'बस्, धेरै केही कुरा खोजेकै छैन । आफ्नै घरको ओतमा बस्न पाए हुन्थ्यो, न्यानो घरमा मर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ । त्यत्ति हो ।'
What you should know
सिन्धुपाल्चोक — बाल्यकालदेखि मेरो बोली प्रस्ट छैन । कान पनि राम्रोसँग सुन्दिनँ । आँखा पनि राम्रोसँग देख्दिनँ । यस्तो अवस्थामा चाहेको र रोजेको काम गर्न सजिलो छैन । सामान्य काम गर्न सक्छु । एकातिर शारीरिक अवस्था तन्दुरुस्त छैन । अर्कोतिर पिरैपिर छन् । ती पिर पनि सुनाउने मान्छे छैनन् ।
२०७२ सालको भूकम्प र त्यसपछि पटक–पटक गएका परकम्पनले भएको घर पनि भत्कियो । बाह्रबिसे नगरपालिका–४, पुरानो बजारभन्दा केहीमाथि मेरो घर थियो । घर भत्किएपछि केही व्यक्तिले दबाबमा पारेर मेरो जग्गा धार्मिक आश्रमका नाममा गरिदिए । आफ्नो जायजेथा भनेको त्यही जग्गामात्र थियो । त्यो पनि आश्रमका नाममा भएपछि मलाई प्रेसर (रक्तचाप) को समस्या देखिन थाल्यो । खुसीले दान गरेको भए पो मन हलुका हुन्थ्यो होला ।
दबाबमा पारेर मेरो जग्गा आश्रमका नाममा चढाइयो । जबर्जस्ती गरेकाले मेरो चित्त दुखेको हो । अहिले म बेघर छु । साँच्चिकै सुकुम्बासी भएको छु । यही विषयलाई लिएर इलाका प्रहरी कार्यालय बाह्रबिसेमा निवेदन दिएँ । नगरपालिका धाएँ, सदरमुकाम चौतारा लगायत सबैतिर धाएँ, तर कतैबाट न्याय पाइनँ ।
दबाबमा पारेर मेरो जग्गा आश्रमका नाममा चढाइयो । अहिले म बेघर छु । साँच्चिकै सुकुम्बासी भएको छु ।अझै पनि जग्गा फिर्ता लिएर सानो टहरा भए पनि बनाउने मन छ । कहिलेसम्म यसरी बेघर भएर जिउने ? यसअघि बाह्रबिसे नगरको बगरे गणेश र अरु धेरै मन्दिरमा पुजारी भएर पनि बसेँ ।
२०१५ सालमा जन्मिएको हुँ । एक्लो जीवन धान्न मुस्किल छ । मेरा परिवार र आफन्त कोही छैनन् । गाउँका समाजसेवी कृष्णगोपाल श्रेष्ठले आश्रय दिए । उनैले किस्टोन पब्लिक एकेडेमीमा हेरालुको काम लगाइदिए । अहिले हेरालुको काम गरेर त्यहीँको एक टहरामा बस्छु । चिसोले टहरामा रात काट्न धौ हुन्छ । यही बोर्डिङ स्कुलले मासिक पाँच हजार रुपैयाँ पारिश्रमिक दिन्छ । खान, लाउन र बस्न त्यसको दोब्बर खर्च छ । सधैं खर्च पुर्याउने तनाव हुन्छ ।
रासनपानी, ग्यासमा महिनामा ३ देखि ४ हजार खर्च हुन्छ । उता स्वास्थ बिमा नगरेकाले बिरामी पर्दा एकपटकमा ३ हजारभन्दा बढी खर्च हुन्छ । उच्च रक्तचापको बिरामी भएकाले नियमित औषधि खानु परिरहेको छ । बाह्रबिसे अस्पताल र मेडिकलको भर हो । काठमाडौं जान र अरु चेकजाँचमा पैसा धेरै लाग्छ । त्यही भएर कतै जान्नँ । घुम्न र धर्म गर्न पनि पैसा लाग्छ । आर्थिक अभावले थिचेको छ । आफ्नो घर जग्गा हुँदा कम्तीमा टाउको छोप्ने ठाउँ त हुन्थ्यो । हामी जस्ताको कुरा सुन्ने पनि कोही नहुने रहेछ । झन् शारीरिक रूपमा कमजोर देखेपछि हेप्दा रहेछन् । अरुको जस्तो ठूलो परिवार र घरबार भएको भए मेरो जग्गा हडप्ने थिएनन् ।
सरकारले सुकुम्बासीलाई सहयोग गरेर घर बनाइदिन्छ भन्ने सुनेको थिएँ । अहिले पनि नेताहरू भाषण गर्ने बेला कोही सुकुम्बासी हुनु पर्दैन भन्नुहुन्छ । तर, मजस्ताको अवस्था बुझिदिन कोही आउँदैनन् । गाउँको सरकारले केही सहयोग गर्छ कि भनेर वडा कार्यालय र नगरपालिकामा धाइरहेको छु । गुनासो गरिरहेको छु । जनप्रतिनिधिले आश्वासन पनि दिएका छन् ।
अझै पनि भगवानले हेर्लान् र जनप्रतिनिधिले केही गर्लान् भन्ने आसमा छु । मेरो त्यस्तो ठूलो सपना त केही छैन । बस्, धेरै केही कुरा खोजेकै छैन । आफ्नै घरको ओतमा बस्न पाए हुन्थ्यो, न्यानो घरमा मर्न पाए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ । त्यत्ति हो । तर यो सबका लागि पैसाकै कुरा आउँछ र पो गाह्रो छ । सपना देखेर मात्रै नहुने रैछ । देखेको सपना भन्दा पनि लेखेर आउन पर्ने रहेछ । हामीजस्ता भुइँमान्छेलाई बाँच्न पनि कठिन छ ।
प्रस्तुति : अनिश तिवारी
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
