‘म कहिल्यै परिवारसँग घुम्न सकिनँ । कहिल्यै होटलमा बसेर मिठोमसिनो खान पाइनँ । एक दिन परिवारसँगै बसेर रेस्टुराँमा खाना खाने सपना पनि मेरा लागि ‘लासाको सुन’झैं भएको छ ।'
What you should know
विराटनगर — बढ्दो उमेरका कारण कहिलेकाहीँ शरीरले साथ नदिए पनि मिहिनेत गरेर बाँच्न मन लाग्छ । विराटनगर महानगर–२ को खोला किनारको सुकुम्बासी बस्तीमा जीवनको आधा भन्दा बढी समय काटिसकेको छु । बस्तीमा बिहानै उठ्दा देखिने सहरको कोलाहल, मकै पोलेको धूवाँ र चर्खिएका अनुहारहरू यी सबै मेरा साथीझैँ लाग्छन् । म अहिले ६५ वर्षको भएँ । म ठेला कुदाउँछु ।
कहिले–कहिले मेरी श्रीमतीलाई मकै पोल्न पनि सघाउँछु । र, आज श्रीमतीलाई सन्चो भएन । अनि ठेला थन्काएर मकै पोल्न आएँ । विराटनगरमा काँचो मकै भेटिन्न । त्यसैले बिहानै म २० किलोमिटर टाढा इटहरीसम्म पुगेर मकै ल्याउँछु । त्यहाँका किसानबाट २० रुपैयाँ घोगामा काँचो मकै किनेर ल्याउँछु । मेरा लागि त्यो नै महँगो लगानी हो ।
इटहरीबाट ल्याएरको मकै पोलेर बेच्दा ३० रुपैयाँ मात्रै लिन्छु । धेरै नाफा खान हुन्न भन्ने लाग्छ । काँचो मकै नै किन्नेलाई २५ रुपैयाँ घोगा दिन्छु । प्रतिघोगा पोलेको मकैमा १० रुपैयाँ र काँचोमा ५ रुपैयाँ नाफा खान्छु । यो नाफा हैन, सेवा शुल्क हो भन्छु । किन कि हामीले टाढासम्म पुगेर मकै ल्याएर ग्राहकलाई सेवा दिइरहेका छौं ।
दिउँसो कञ्चनवारी नजिकै ठूलो मिल चोकमा आएर मकै पोल्न बस्छु । धूवाँले अनुहार कालो हुन्छ, घामले पिठ्यू पोल्छ, तर आगोमा मकै घुमाउँदै गर्दा म आफैंलाई सम्झाउँछु, ‘यो नै मेरो कमाइको बाटो हो, यो नै मरो हातको कला हो ।’ कसैलाई लाग्ला, मकै पोलेर के नै कमाइ हुन्छ र ? तर, मेरा अनुभव भन्छ, ‘पसिनाको कमाइ नै संसारकै सबैभन्दा इमानदार कमाइ हो ।’
दिनमा कहिले ४ सय कमाउँछु । कहिले ५ सय पनि पुग्छ । कहिलेकाहीँ त्यसभन्दा धेरै पनि आउँछ, कहिलेकाहीँ त आगो मात्रै फुक्नु पनि पर्छ । तर म कहिल्यै गुनासो गर्दिनँ । किनकि मैले काम छोडेँ भने परिवार भोकै हुन्छ । परिवारका लागि पनि मैले धैर्य गरेर मकै पोल्नै पर्छ । पुसको ठिही होस् या जेठको हपहपी गर्मी मकै पोल्नैपर्छ । गर्मीभन्दा जाडो मन पर्छ मलाई । आगो ताप्दै मकै पोल्न सजिलो, बेच्न पनि सजिलो । गर्मीमा त काम नै कठिन हुन्छ । झरीमा उस्तै कठिन हुन्छ ।
