‘चोर्न पो हुन्न त, गरेर खान केको लाज ?’

यो दुःख भन्ने कुराले पनि अब त दिक्क लाग्न थाल्यो । कहिलेकाहीँ त यसलाई गाली गर्न मन लाग्छ, ‘ए दुःख ! अझै कति समातेर बसिरहन्छ रे मलाई ?’

मंसिर २१, २०८२

निदवती राजवंशी

”You can't steal, so why be ashamed of doing it?”

What you should know

विराटनगर — मैले भाक्का बनाउन सानैमा सिकेकी हुँ । यो भाक्का हामी चाडपर्व, मेलापातमा खाजाका रूपमा खान्छौं । राजवंशी समुदायको यो खाजा अहिले सबैको साझा खाजा भएको छ ।

हिउँदका करिब ६ महिना चोक, बजार र गल्लीमा भाक्का बेचिन्छ । मसँग जन्मजात सीप त थियो तर भाक्का बेच्न थालेको चाहिँ चार वर्षजति भयो । घरमा समय बिताउनु भन्दा जाडो याममा भाक्का बनाएर बेच्दा घरखर्च चल्छ । श्रीमान् काशीनाथ काठका फर्निचर बनाउँछन् । उनको दैनिक ज्याला ९ सय छ । जम्मा गर्न सक्दा महिनामा २७/२८ हजार हुन्छ । तर, एउटाको कमाइ जम्मा गर्ने कुरै हुन्न । कमायो र खायो भएको थियो । 

अहिले त म पनि दिनमा खर्च कटाएर ५/६ सय रुपैयाँ कमाउँछु । दुवै जनाको खर्च मिलाउँदा घरखर्च पुगेर पनि केही बचत भएको छ । विराटनगर महानगरपालिका–१ पोखरियामा घर छ । सानो भए पनि आफ्नो घर भन्या आफ्नै हुँदो रैछ । कम्तीमा डेरा भाडा त तिर्नु पर्दैन । हामी श्रीमान्, एक छोरा र एक छोरीसहित चार जनाको सानो परिवार छ । तुलानात्मक रूपमा खर्च पनि कमै हुन्छ । तर, यो पैसा भन्ने चिज कति बैगुनी जति भए नि नपुग्नी ! 

दुःखका बीच पनि हाम्रो घरमा एउटा अचम्मको उज्यालो छ– नानीहरूको हाँसो । उनीहरूले पढेको कुरा सुनाउँछन्, सपनाको कुरा गर्छन् । उनीहरू बोलिरहँदा हामी आफ्नो थकान त्यत्तिकै बिर्सिन्छौं ।खासगरी खानपिनमा १०–१२ हजार, नानीहरूको पढाइ लिखाइमा ८–१० हजार र सासु–ससुराको उपचारमा १० हजार हाराहारीमा खर्च हुन्छ । सासु–ससुरा हामीसँगै रहनु त हुन्न तर दुःख बिराम हुँदा उपचार गर्ने दायित्व हामीसँग पनि आइपुग्छ । छोरा–छोरीलाई सानामा बोर्डिङ नै पढाइयो । त्यस बेला साह्रै दुःखजिलो गरेर पढाइएको थियो । अहिले छोरी व्याचलर र छोरा १२ मा पढ्छन् । अहिले त झन् खर्च बढेको छ । 

ठूलो सपना केही छैन । मेरो माइतीघर झापा, विर्तामोड हो । १३ वर्षर्को उमेरमा बिहे गरेर विराटनगर आएकी हुँ । आएका दिनदेखि दुःखले समातेको थियो, अहिलेसम्म छाडेको छैन । यो दुःख भन्ने कुराले पनि अब त दिक्क लाग्न थाल्यो । कहिलेकाहीँ त यसलाई गाली गर्न मन लाग्छ, ‘ए दुःख ! अझै कति समातेर बसिरहन्छ रे मलाई ?’ 

कहिलेकाहीँ लाग्छ, मेरो जीवन पनि हिउँदको कुहिरोझैं रहेछ । धुम्म तर त्यसभित्र कतै न कतै उज्यालो चाहनाले बलेको । जीवनमा सबै कुरा सजिलो कहाँ हुन्छ र ? नानीहरूको पढाइ, खानपिन, कोचिङ, किताब–कपी... सबैमा खर्च बढ्दै गयो । कहिलेकाहीँ लाग्छ, हातमा आएको पैसा पानीजस्तै बगेर जान्छ । तर पनि नानीहरूको अनुहार हेरेपछि थकान बिर्सिन्छु । कहिलेकाहीँ सोचिरहन्छु– मानिसका पीडा भाक्काको झोलाभित्र पनि कतिवटा लुकेका हुन्छन् होला ? तर मेरो कुरा त यत्तिकै हो भाक्कासँगै म आफ्नै मिहिनेतको कहानी बोकेर हिँडिरहेकी हुन्छु ।

घर फर्किंदा श्रीमान् काठको धूलोले भरिएको कपडा लिएर आउनुहुन्छ । हामी दुई जना खुट्टा तानेर बस्छौं, दिनभरका पीडा सुनाउँछौं । तर, दुःखका बीच पनि हाम्रो घरमा एउटा अचम्मको उज्यालो छ– नानीहरूको हाँसो । उनीहरूले पढेको कुरा सुनाउँछन्, सपनाको कुरा गर्छन् । उनीहरू बोलिरहँदा हामी आफ्नो थकान त्यत्तिकै बिर्सिन्छौं । 

कहिलेकाहीँ रात परेपछि म भान्साको कोठामा शून्यमा हेरिरहन्छु । सोच्छु, ‘कति लामो यात्रा गरेँ मैले ? १३ वर्षको कलिलो उमेरकी केटीबाट आज परिवारका सबैका लागि उभिएको स्त्री बन्न सकेँ ।’ यसैमा गर्व पनि लाग्छ । अरूले देख्दा सामान्य काम गर्ने महिला ठान्दा हुन् । ठानून् । गरेर खान केको लाज ? चोर्न पो हुन्न त ! 

तर मलाई थाहा छ, म आफ्नै जीवनको नायक हुँ । नानीहरूका लागि, सासु–ससुराका लागि, श्रीमान्को साथका लागि । मैले जीवनसँग कहिल्यै हारेकी छैन । भोलि के हुन्छ, थाहा छैन तर आजको मेरो मिहिनेत नानीहरूको उज्यालो भोलिको आधार बन्नेछ भन्नेमा विश्वस्त छु । भाक्काको पोल्ने आगोको धूवाँमा लेखिएको मेरो भविष्य, मेरा नानीहरूको आशा र जीवनको निरन्तर संघर्ष हो । 

प्रस्तुति : पर्वत पोर्तेल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

निदवती

Link copied successfully