‘जँचाउन अस्पताल आएकी हुँ, खर्च जुटाउन सुन्तला बेच्न थालेकी छु’

'किनेको भन्दा त्यस्तै ४० देखि ६० रुपैयाँसम्म नाफा राखेर बिक्री गर्दैछु । यसो दुई–चार पैसा जम्मा गर्न पाए उपचार गर्न सजिलो हुन्थ्यो ।'

मंसिर १७, २०८२

गुनाकला विश्वकर्मा

”I came to the hospital for a checkup, I have started selling oranges to make ends meet.”

What you should know

गुल्मी — आफ्नै ठूलो व्यापार व्यवसाय केही छैन । घर र छोराछोरीको पढाइ खर्च पुर्‍याउन मेरो श्रीमानले आरन चलाउनु हुन्छ । नयाँ बनाउँदा र पुरानालाई धार लगाउँदा खर्च जेनतेन चलिरहेको छ ।

मेरो टाउको दुखेको धेरै भयो । चिलाएजस्तो गरेर बेलाबेलामा बेस्सरी दुख्छ । अनि गुल्मी अस्पतालमा जँचाउन आएकी हुँ । स्वास्थ्य बिमा पनि गरेकी छैन । औषधि खर्च अपुग हुन्छ कि भनेर अहिले सुन्तला बेच्न बसेकी छु । मेरो घर रेसुंगा नगरपालिका–६ चेक्मीमा पर्दछ । म अहिले ५५ वर्षकी भएँ ।

हाम्रो घरमा सुन्तला फल्दैनन् । यी मैले खरिद गरेर बेच्न राखेका हुन् । नाफा त खै के हुन्थ्यो र ! तैपति अलिअलि होला कि भनेर बसेकी छु । ६० रुपैयाँ प्रतिकिलो किनेर ल्याएकी हुँ । एक डोको सुन्तला छ । बेच्दा १ सयदेखि १ सय २० रुपैयाँमा बिक्री गर्ने गरेकी छु ।

मेरा पाँच छोरी र तीन छोरा गरेर ८ सन्तान छन् ।मेरा पाँच छोरी र तीन छोरा गरेर ८ सन्तान छन् । चार छोरी विवाह गरेर आ–आफ्नो घर गरिरहेका छन् । एक छोरा बिरामी छन् । कमाउने जेठो छोरा बिरामी परेको हो । अल्सर भएर बिरामी छ । त्यसैले घरखर्च र पढाइ खर्चको जिम्मेवारी हामै काँधमाथि छ । तीन छोराछोरी पढ्दैछन् । कक्षा ९ र १२ मा पढ्छन् ।

किनेको भन्दा त्यस्तै ४० देखि ६० रुपैयाँसम्म नाफा राखेर बिक्री गर्दैछु । यसो दुई–चार पैसा जम्मा गर्न पाए उपचार गर्न सजिलो हुन्थ्यो । स्वास्थ्य जाँच गर्न पुगिहाल्थ्यो । त्यसभन्दा धेरै केही चाहिएकै छैन । बेलैमा स्वास्थ्य बिमा नगर्दा दुःख पाइरहेका छौं ।

अब त चाँडै स्वास्थ्य बिमा गर्ने सोचेकी छु । हामी पाँच/छ जनालाई ३५ सय रुपैयाँले पुगिहाल्ने रहेछ । त्यसो भयो भने बिरामी पर्दा समस्या हुने थिएन । 
अरू त त्यस्तो केही सपना छैन । बिरामी हुँदा उपचार पाए भइहाल्छ । उपचार गरेर घर फर्किने हो । लाउन खानामा केही त्यस्तो नयाँ चाहिँदैन । सामान्य भए भइहाल्छ । गाउँमा त पढाइ खर्च र उपचार खर्च बढी लाग्ने हो । अरू त निर्वाह गर्न सकिहालिन्छ ।

प्रस्तुति : सन्तोष महतारा

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस् 

गुनाकला

Link copied successfully