अहिले घरवरिपरि १ सय ८० मौरीका घार छन् । प्रत्येक वर्ष ६ क्विन्टल मह र २ सय घार बिक्री गर्छु । त्यसबाट १२ लाखभन्दा बढी आम्दानी हुन्छ ।
What you should know
सल्यान — त्यस्तै १०/१२ वर्षको उमेरमा गाईबाख्रा चराउन जाँदा मेरो काम घाँसपात गर्नेभन्दा मौरीका गोला खोज्ने हुन्थ्यो । जतिपटक जंगल गयो, त्यति नै पटक मौरीका गोला ल्याएर परम्परागत मुडे घारमा राख्ने गर्थें । बचपनदेखि नै पढाइभन्दा मौरी संकलनमै मेरो रुचि थियो ।
त्यतिबेला गाउँघरमा खेतीपातीकै माहोल थियो । सबै आफन्त, छरछिमेकी कृषिकर्म गर्थे । मैले पनि दिउँसो विद्यालय पढेर बिहान–बेलुकी घरको काम गर्नु पर्थ्यो । घाँस–दाउरादेखि गाईबाख्राको ग्वाला जानु मेरो नियमित कामजस्तै थियो ।
सपनामा समेत जंगलबाट मौरी ल्याएर घारमा पालेको देख्थेँ । केही वर्ष यस्तैमा बित्यो । एसएलसी पास गरेपछि अलिक फुर्सदिलो भएँ । त्यसपछि त विधिवत् रूपमै मौरी पाल्ने सोच आयो । सुरु सुरुमा घारमा माहुरी बसेनन् । बारम्बार असफल भएको देखेपछि बाबुआमाले अबदेखि यस्तो काम नगर भन्नुभयो । तर, मैले उहाँहरूको कुरा सुनिनँ । वनबाट माहुरी ल्याउन छाडिनँ । त्यही रुचि र लगनले अहिले माहुरीपालक व्यवसायी बनिसकेको छु ।
सानैदेखि रेडियोमा कृषि कार्यक्रमअन्तर्गत मौरीपालन कसरी गर्ने भन्ने कार्यक्रम सुन्ने गर्थें । त्यसबाट मैले धेरै कुरा सिक्ने अवसर पाएँ । रेडियोमा सुनेको भरमा मैले त्यसबेला परम्परागत मुडे घारका साथै आधुनिकमा समेत मौरीपालनलाई परीक्षणका रूपमा अगाडि बढाएँ । बुवा–आमा र आफन्तले जंगलबाट ल्याएका माहुरी आधुनिक घारमा बस्दैनन् भन्थे । त्यसले हतोत्साहित हुन्थेँ । सुरुमा माहुरी घारमा नबसे पनि प्रयास भने छाडिनँ । मैले गरेको त्यही प्रयासले मेरो घरमा मात्र नभएर पालिकाभरि अहिले परम्परागतभन्दा आधुनिक घारमा मौरीपालन फस्टाएको छ ।
मौरीपालनबाट वार्षिक ७ देखि ८ लाख रुपैयाँ बचत गर्दै आएको छु ।सुरुवातमा मैले ४/६ वटा घारबाट मौरी पालन सुरु गरेको हुँ । त्यसलाई बिस्तारै बढाउने उद्देश्यका साथ २०६२ सालमा व्यावसायिक रूपमै मौरी पालनमा लागेँ । अहिले म ४५ वर्षको भएँ । व्यावसायिक रूपमा मौरीपालन गर्न थालेको २० वर्षभन्दा बढी भयो । अहिले घरवरिपरि १ सय ८० घार छन् । प्रत्येक वर्ष ६ क्विन्टल मह र २ सय मौरीका घार बिक्री गर्छु । त्यसबाट १२ लाख भन्दा बढी आम्दानी हुन्छ । मौरीपालन गर्न थालेपछि सामान्य किसानको छोरो म अहिले व्यवसायी बन्न सफल भएको छु ।
विगतमा नयाँ कपडा लगाउन, मासु खान दसैं नै कुर्नु पर्थ्यो । घरमा कोही बिरामी भयो भने साहुसँग ऋण काढेर उपचारका लागि लैजानु पर्थ्यो । अहिले त्यस्तो समस्या छैन । व्यावसायिक मौरीपालनमा लागेपछि अहिले सबै समस्या समाधान भएको छ । अहिले मैले पाँच जनाको परिवारलाई सजिलै पाल्दै मात्र आएको छैन, सबैलाई घरमै रोजगारी मिलेको छ । जग्गा–जमिन जाडेको छु । आफु बस्ने गतिलो घर बनाएको छु भने छाोछोरीलाई उच्च शिक्षा दिलाएको छु ।
मेरै सिको गर्दै पूरै वडाबासीले अहिले घरघरमा आधुनिक घारमा मौरीपालन गरेर लाखौं आय आर्जन गर्दै आएका छन् । पछिल्लो समयमा रोग तथा किराका कारण मह उत्पादन केही घट्दै गएको छ तर मैले मौरीपालन गर्न छाडेको छैन । यसलाई थप विस्तार गर्दै लगेको छु । विभिन्न निकायको सहयोगबाट मह काड्न, घार बनाउन आधुनिक उपकरणसमेत जोडेको छु ।
अहिले मह प्रतिकिलो १ हजार र मौरीको घार ६ हजार रुपैयाँमा बिक्री हुँदै आएको छ । मैले उत्पादन गरेको मह तथा मौरीका घार स्थानीय बजारदेखि लिएर सुर्खेत, दाङ, नेपालगन्ज लगेर बिक्री गर्दै आएको छु ।
प्रस्तुति : विप्लव महर्जन
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
