‘खाली सिसी–बोतलले जिन्दगी धानेको छ’

दिनभरि टिपेको प्लास्टिक, सिसी–बोतल, कागज किनिदिने ठाउँसम्म पुर्‍याउन नभ्याउँदा घर नजिकै कहिले होटल/पसल पछाडि राखेर कोठामा आउँछु । बिहान जाँदा त्यही पनि कसैले चोरिसकेको हुन्छ ।  आफ्नो सामान राखेको ठाउँमा नभेट्दा धुरुधुरु रुन्छु ।

मंसिर २२, २०८२

शकुन्तला परियार

'Empty bottles have sustained life'

What you should know

उदयपुर — दिनभरि खाली सिसी–बोतल, प्लास्टिक टिपेर जम्मा पार्छु । बिहान ९ देखि बेलुका ५ बजेसम्म बजारमा बोरा लिएर डुल्छु । कागज, प्लास्टिक, सिसा गरेर दिनको ९/१० बोरा हुन्छ । दिनभरि काम गर्दा ४ देखि ६ सय रुपैयाँ हुन्छ । पुराना सिसी, प्लास्टिक, कागज काम लाग्छ भन्छन् । आफूले जम्मा पारेको सामान ठेकेदारलाई लगेर दिन्छु । उनीहरू बीरगन्ज लैजान्छन् रे नयाँ सामान बनाउन ।

सुगर र प्रेसरले लामो समय ओछ्यानमै थलिएका श्रीमानको ४ वर्षअघि निधन भयो । अहिले म ५६ वर्षमा लागेँ । छोरा खाडी मुलुक (साउदी) मा छ । बुहारी सिटी सफारी चलाउँछिन् । अगाडिबाट गाडीले ठक्कर दिँदा बुहारी घाइते भइन् । ठक्कर दिने गाडी भागेकाले चालक पत्ता लागेन । छोराले विदेशमा कमाएको पैसाले नपुगेर सहकारीबाट ऋण काढेर बुहारीको उपचार गराइरहेकी छु ।

एक छोरा र तीनवटी छोरी छन् । छोरीहरू सबैको बिहे भइसक्यो । अहिले बुहारी, २ जना नाति–नातिनी र आफूसहित ४ जना छौं । उदयपुरको त्रियुगा नगरपालिका–१२ बुद्धचोकमा कोठा भाडामा बस्छौं । श्रीमानको नाममा जग्गा–जमिन केही थिएन ।

माइतीले ५ धुर जग्गा दिएकाले त्यसैमा सानो घर बनाएर बसेका थियौं । ससुरा प्रेसरको बिरामी भएपछि घर बेचेर उपचार गर्‍यौं । तर उहाँलाई पनि बचाउन सकिएन । बुहारीले अटो चलाएर दैनिक ५/७ सय त कमाउँथिन् तर अहिले उनी आफैं बिरामी छन् । नातिनी ४ कक्षामा र नाति १ कक्षामा सरकारी स्कुलमा पढ्छन् ।

नाति-नातिनीको पढाइ खर्च जुटाउन पनि काम त गर्नैपर्‍यो । नगरी खान पाइँदैन । दिनभरि काम नगरे बेलुका के खाने भन्ने चिन्ता हुन्छ । श्रीमान‍्को उपचारका बेला लिएको ऋण तिर्न सकिएको छैन । महिनैपिच्छे सहकारीमा किस्ता तिर्नुपर्छ । छोराको कमाइ त सबै किस्ता तिर्न नै ठिक्क हुन्छ । घरमा मिठोमसिनो खान निकै मुस्किल पर्छ । महिनाको ४ हजार कोठाभाडा, पानी र  बत्तीको पैसा तिर्नै पर्‍यो ।

