ताप्लेजुङबाट मन्त्री भइसकेका सूर्यमान गुरुङ, योगेश भट्टराई, प्रतापप्रकाश हाङ्गामले मैले सिलाएको दौरा–सुरुवाल, कोट, टोपी लगाउनु भएको छ ।
What you should know
ताप्लेजुङ — गएको सोमबारका दिन दौरा–सुरुवाल सिलाएर १६ सय रुपैयाँ कमाएँ । बेलुका ८ बजेसम्म काम गर्दा तीन सय रुपैयाँ थप आम्दानी भयो । बिहान ७ बजेदेखि मेसिनमा बसेर दिनभर काम गर्दा कहिलेकाहीँ १९ सय रुपैयाँसम्म कमाइ हुन्छ ।
फुङलिङ नगरपालिका–५ की दलित महिला सदस्य पनि हुँ । जनप्रतिनिधिका रूपमा यो मेरो दोस्रो कार्यकाल हो । अघिल्लो पटक पनि यही पदमा जितेकी थिएँ ।
कांग्रेसले दोस्रो पटक पनि मलाई नै उम्मेदवार बनायो । मलाई यहाँ टीका सिंवा भनेर कमैले चिन्छन् । तर ‘काइँली टेलर्स’ भनेपछि नचिन्ने कमै छन् । मैले दौरा–सुरुवाल सिलाएर पहिचान बनाएकी हुँ । यही पहिचानले मलाई जनप्रतिनिधि पनि बनायो । यसपटक राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारमा नाम सिफारिस गर्ने भनेका थिए । तर, 'वडा सदस्य छु, भइगयो, पर्दैन' भनेँ । खै गल्ती पो गरेँ कि ?
जे भए पनि हातमा सीप भएकाले अर्कासँग हात थाप्नु परेको छैन । आफ्नै कमाइ/पौरख खान पाएकाले खुसी छु ।पहिला छोरीमान्छेले छोरीकै मात्र कपडा सिलाउने चलन थियो । मैले पनि चोलो, पेटीकोट, जामाबाट सिलाउन सिकेकी हुँ । काम गर्दै जाँदा दौरा–सुरुवाल सिलाउन थालेँ । दौरा–सुरुवाल सिलाउने सीप बुवाबाट पाएकी हुँ । यति–उति साइजको कपडा काट्नुपर्छ भनेर चाहिँ बुवाले भन्नु हुन्थ्यो । खादीको दौरा–सुरुवाल सिलाउन थालेपछि त मेरो चर्चा सुरु भयो ।
एकदिन गाउँकै काका नाता पर्ने दाहाल (उहाँको नामचाहिँ भुलें)ले ‘आमम.. काइँली पनि दौरा–सुरुवाल सिलाउँछे’ भन्नुभयो । अनि यिनले सिलाएको लगाउने भनेर कपडा छेकाउनु भयो । त्यसबेला महिलाले सिलाएको नलगाउलान् कि भन्ने चिन्ता थियो । मैले सिलाएको दौरा–सुरुवाल उहाँलाई चिटिक्क भएछ । त्यसपछि गाउँमा फिर्दा होस् कि बैठकमा जाँदा– काइँलीले सिलाएको भन्दै प्रचार गर्नुभएछ । त्यसपछि दौरा–सुरुवाल सिलाउन आउने ह्वात्तै बढे । त्यसपछि बालिघरे हुनुपरेन ।
यसरी पैसा लिएर सिलाउन सक्ने भएँ । काइँलीले सिलाएको लगाउने भनेर नेता, सिडियो साबहरू पनि आउनुभयो । ताप्लेजुङबाट मन्त्री भइसकेका सूर्यमान गुरुङ, योगेश भट्टराई, प्रतापप्रकाश हाङ्गामले मैले सिलाएका दौरा–सुरुवाल, कोट, टोपी लगाउनु भएको छ ।
मैले दुकानमा २ देखि ७ हजारसम्ममा तयार हुने दौरा–सुरुवालका कपडा राखेकी छु । कतिपय ताप्लेजुङका गाउँबाट ल्याएका र कति भारतबाट ल्याएका कपडा छन् । धेरैले यही दुकानबाट कपडा किनेर सिलाउँछन् । दौरा–सुरुवालपछि टोपी, कोट र इस्टकोट सिलाउन थालेँ । सदरमुकामको पुरानो बैंक लाइनमा रहेको ‘काइँली टेलर्स’ नचिन्ने जिल्लामा कमै छन् । अहिले काम भ्याउनै मुस्किल पर्छ । काम गर्न मान्छे राखेकी छैन । भाइ शिवकुमार, बुहारी र मैले सिलाउँछौं । सिलाइबाट भएको आम्दानी र पुर्ख्यौली सम्पत्ति जोडेर बैंक लाइनमा घर पनि बनाएका छौं । आफ्नै घरमा बसेर काम गर्न पाएकाले भाडाको टेन्सनचाहिँ छैन ।
मिहिनेतले खानमात्रै पुग्छ भन्दा पनि हुन्छ । खर्च धेरै छ । चिसोमा आगो ताप्नका लागि वर्षभरिका लागि ४५ हजारमा दाउरा किन्छौं । भाइ–बुहारी, नाति–नातिना र मसमेत ५ जनाको परिवारका लागि महिना दिनमा ५० किलो चामल चाहिन्छ । त्यसमा ३ हजार ५ सयभन्दा बढी जान्छ । चियाका लागि १ सय २० रुपैयाँ तिरेर दिनमा डेढ लिटर दुध किन्छौं । पाहुना आएका बेला त्यत्तिले पुग्दैन । दिनभरि मेसिनमा बसेर काम गर्दा थकित भइन्छ । मासु खाँदा दिनमा एक हजार भन्दा बढी खर्च हुन्छ । भाइबहिनीले चिसोमा बेलुका तोङ्वा तान्छन् । त्यसमा दैनिक कम्तीमा तीन सय रुपैयाँ खर्च भइहाल्छ ।
घर–परिवार र आफन्त धेरै भएकाले मेरोमा दैनिकजसो पाहुना लाग्छन् । उनीहरूलाई राम्रै खान दिनुपर्छ । मासु, चिसो पेय आदि इत्यादिमा पनि खर्च हुन्छ । विवाह, बर्खान्त, मर्दापर्दा आदिमा हुने खर्च बेग्लै छ । वडा सदस्यको भत्ता महिनामा आठ/नौ हजार आउँछ । त्यो पैसाचाहिँ वडामा डुल्दा, पार्टीलाई लेबी तिर्दा, साथीभाइलाई चिया ख्वाउँदा सकिन्छ । त्यसले मात्रै त पुग्दैन । बिरामी भएर अस्पताल गयो भने १०/१२ हजार यसै सकिन्छ । जे भए पनि हातमा सीप भएकाले अर्कासँग हात थाप्नु परेको छैन । आफ्नै कमाइ/पौरख खान पाएकाले खुसी छु । राम्रै खाएको, राम्रै लाएको, इष्टमित्र, आफन्त आउँदा राम्रै व्यवहार सम्मान गर्न पाएकी छु । त्यसैमा सन्तोष छ ।
प्रस्तुति : आनन्द गौतम
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
