‘यही पसल पनि नभएको भए जीवन चलाउन कति गाह्रो हुन्थ्यो होला ! ’

'मेरा लागि एक दिन पसल बन्द गर्नु भनेको आर्थिक संकट आफैं बोलाउनुजस्तै हो । हरेक दिन पसल खुला रहनै पर्छ, किनकि यसैले हाम्रो परिवारको हरेक आवश्यकता धानिरहेको छ ।'

पुस ७, २०८२

फूलमाया बानियाँ

”How difficult it would be to survive without this shop!”

What you should know

इलाम — सदरमुकाम इलाम बजारको ट्याक्सी स्टेसन नजिकै सानो फलफूल र तरकारीको पसल चलाइरहेकी छु । बिहानदेखि साँझसम्म तातो घाम, चिसो हावा, भीडभाडको आवाज र कहिलेकाहीँ सुनसान बजारबीच मेरो दिन बितिरहेको छ । सबैको आफ्नै कथा छ भन्छन् तर मेरो कथा त्यसभन्दा अलि गहिरो छ ।

म फलफूल र तरकारी बेचेर जिन्दगी बिताइरहेकी छु । यो पेसा सजिलो छैन, जीवन एक निरन्तर संघर्षको कथाजस्तो लाग्छ । हरेक बिहान उठ्दा मेरो मनमा धेरै कुरा आउँछन् । आज कति बिक्री होला, घरको भाडा तिर्न पुग्ला कि नपुग्ला ? नानीहरूको पढाइ खर्च कसरी मिलाउने ? यी सबै सवालबीच म फेरि उठेर पसलमा आउँछु । किनभने यही बाटोले हाम्रो परिवारको गुजारा चलिरहेको छ ।

श्रीमान् बितेको दुई वर्ष भइसक्यो । जब उहाँ सँगै हुनुहुन्थ्यो, हामी दुईले मिलेर घर चलाउने साझा जिम्मेवारी बाँडेका थियौं । तर, त्यस दिनदेखि जे भयो, त्यसलाई शब्दमा बयान गर्न कठिन छ । श्रीमान् अब हुनुहुन्न । उहाँको वियोगले मेरो मनलाई कहिल्यै शान्त भएको महसुस छैन । श्रीमान् बितेपछि जिम्मेवारी झन् बढेको छ । एक्ली भएकी म र उद्देश्यपूर्ण बालबालिकाको आमाका रूपमा यो बाटो हिँड्नुपरेको छ ।

यो सहरमा देश–विदेशबाट पर्यटक आउँछन्, तिनको हाँसो, फोटोग्राफी, रमाइलो हेर्दा मनमा ‘म पनि कहीँ घुम्न जाऊँ’ भन्ने भावना जाग्छ । तर, त्यो कल्पनामै सीमित रहन्छ ।श्रीमान् बितेपछि मैले आफ्नै बलबुताले घर चलाउने निर्णय गरेँ, त्यो मेरो वाध्यता पनि थियो । मैले सिकेको एउटा ठूलो पाठ यही हो । त्यही भएर मैले सानो पुँजी जम्मा गरेर फलफूल र सागसब्जीको सानो व्यापार सुरु गरेँ, इलाममा । खासमा मेरो घर ताप्लेजुङ हो । सुन्तला, एबोकार्डो, किबी, स्याउ र अन्य फलफूलसँगै सागसब्जी पनि बेच्न थालेँ । मेरो दिनचर्या सधैं एउटै जस्तो छैन, तर दैनिक अपेक्षा एउटै छ । आज अधिक बिक्री होस्, ग्राहक धेरै आऊन् अनि घर चलाउन केही रकम बचोस् । 

शनिबार बजार बन्द हुँदा त स्थिति झन् झन् कठिन हुन्छ । त्यस्तो दिन बिहानैदेखि साँझसम्म चार हजारसम्म पनि बिक्री हुन सक्दैन, जसले गर्दा आम्दानी हजार–पन्ध्र सयमा सीमित रहन्छ । त्यो आम्दानीले फेरि भाँडाकुँडा, घरभाडा, नानीहरूको शिक्षाखर्च र खानपिन सबै बराबर भाग लगाउनु पर्ने बाध्यता आउँछ । मेरा दुई छोरा छन् । उनीहरूले मलाई हरेक दिन अघि बढ्न प्रेरित गर्छन् । उनीहरू कक्षा ६ र ९ मा इलाममै पढ्छन् । पढाइसँगै सम्बन्धित खर्च धेरै छ । किताब, स्टेसनरी, स्कुल शुल्क, अनि घरसम्म हिँड्ने खर्च सबै मिलाएर सीमित आम्दानी दुई भाग लगाउनु पर्छ । 

