‘दिउँसो त आगोको छेउमा सुतेर बिताउँछु, राति भने पराल ओछ्याएर मान्द्रो ओढ्छु’

'अहिले शीतलहर चलेको छ । घरमा ओढ्ने मात्र होइन, लाउनलाई एकसरो कपडा पनि किन्न सकेकी छैन । दिनभरि आगोको छेउमा सुतेर बिताउँछु । राती मान्द्रो ओढेर सुत्छु ।'

पुस ८, २०८२

देवरतियादेवी माझी 

”I spend the day lying by the fire, and at night I sleep on straw.”

What you should know

रौतहट — बाह्र वर्षअघि श्रीमान् लालगोविन्द माझीको मृत्यु भयो । त्यसपछि एक्लिएँ । एक्लैमात्र भइनँ, त्यसपछि त दुःखको सुरुवात पनि भयो । छन् त तीन छोरा छन् । तर, साथमा अहिले एउटै छैनन् । जसरी प्वाँख आएपछि बचेराले गुँड छाड्छन्, त्यसैगरी मेरा सन्तानले पनि मलाई छाडेर गए ।

रहर त मेरा पनि थुप्रै थिए । मिठो खाने, राम्रा कपडा लगाउने, छोराहरू पढाएर सरकारी जागिरे बनाउने ठूलो धोको थियो । हामीजस्ताले सपना देख्नु पनि बेकार रहेछ । मेरो पारिवारिक जिम्मेवारी त अहिले केही छैन । त्यही साँझ–बिहान पेटभरि खान पाए हुन्छ । त्यसभन्दा सुख–चैनको आस गरेकी छैन । 

कुन दिन घर भत्किएर च्यापिन्छु जस्तो लाग्छ । मसित छोराहरूसम्म खबर पुर्‍याउने माध्यम पनि छैन । कसैले मेरो अवस्थाबारे उनीहरूसम्म खबर पुर्‍याइदिए कति जाति हुन्थ्यो ।चन्द्रपुर–९ चेतनगर गाउँको मुसहर बस्ती नै मेरो संसार हो । यहीँ मेरो सानो झुपडी छ । झुपडीभित्र एक्लो बास छ । मेरो खरको घर भएको जग्गा पनि ऐलानी हो । श्रीमानले मजदुरी गर्नु हुन्थ्यो । अलिअलि कमाएर घर खर्च पुर्‍याउनु हुन्थ्यो । २०७० सालमा उहाँको मृत्यु भयो । त्यसपछि भर भनेकै छोराहरू थिए । साथ चाहिने बेला उनीहरू पनि घर छाडेर हिँडे । जेठो भागिरत, माइलो रामकृष्ण र कान्छो जागरितलाई सम्पत्ति ठानेकी थिएँ । अहिले उनीहरू कहाँ छन्, पत्तो छैन ।

अहिले शीतलहर चलेको छ । ओढ्नलाई न्यानो लुगा किन्न सकेकी छैन । मान्द्रो ओढेर सुत्छु । त्यसले न्यानो हुँदैन अनि छोराहरूको याद आउँछ । आमा हुँ, सन्तानले जेसुकै गरे पनि उनीहरूको माया त लागिरहन्छ । भत्ताबापत पाएको रकम सकिएका दिन पसलबाट उधारोमा चामल, दाल, नुन, तेल किनेर ल्याउँछु । पकाएर खाने बेला छोराहरूको झलझली सम्झना आउँछ । घरमै भइदिएको भए उनीहरूको विवाह गरिन्थ्यो । बुहारीले पकाएर खुवाउँथिन् होला । नाति–नातिना खेलाएर दिन बिताउँथेँ होला । दानापानी भएका दिन पकाएर खान्छु । नभएका दिन भोकै सुत्छु । यो चिसोमा पकाउन जाँगर चल्दैन । मेरा लागि दाल–भात नै चौरासी व्यञ्जन हो । माछा–मासुको कल्पना पनि गर्दिनँ । 

घरमा ओढ्ने मात्र होइन, लाउनलाई एकसरो कपडा पनि किन्न सकेकी छैन । दिनभरि आगोको छेउमा सुतेर बिताउँछु । राती धेरै पीडा हुन्छ । पराल ओछ्याएर सुत्छु । माथिबाट मान्द्रो ओढ्दा जाडो थेगिन्न । छिमेकीहरूसित कतैबाट सहयोग मगाइदिनूस् न भनेर अनुरोध पनि गरेकी छु । पल्लो घरका बीरबहादुर श्रेष्ठले सहयोगीसित कुरा गरेको छु भन्नु भएको छ । घर भत्किन लागेको छ । बार लगाउन खर काट्न सक्दिनँ । मर्मत गर्न पाए पनि हुन्थ्यो । तर, मसित खर्च छैन । चारैतिर प्वाल भएकाले हावा छिर्छ । कुन दिन घर भत्किएर च्यापिन्छु जस्तो लाग्छ । मसित छोराहरूसम्म खबर पुर्‍याउने माध्यम पनि छैन । कसैले मेरो अवस्थाबारे उनीहरूसम्म खबर पुर्‍याइदिए कति जाति हुन्थ्यो । 

घरमा शौचालय नभएकाले राती बाहिर निस्किन डर लाग्छ । खुला आकाशमुनि शौच गर्न समस्या हुन्छ । तैपनि, बाध्यताले जान्छु । हुन त गाउँका धेरै जनाको घरमा चर्पी छैन । खानेपानीको उस्तै समस्या छ । श्रीमान् हुँदै एउटा शौचालय र खानेपानीको धारा राखौं भनेकी थिएँ । उहाँले पनि हुन्छ भन्नु भएको थियो । यी कुरा मात्र भए । काम सुरु नगर्दै उहाँको मृत्यु भयो । त्यसपछि छोराहरूको आसमा बसेँ । कमाएर घर चलाउने बेला उनीहरू पनि लाखापाखा लागे । एक्लो जिन्दगी यसरी नै चलिरहेको छ । 

प्रस्तुति : शिव पुरी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

देवरतियादेवी

Link copied successfully