जागिर छोडेर आउँदा ९ लाख रुपैयाँ आएको थियो । त्यसैबाट ऐलानी जग्गामा २ कोठाको घर किनेँ । त्यसैमा अहिले बसोबास गर्दै आएका छौं ।
What you should know
सुर्खेत — मगर समुदायबाट धेरै जना सेनामा भर्ती हुन जाने चलन थियो । त्यसैले मैले पनि भर्ति हुने निर्णय गरेँ । धेरै पढ्न पनि पाइएन । त्यही ५ कक्षासम्म पढेपछि विद्यालय गइनँ । पहिलोपटकमै भर्ति भएँ । त्यसपछि नेपाली सेनाको जागिरे जीवन सुरु भयो । कसैले जीवनमा के गरिस् भनेर सोध्यो भने ‘लामो समय देश र जनताको सेवा गरेँ’ भन्छु । २०७४ चैत १५ गते नेपाली सेनाबाट अवकाश पाएको हुँ ।
अवकाश जीवन सुरु भएपछि गाउँ फर्किएँ । परिवारमा श्रीमती, २ छोरी र १ छोरा छन् । जेठी छोरीले सुर्खेतकै सैनिक स्कुलबाट १० कक्षा उत्तीर्ण गरिन् । त्यसपछि ११ कक्षा पढ्न काठमाडौं गएकी छन् । सानीमासँग बसेर विज्ञान विषय लिएर पढिरहेकी छिन् । अर्की छोरी ५ कक्षमा पढ्छिन । छोरा १ कक्षामा पढ्छन् । पढाइ राम्रो होस् भनेर उनीहरूलाई निजी विद्यालयमा भर्ना गरेको छु । राम्रैसँग पढिरहेका पनि छन् ।
जागिरे जीवन पूरा गरेर घर फर्केपछि मिहिनेत गर्नुको साटो मदिरा सेवन गर्ने र जुवातासको लत लाग्यो । कुलतले गर्दा धेरै दुःख पनि पाएँ । एक दिन यसरी त जीवन सुखी हुँदैन भन्ने भावना मनमा जाग्यो । जागिरको पेन्सनले परिवारको खर्च र छोराछोरीको पढाइका लागि पनि पुग्दैन थियो । त्यसैमाथि आफैंले धेरै खर्च गर्न थालेपछि दुःख पाइयो । यसरी हुँदैन भन्ने लागेपछि पेन्सनबाट ऋण निकालेँ । समुदायकै सिद्धार्थ सहकारीमा श्रीमतीलाई सदस्य बनाएँ । ३ लाख सहकारीबाट र ५ लाख बैंकबाट ऋण निकालेर खाद्य पसल सुरु गरेँ । श्रीमतीले पसल हेर्न थालिन् ।
आफ्नालागि अटो किनेँ । तर पसल राम्रोसँग चलेन । उधारो बढी भएर लथालिंग बन्यो । यही बीचमा श्रीमती बिरामी परिन् । उनको पाठेघरमा समस्या देखियो । भक्तपुर क्यान्सर अस्पतालमा लगेर पाठेघरको अप्रेसन गराएँ । पसल बन्दै भयो । अहिले उनी घरमै आराम गरिरहेकी छिन् । मैले अटो चलाउँछु । पहिले किनेको अटो बेचे अनि साढे ४ लाखमा नयाँ किनेको छु । अटो चलाउन थालेको पनि साढे ६ वर्ष भयो ।
बीचमा ज्यामी काम पनि गरेँ केही समय । अहिले अटो चलाइरहेको छु । यसैले ऋणको किस्ता तिर्न पुगिरहेको छ ।बीचमा ज्यामी काम पनि गरेँ केही समय । अहिले अटो राम्रै चलिरहेको छ । बिहानबाट साँझसम्म दुःख गर्दा ऋणको किस्ता तिर्न पुगिरहेको छ । घरखर्च धान्न पनि यसैले सहयोग गरेको छ । मासिक १६ हजार पेन्सन आउँछ । त्यसले छोराछोरीको पढाइ खर्च ठिक्क हुन्छ । पसल खोल्दा, अटो किन्दा र श्रीमतीको उपचार गर्दा १२ लाख जस्तो ऋण लागेको छ ।
जागिर छोडेर आउँदा ९ लाख रुपैयाँ आएको थियो । त्यसैबाट ऐलानी जग्गामा २ कोठाको घर किनेको थिएँ । त्यसैमा बसोबास गर्दै आएका छौं । जेठी छोरीको काठमाडौंको पढाइको खर्च छ । अर्की छोरीको मासिक ३३ सय खर्च आउँछ । २५ सयजति छोराको खर्च हुन्छ । चामल, दाल, तरकारी, दुध, माछामासु, फलफूल, ग्यास सबै भान्साकै खर्च मासिक ११ देखि १२ हजार बढी आइहाल्छ । श्रीमती बिरामी छिन् । कहिलेकाहीं छोरीछोरा अनि आफू पनि बिरामी पर्छु । यस्तैमा कमाएको खर्च भइरहेको हुन्छ । आफू भदौ १६ गतेबाट ४२ वर्षको पुगिसकेँ ।
उमेर बढ्दै गएको छ । ऋण तिरेपछि र छोरीले पढेर जागिर खाएपछि अटो चलाउन छोडेर आराम गर्ने इच्छा छ । अटोको ४ किस्ता तिरेँ । मासिक १० हजार ८ सय ७० किस्ता तिर्छु । उमेर बढ्दै गर्दा आराम गर्ने समय आयो तर घरखर्चकै लागि काम गरिरहेको छु । लाइसेन्स बनाएर अटो चलाएको हुनाले मलाई सहज भएको छ । हामी सामान्य परिवारको मान्छेले घरायसी खर्चकै लागि जिन्दगीभर दुःख गर्न पर्ने रहेछ । छोराछोरीको पढाइ र ऋण नभएको भए त मेरो पेन्सनले मजाले पुग्ने थियो तर अब आर्थिक रूपमा कमजोर भएकाले पेन्सनले मात्र पुग्दैन । त्यसैले उमेर बढे पनि कामले छोडेको छैन ।
प्रस्तुति : तृप्ति शाही
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