सायद अरूलाई त्यो कठिनाइ खासै ठूलो नलाग्ला तर मेरो जीवनमा त्यो कठिनाइको भार कहिल्यै हलुका भएको महसुस भएको छैन । म कहिलेकाहीँ सोच्छु, ‘नानीहरूलाई नयाँ लुगा किनिदिऊँ ।’ चाड–पर्वमा उनीहरूले नयाँ लुगाको इच्छा राख्छन् । तर, त्यो इच्छा पूरा गर्न मसँग साहस नै छैन, किनकि त्यो चाहना पूरा भए पनि भोलिपल्टको भाडा कसरी तिर्ने भन्ने डरले मन डराउँछ । त्यस्तै, मिठो–मसिनो खान मन लाग्ने दिनहरू पनि आउँछन् । कहिले–कहिले त मन लाग्यो भने कसैसँग रेस्टुरेन्ट गएर राम्रोसँग खान मन पनि लाग्छ । तर, त्यस्तो आँट मेरो भित्र कहिल्यै जुट्न सकेको छैन । किनकि रेस्टुरेन्ट जाने खर्चले मेरो पसल चलाउने मेलो नै हराउन सक्छ ।

मैले धेरैपटक सोचेकी छु– ‘एक दुई दिनका लागि कहीं घुम्न जाऊँ’ । यो सहरमा देश–विदेशबाट पर्यटक आउँछन्, तिनको हाँसो, फोटोग्राफी, रमाइलो हेर्दा मनमा ‘म पनि कहीँ घुम्न जाऊँ’ भन्ने भावना जाग्छ । तर, त्यो कल्पनामै सीमित रहन्छ । किनकि मेरा लागि एक दिन पसल बन्द गर्नु भनेको आर्थिक संकट आफैं बोलाउनुजस्तै हो । हरेक दिन पसल खुला रहनै पर्छ, किनकि यसैले हाम्रो परिवारको हरेक आवश्यकता धानिरहेको छ ।

नत्र व्यापार डामाडोल हुन्छ । कहिले राम्रो बिक्छ, कहिले कम । तर म जसोतसो त्यसलाई टिकाइरहेकी छु । पसलले दिएको सिकाइले मलाई धेरै मजबुत बनाएको छ । मैले ग्राहकसँग व्यवहार गर्न, दिनभरको भीडभाडमा आवाज उठाउन, अरूको नजरमा आफ्नो पहिचान राख्न धेरै कुरा सिकें । त्यो सबै सिकाइ मेरो जीवनमा साँच्चिकै फलदायी भएको छ । जब साँझ पर्छ, बजारको हल्का उज्यालो मन्द हुँदै जान्छ अनि पसल बन्द गरेर डेरामा पुग्छु । खाना पकाउँछु । खान्छु, नानीहरूलाई पनि ख्वाउँछु ।

जब ओछ्यानमा ढल्किन्छु अनि सोच आउँछ । आज श्रीमानसँगै भइदिएको भए जीवन कस्तो हुन्थ्यो होला भनेर कल्पना गर्छु । तर त्यो सोचाइले आजको जिम्मेवारी हलुका हुँदैन । म त पहिलेदेखि नै जीवनमा भर पर्ने, लड्ने, उभिने, सपना बुन्ने काम आफैँ गर्दै आएकी छु । मेरो दुःख, वेदना, पीडा, आशा, निराशा सबै एउटै धागोले बुनिएको जीवनझैं छ । म भित्री रूपमा अझ मजबुत छु । किनकि मैले हरेक दिन उठेर दुई नानीलाई उज्यालो भविष्य दिन डटेर अघि बढिरहेकी छु ।

प्रस्तुति : पर्वत पोर्तेल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

फूलमाया बानियाँ

Link copied successfully