नाति–नातिनी माछामासु खान खोज्छन् । सातामा एकपटक कोठामा माछामासु लैजाने गरेकी छु । स्कुलको शुल्क, कापी–किताब, ड्रेस सबै गर्दा आफ्नो कमाइअनुसार त निकै महँगो पर्ने रहेछ । आफूले पढ्न नपाए पनि अहिलेको जमानामा नाति–नातिनी पढाउनै पर्‍यो । पढेर भविष्यमा केही प्रगति गर्लान् कि त ? राम्रो गरे उनीहरूलाई नै हुने हो ।

हामी त अब डाँडामाथिको घाम भइयो । बाँच्नका लागि संघर्ष गर्नैपर्ने रहेछ । यो दुःखी जीवनको पीडा बुझिदिने को नै छ र ?हामी त अब डाँडामाथिको घाम भइयो । बाँच्नका लागि संघर्ष गर्नैपर्ने रहेछ । यो दुःखी जीवनको पीडा बुझिदिने को नै छ र ? आफूले कमाएको पैसाले घरखर्च चलाउन साह्रै मस्किल छ । दिनभरि टिपेको प्लास्टिक, सिसी–बोतल, कागज किनिदिने ठाउँसम्म पुर्‍याउन नभ्याउँदा घर नजिकै कहिले होटल/पसल पछाडि राखेर कोठामा आउँछु । बिहान जाँदा त्यही पनि कसैले चोरिसकेको हुन्छ । कसैले नगरपालिकाको गाडीमा हाल्दिने गर्छन् । जाबो सिसी–बोतल पनि त के चोर्नु ? म बिचरा गरिबलाई पनि यस्तो अन्याय गर्छन् । आफ्नो सामान राखेको ठाउँमा नभेट्दा धुरुधुरु रुन्छु । 

भोकै मर्नुभन्दा इमानदारीले काम गरेर खानु वेशजस्तो लाग्छ । अब त हातखुट्टा पनि लगलग काँप्छन् । टाउको दुख्छ । रिँगटा लाग्छ । शरीर फतक्क भएर गलेझैं हुन्छ । आँखा तिरिमिरी हुन्छन् । तर के गर्नु मर्नुभन्दा अघिसम्म त संघर्ष गर्नु नै छ ।

अब त बुहारी पनि बिस्तारै सन्चो हुँदैछन् । चाँडै निको भए त मलाई अलिक हलुको हुन्थ्यो कि ? छोराले पनि बिचरा कताकता गरोस् ? सहकारीको किस्ता उसैले हाल्नुपर्छ । बुहारीलाई उपचार खर्च उसैले गरेको छ । खर्च मात्रै छ । बचत एकै रुपैयाँ पनि छैन बिचराको ।

धेरै पढाउन लेखाउन सकिएन । साउदीमा मोटरसाइकल ग्यारेजमा काम गर्छ । अलिक पढाउन पाएको भए त काम पनि राम्रो पाउँथ्यो होला । कमाइ पनि राम्रै हुन्थ्यो होला । अब जे जति छ, त्यसैसा चित्त बुझाउनुपर्ने त रहेछ । वडाबाट गरिब, दुःखी, दलित महिलालाई सीप सिकाउने रे भनेको सुन्छु । कतिचोटि वडा कार्यालयमा गएर सोधेँ, खै छैन, सबै सकिसक्यो भन्छन् । म बिचरालाई नपत्याएको त होला नि ! भारी मन लिएर फर्किन्छु । अनि त्यही सिसी–बोतल, प्लास्टिक टिप्नतिर लाग्छु ।  कसैले होटलमै भाँडा धुन, सरसफाइ गर्न राखे पनि हुने । खोइ कसैले काम दिँदैनन् । सडकमा धूलो र धूवाँले खोकी लाग्छ, बिरामी पर्छु । उपचार गर्ने बेला पैसा हुँदैन । आखिर गरिबका पीडा बुझ्ने कोही नहुँदो रहेछ ।

प्रस्तुति : राकेश नेपाली

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

शकुन्तला

Link copied successfully