‘टोकरीबाट सुरु गरेको व्यवसायलाई ठेलासम्म पुर्‍याएँ, यसमै खुसी छु’

‘राम्रो लगानी भएमा यही व्यवसायलाई बढाएर गाउँको भीडभाड हुने ठाउँमा जमेर काम गर्ने इच्छा छ ।’

मंसिर २०, २०८२

पार्वती चौधरी

”I took the business I started with a basket to a cart, and I'm happy with that.”

What you should know

कञ्चनपुर — दिनभरि घरअगाडि ठेला राख्छु । जतिखेरै व्यापार हुँदैन । घरअगाडि ग्राहकको भीड लाग्दैन । त्यसैले दिउँसो स्कुलको हाफछुट्टी हुने बेला ठेला धकेल्दै विद्यालयको गेटसम्म पुर्‍याउँछु । विद्यालयको अगाडि दिनभरि कुरेर व्यापार पनि हुँदैन । खाजा खाने बेला करिब एक घण्टा चटपटे बिक्री गरेर फर्किन्छु ।

चटपटे यहाँको लोकप्रिय खाजा हो । यसबाहेक पनि नमकिन, बिस्कुट, चाउचाउ, कापी–कलम पनि बिक्री गर्दै आएकी छु । दुई वर्षजति भयो मैले यसरी खाजा बेचेर गुजार गर्न थालेको । मेरो घर बेलौरी नगरपालिका–५ रामनगरमा पर्छ । उमेरले ३० वर्षकी भएँ । घर नजिकैको जननमुना माध्यमिक विद्यालयको गेटमा दुई वर्षदेखि ठेलामा विभिन्न सामान बिक्री गर्छु । विद्यालयको हाफछुट्टी हुने बेला एक घण्टा मात्रै गेटमा उभिन्छु । त्यही एक घण्टाको अवधिमा हजार/बाह्र सयको सामान बिक्री हुन्छ । दिनमा चटपटे बिक्री गरेर पाँच/सात सय बचत भइहाल्छ । 

मैल टोकरीमा चटपटे बिक्री गरेर व्यापार सुरु गरेकी हुँ । स्कुलसँगै गाउँमा टोकरी बोकेर डुल्थेँ । करिब पाँच/छ महिना यसैगरी टाउकोमा टोकरी घुमाउँदै चटपटे बिक्री गरेँ ।श्रीमान् अर्जुन स्टिलका सामग्री बनाउने काम गर्छन् । दुवै जना मिलेर घर–परिवारको खर्च चलाउँछौं । खाद्यान्न घरमै उत्पादन हुन्छ । साग, तरकारी, नुन, तेल र दाल आदि खरिद गर्नुपर्छ । त्यसमै खर्च लाग्छ । त्यसपछि छोराछोरीको पढाइ खर्च, कापी–कलम, किताब र स्कुल ड्रेस आदिमा खर्च हुन्छ । 

घरको खर्च सबै ठेलाकै कमाइबाट पूरा हुन्छ । छोराछोरीको पढाइ खर्च पनि यसैबाट चल्छ । छोरा ६ कक्षामा र छोरी १ कक्षामा पढ्छन् । बिहान–साँझको समयमा घरमै पनि ठेलामा चटपटे बिक्री गर्छु । तर घरमा फाट्टफुट्ट मात्रै ग्राहक आउँछन् । स्कुल चलेका बेला मात्रै हो व्यापार राम्रो हुने, अरु बेला त सुनसान नै हुन्छ । स्कुलमा बिदा भएका बेला घरमै काम गर्छु । 

मैल टोकरीमा चटपटे बिक्री गरेर व्यापार सुरु गरेकी हुँ । स्कुलसँगै गाउँमा टोकरी बोकेर डुल्थेँ । करिब पाँच/छ महिना यसैगरी टाउकोमा टोकरी घुमाउँदै चटपटे बिक्री गरेँ । त्यसपछि श्रीमानले नै ठेला बनाइदिनुभयो । अहिले सजिलो भएको छ । ठेला गुडाउँदै स्कुलमा पुग्छु । त्यसपछि घरमा लग्छु । टोकरी टाउकोमा राखेर गाउँ डुल्दै सुरु भएको व्यवसाय अहिले ठेलामा पुगेको छ । यसैमा खुसी लागेको छ । 

ठेलामा नमकिनसँगै कुरमुरे, भुजा, चिउरा र चाउचाउ पनि बिक्री गर्छु । उक्त सामान आफैँले जुटाउँछु । बिहान घरको कामसँगै चटपटे बनाउन र अरू सामान जुटाउनमा व्यस्त हुन्छु । बच्चाहरूलाई स्कुल पठाएपछि केही बेरमा आफू पनि आइहाल्छु । खेतीपातीका बेला घरकै कामबाट फुर्सद हुँदैन । त्यसबाहेकको समयमा भने यसैबाट राम्रो आम्दानी भइरहेको छ । घरको कामसँगै बालबालिकाको रेखदेख पनि हुन्छ । 

राम्रो लगानी भएमा यही व्यवसायलाई बढाएर गाउँको भीडभाड हुने ठाउँमा जमेर काम गर्ने इच्छा छ । तर त्यसका लागि लगानी धेरै चाहिन्छ । एक्लैले सक्ने पनि होइन कि भन्ने लाग्छ ।

प्रस्तुति : भवानी भट्ट

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस् 

पार्वती चौधरी

Link copied successfully