‘थोरथोरै बचत गर्न सकेँ भने बुढेसकालमा काम लाग्ला’

तरकारी बिक्रीबाट कम्तीमा ३० हजार जति महिनामा कमाइ हुन्छ । यसले मलाई घरखर्च चलेको छ । बजार हिँडेर ‘तरकारी आयो’ भन्दा कुनै लाज वा अप्ठ्यारो मान्दिनँ । काम सानोठूलो भन्ने हुन्न भन्ने लाग्छ ।

मंसिर १५, २०८२

वेदप्रसाद कनौजे 

”If I can save a little, it will come in handy in my old age.”

What you should know

पाल्पा — गाउँमा ५० वर्षअघि नगद आम्दानी केही थिएन । गाउँका धेरै संगीसाथी नगद आम्दानीका लागि भारत जाने प्रचलन थियो । मुलुकभित्र केही उपाय लाग्दैन भन्ने भन्दा पनि लहलहैमा भारत गइयो । गाउँका सबैले नगद पैसा कमाएको देख्दा मलाई पनि रहर लाग्यो । त्यसबेला धेरैको नगद आम्दानी गर्ने देश भारत नै थियो ।

मलाई पनि साथीभाइसँगै भारत जाने इच्छा जाग्यो । सानो उमेरदेखि मेरो मिहिनेत गर्ने बानी थियो । त्यसैले बैंस, बल, उमेर छउन्जेल भारतको मुम्बईमा बिताएँ ।

अहिले म ६१ वर्षको भएँ । मेरो पुरानो घर गुल्मी जिल्लाको सत्यवती गाउँपालिकाको अस्लेवा चौर हो । अहिले तानसेन नगरपालिका २ असनटोलमा घर छ । झण्डै ४५ वर्ष भारतमा काम गरेको मेरो अनुभव छ । अहिले दुई वर्षदेखि तानसेनका चोक र गल्लीमा तरकारी बिक्री गर्छु । तरकारी आयो भनेर बजारमा हिँड्दा मलाई मज्जा आएको छ । के गर्नु ? उमेर पनि छिप्पिइ सक्यो । त्यसैले मिहिनेत गर्ने बानीलाई बिगार्न हुन्न भन्ने लाग्छ । दैनिक बजार डुल्दा शरीरलाई पनि फाइदा हुन्छ भन्ने लाग्छ । 

गाउँबाट तरकारी खरिद गरेर चोक र गल्ली गल्लीमा बिक्री गर्दा पनि बुढेसकालमा काम लाग्ला भन्ने ठानेको छु । मलाई तरकारी बिक्री गर्दा कुनै अप्ठ्यारो लाग्दैन । मलाई देखेर अरूलाई पनि मिहिनेत गर्न मन लागोस् भन्ने लाग्छ । मलाई ‘तरकारी बाजे’ भन्न थालेका छन् । तैपनि मलाई त मज्जा नै आएको छ । 

काम गरेर खान लाज मान्नु हुँदैन । विदेशमा गएर जे–जस्तो पनि काम गर्ने तर नेपालमा काम गर्न लजाउने हाम्रो बानी छ ।भारतमा बस्दा मैले फोटो स्टुडियोमा काम गरेँ । होटल लाइनमा पनि काम गरेँ । त्यसको पनि अनुभव छ । फोटो स्टुडियो आफ्नै चलाएँ । १५ देखि १९ जनालाई रोजगारसमेत दिएको हुँ । अहिले नेपालमा साह्रै महङ्गी बढेको छ । आफ्नै खर्च धान्न तरकारी बिक्रीबाट राम्रो भएको छ । हुन त मलाई फोटो स्टुडियो खोल्ने मन थियो । तर, अहिले हामीले चलाएको जस्तो फोटो स्टुडियोको महत्त्व खासै छैन । 

जसको सम्पत्ति छ, उसलाई अहिले पनि घरखर्च चलाउन दुःख छैन होला । तर सामान्य नागरिकलाई भने घरखर्च चलाउन मुस्किल छ । मेरो केही रोगव्याधी छैन । श्रीमतीलाई हरेक महिना १० देखि १२ हजार औषधीउपचार खर्च हुन्छ । १० देखि १२ हजार घरखर्च पुर्‍याउने गरेको छु । बजार गयो भने जुनसुकै सामान हरेक दिन महङ्गो भएको छ । २० देखि २५ हजार कमाउन भागदौड गर्नुपर्छ । गाउँका किसान पनि बिचौलियाले गर्दा मर्कामा छन् । 

मैले पनि गुल्मी, अर्घाखाँची र पाल्पाकै विभिन्न स्थानबाट ल्याएको तरकारी बिक्री गर्छु । किसानले भाउ पाएका छैनन् । बजारमा त्यही तरकारी महङ्गो छ । कतिपय बिचौलियाबाट खरिद गर्छु । अहिले कतिपय तरकारी उब्जाउने किसान पनि सम्पर्कमा छन् । तानसेनको मुख्य बजार हुलाकचोकमा दिउँसो केही समय बिक्री गर्छु । त्यसपछि हातमा लिएर बजार डुल्छु । बजार डुल्दा पनि मलाई कुनै अप्ठ्यारो लाग्दैन । 

तरकारी बिक्रीबाट कम्तीमा ३० हजार जति महिनामा कमाइ हुन्छ । यसले मलाई घरखर्च चलेको छ । बजार हिँडेर ‘तरकारी आयो’ भन्दा कुनै लाज वा अप्ठ्यारो मान्दिनँ । काम सानोठूलो भन्ने हुन्न भन्ने लाग्छ । काम गरेर खान लाज मान्नु हुँदैन । विदेशमा गएर जे–जस्तो पनि काम गर्ने तर नेपालमा काम गर्न लजाउने हाम्रो बानी छ । त्यस्तो गर्नु भनेको आफैंलाई ठगेको हो भन्ने लाग्छ । घरमा बस्ने, लाहुरे बन्ने । रिटायर्ड जीवन बिताउने भन्ने कुरा मलाई मन पर्दैन । 

उमेर छउन्जेल काम गर्नुपर्छ । दुई चार पैसा कमाएर बचाउन सके बुढेसकालमा कसैको अघि हात थाप्नु पर्दैन  । आफ्नो पुर्ख्यौली गाउँ अस्लेवा नगएको धेरै भयो । गाउँका दाजुभाइ (आफन्त) प्रायः सबै तराई झरिसके । मलाई तराई झर्ने मन भएन । 

महङ्गी नियन्त्रण गर्न सक्यो भने थोरै कमाउनेहरूलाई पनि राम्रो हुने थियो । संघीय, प्रदेश र स्थानीय सरकार छन् । तर यिनीहरूले महङ्गी नियन्त्रण किन गर्न सकेनन् ? यसबारेमा पनि सबैले आवाज उठाउनुपर्छ । म जस्तोलाई भन्दा पनि मैले मभन्दा थोरै कमाइ हुनेहरूका लागि सोच्नुपर्छ भन्ने लाग्छ । 

प्रस्तुति : माधव अर्याल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

वेदप्रसाद

Link copied successfully