कुनै समय मुस्ताङ म्याक्स हाँक्ने ड्राइभर, आज बोलेरो चलाउने ड्राइभर भएको छ । गाडी फेरिए, समय फेरियो, तर मेरो जीवनको बाटो अझै सडकसँगै दौडिरहेको छ ।
What you should know
डडेल्धुरा — ड्राइभिङ पेसामा लागेको २५ वर्ष पुग्न लाग्यो । यो पेसा मेरो रोजाइ मात्र होइन, जीवनको बाटो नै बनेको छ । म स्कुले जीवनमा खेलप्रेमी थिएँ । पढाइसँगै तेक्वान्दो खेल्थेँ । खेलले मलाई अनुशासन सिकायो, हार–जितलाई स्वीकार्न सिकायो । पढ्दापढ्दै जीवनमा केही रहरहरू उब्जिए, केही जिम्मेवारी पनि आइलागे । मैले सधैं एउटा प्रयास गरेँ, आएका जिम्मेवारीलाई बोझ होइन, रहरमा बदल्ने ।
मेरो घर डडेल्धुराको भागेश्वर गाउँपालिका–४, बगरकोटमा पर्छ । आज म बोलेरो जिप चलाउँछु । धेरैले मलाई अहिले पनि ‘मुस्ताङ म्याक्सवाला’ ड्राइभर भनेर चिन्छन् । समय फेरिएको छ, गाडी फेरिएको छ, तर स्टेरिङ समातेको हात र यात्रु बोक्ने जिम्मेवारी उस्तै छन् ।
स्नातक पढ्दै गर्दा नै गाडी किनेँ । सुरुमा ट्याक्टर किनेँ । ट्याक्टर आफैँ चलाएँ । त्यसपछि बिस्तारै यात्रुवाहक सवारीतिर मन गयो । त्यही क्रममा मैले मुस्ताङ म्याक्स जिप किनेँ । त्यो कुनै बेलाको चर्चित मोडल थियो । मलाई सधैं लाग्थ्यो– ‘नेपाली ब्रान्ड किन्नुपर्छ, नेपाली उत्पादनलाई माया गर्नुपर्छ ।’
यही सोचले मुस्ताङ म्याक्स किनेको थिएँ । त्यसबेला डडेल्धुरातिर चारवटा मात्र यस्ता गाडी थिए, तीमध्ये एउटा मेरो थियो । यात्रुहरू पनि अचम्म मान्थे, माया गर्थे । गाडीको यात्रा आरामदायी थियो, बाटो कठिन भए पनि यात्रुहरू सन्तुष्ट देखिन्थे ।
करिब १० वर्षसम्म मुस्ताङ म्याक्स चलाएँ । जोगबुडा, चिपुर, भद्रपुरजस्ता विभिन्न रुटमा यात्रु बोकेँ । त्यही गाडीले मलाई चिनायो । आज पनि धेरैले ‘मुस्ताङ म्याक्सवाला’ भनेर सम्झिन्छन् । तर समयसँगै समस्याहरू पनि आए । पार्टपुर्जा पाउन गाह्रो हुन थाल्यो । मर्मत खर्च बढ्दै गयो । अन्ततः गाडी फेर्नुपर्ने बाध्यता आयो ।
बेलुका परिवारसँगै बसेर दाल–भात–तरकारी खान पाउँदा थकान सबै बिर्सिन्छु । यही साधारण जीवनमै सन्तोष खोज्ने प्रयास गरेको छु ।त्यसपछि मैले बोलेरो जिप किनेँ । अहिले करिब ८–१० वर्षदेखि बोलेरो चलाइरहेको छु । अहिले मेरो दैनिकी प्रायः डडेल्धुरा–बगरकोट रुटमै बित्छ । बिहान बगरकोटको घरबाट निस्कन्छु । सदरमुकाम बागबजारसम्म यात्रु बोकेर ल्याउँछु । दिउँसो यतै–उतै हुन्छ, साँझ फेरि यात्रु बोकेर घर फर्किन्छु । सकेसम्म साँझ घरमै बस्ने गर्छु । परिवारसँग बसेर खाना खाने समय मेरा लागि अमूल्य हुन्छ ।
मेरो चार जनाको परिवार छ– श्रीमती, एक छोरा, एक छोरी र म । उनीहरूको शिक्षा, लुगा, औषधि उपचार, दैनिक खर्च यही गाडीबाट चलेको छ । धनी कहिल्यै भएनौं, तर अभावले थिच्न पनि दिएनौं । घरमा खानका लागि सागपात लगाउँछौं । केही तरकारी घरमै फल्छ । आवश्यक खानेकुरा साँझ घर फर्किंदा बजारबाट किनेर लैजान्छु– नुन, तेल, साबुन, सोडाजस्ता सामान्य कुरा ।
दैनिक खानपानमा खासै समस्या छैन । बिहान घरमै नास्ता खान्छु । दिउँसो बजारतिर सामान्य खाना–नास्ता हुन्छ । बेलुका परिवारसँगै बसेर दाल–भात–तरकारी खान पाउँदा थकान सबै बिर्सिन्छु । यही साधारण जीवनमै सन्तोष खोज्ने प्रयास गरेको छु ।
म यात्रुहरूसँग भाडाको विषयमा कहिल्यै जबर्जस्ती गर्दिनँ । कसैसँग भाडा छैन भने पनि गन्तव्यसम्म पुर्याइदिन्छु । जीवनले मलाई सिकाएको कुरा यही हो– आज म दिन सक्छु, भोलि म नै कसैको सहारामा पर्न सक्छु ।
म अझै १० वर्ष गाडी चलाउने सोचमा छु । त्यसपछि यो स्टेरिङ छोड्ने योजना छ । बुढेसकालमा धेरै ठूलो सपना छैन– सामान्य कृषिकर्म गर्ने, आफ्नै खेतबारीमा समय बिताउने, नाति–नातिनासँग रमाउने । सायद त्यही नै जीवनको अर्को यात्रा हुनेछ ।
२५ वर्षको ड्राइभिङ जीवनले मलाई धेरै कुरा सिकाएको छ– धैर्य, इमानदारी र मान्छे चिन्ने आँखा । म आज पनि गर्वका साथ भन्छु, म ड्राइभर हुँ । कुनै समय मुस्ताङ म्याक्स हाँक्ने ड्राइभर, आज बोलेरो चलाउने ड्राइभर भएको छ । गाडी फेरिए, समय फेरियो, तर मेरो जीवनको बाटो अझै सडकसँगै दौडिरहेको छ ।
प्रस्तुतिः तर्कराज भट्ट
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