मेरो परिवार ठूलो छ । पहिले त २४ जना थियौं । अहिले त्यो संख्यामा कमी आएको छ । अझै पनि १० जना त मेरा छानामुनि नै छन् । दुई भाइ छोरा, चार नातिनातिना, बुहारी, मेरी बूढी अनि म । एउटा छोरा त ससुरालीमै बस्छ, उसका बच्चाहरू पनि उतै छन् । कमाउने हामी चार जना म, श्रीमती र दुई छोरा हौं । बाँकी ६ जना नकमाउने । नातिनातिना पढ्दैछन्, बुहारीहरू घरधन्दासँगै बच्चा सम्हाल्छन् ।
पसिनाको कमाइ नै संसारकै सबैभन्दा इमानदार कमाइ हो ।हाम्रो बसाइ पनि सगोलमा छ । कमाइ पनि सगोलमै खर्च हुन्छ । ३०–४० हजार जति कमाइ हुन्छ । सुन्नलाई धेरै कमाएजस्तो लाग्ला तर खर्च पनि उस्तै छ । खाने मुख धेरै छन्, कमाउने हात थोरै छन् । यति ठूलो परिवारमा दाल, चामल, तरकारी, तेल–नुन, र लत्ताकपडा मात्रै किन्दा आधा कमाइ सकिन्छ । नातिनातिनाको पढाइ, यति महँगो उपचार, यसरी सबै खर्च धान्नै मुस्किल पर्छ । मलाई चाडपर्व मन पर्छ । दीपावलीमा घरभरि उज्यालो ल्याउँछु र छठमा नदी किनारमा पूजाको रमाइलो हेर्दा मन प्रफुल्लित हुन्छ । होलीमा नातिनीहरूले रंग लगाइदिँदा जीवन अझै सुन्दर छ जस्तो लाग्छ । चाडपर्वमा म परिवारका सबैलाई नयाँ कपडा किनिदिन्छु । चाहे सस्तो किन नहोस्, कपडा नयाँ भएको देखेर नातिनातिना हर्षित हुन्छन्, छोराहरू गर्व गर्छन्, बुहारीहरूको अनुहारमा पनि खुसीको रङ पोतिन्छ । तर मसँग पनि केही सपना छन्, जुन कहिल्यै पूरा भएनन् ।
म कहिल्यै परिवारसँगै घुम्न सकिनँ । मैले कहिल्यै होटलमा बसेर मिठोमसिनो खान सकिनँ । मेरो सपना धेरै ठूलो छैन, तर त्यही पनि पूरा गर्न सक्दिनँ । एक दिन परिवारसँगै बसेर एक छाक रेस्टुराँमा खाने ठूलो धोको छ । तर, त्यो पनि मेरा लागि ‘लासाको सुन’झैं भएको छ । २५–३० रुपैयाँको मकै बेचेर कसरी सय–हजार जम्मा गर्ने ? तर पनि जीवन चलेकै छ । ठक्कर खान्छु, ढल्छु, फेरि उठ्छु । किनकि म आफू मात्र होइन, ममाथि सिंगो परिवारको जिम्मेवारी छ । कहिलेकाहीँ नातिनातिनाहरू भन्छन्, ‘बापूजी, हामी ठूलो भएपछि तिम्रो मिहिनेत फिर्ता गर्छौं है !’
त्यो सुन्दा मुटु मुस्किलले सम्हाल्छु । लाग्छ, कति मिठो कुरा हो त्यो । मैले जीवनभर दुःख गरेँ । तर दुःख नै मेरो पहिचान बनेको छ । मकैको धूवाँ, आगोको पोलाइ, साँझको थकान यी सबैले मलाई जीवन जिउन सिकाइरहेका छन् । कहिलेकाहीँ सोच्छु, मानिस गजबको प्राणी हो । गुनासो गरिरहन्छ तर हिँड्न पनि छाड्दैन । जीवन चलाउन त हिंडिरहनै पर्छ हैन त ?
प्रस्तुति : पर्वत पोर्तेल
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
