भएको बेला तरकारी बारीमा सघाउँछ । उसले पनि घर बनाउने मिस्त्रीको काम गर्छ । उसले पनि सधैं काम पाउँदैन । अचेल अचाक्ली महँगी छ । एक जनाले कमाएर घरखर्च चलाउन मुस्किल छ । छोराले मेरो कमाइ खोज्दैन । छोराले नमागे पनि मैले अलिअलि उसलाई घरखर्च चलाउन सघाउने गरेकी छु । यसले गर्दा छोरालाई घरखर्च धान्न अलि सहज भइरहेको छ ।
तरकारी बेचेर दैनिक चार/पाँच सयजति आम्दानी गर्छु । सामाजिक सुरक्षा भत्ता पनि पाउँछु । यो सबै गरेर घरखर्चका लागि छोरालाई सघाइरहेकी छु । बाँकी कमाएको पैसा आफूसँगै राख्छु । कहिलेकाहीँ आफू बिरामी हुँदा औषधि उपचार गर्छु । तरकारी बेचेर आफ्नो खर्च जुटाइरहेकी छु । जसले गर्दा छोराले मेरो औषधि उपचारमा खर्च गर्न परेको छैन । बुढ्यौली उमेरमा पनि अहिलेसम्म कसैको अगाडि हात फैलाउनु परेको छैन । भगवानसँग यति प्रार्थना गर्छु कि आगामी दिनमा पनि कसैका अगाडि हात फैलाउन नपरोस् ।
प्रस्तुति : रामप्रसाद चौहान
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
