‘आउजाउमै चार–पाँच हजार खर्च हुने हुँदा दसैं–तिहारमा मात्र घर जान्छु’

पहिलेजस्तो दृष्टिविहीन साथीहरूलाई मागेर हिँड्नुपर्ने बाध्यता अहिले केही हटेको छ । अहिले आफैं स्वाबलम्बी भएर आफूले सक्ने व्यापार व्यवसाय, गीत गाउने तथा विभिन्न प्रकृतिका श्रम गरेर जीविका चलाइरहेका छन् ।

मंसिर ७, २०८२

अर्जुन धामी

'I only go home during Dashain and Tihar because it costs four to five thousand rupees to travel'

What you should know

नवलपुर — यो धर्तीमा जन्मिनुमा मेरो कुनै दोष छ जस्तो लाग्दैन । तर, बाँच्नका लागि मैले गरिरहेको दुःख हेर्दा चाहिँ कर्मै खोटो लाग्छ । जन्मैदेखि मेरो ९० प्रतिशत दृष्टिदोष थियो । बझाङको बुङ्गल नगरपालिका–१ मा जन्मिएको हुँ । त्यो दुर्गम ठाउँमा उपचार पाउने कुरा हामीलाई देउता फेला पार्नुसरी थियो । गाउँघरमा सानो घाउचोट लाग्दा उपचार मिल्थेन । त्यस्तो अवस्थामा आँखाको उपचार कसरी होस् ?

अभिभावकले पनि उपचारका लागि कहाँ लैजाने, पत्तो पाउनु भएन रे ! बुवा कामका लागि हिँडिरहनु पर्ने, आमाले घर अनि चार सन्तानको हेरचाह गर्दा मेरो उपचार हुन नसकेको होला । उपचार भएको भए यो सुन्दर संसार प्रस्ट देख्न पाउने थिए कि ! मनमा बरोबर यस्तो प्रश्न उठिरन्छ । अहिले धमिलो देख्छु । आफू जान्ने भएपछि उपचारको प्रयास गरे पनि निको भएन । 

आँखा नदेख्ने भएपछि अध्ययन गर्न पनि पाइएन । गाउँमा दृष्टिविहीन अध्ययन गर्ने विद्यालय थिएन । धमिलो देख्छु तर बस्तु र मानिस चिन्दिनँ । पैसा छामेर पत्ता लगाउँछु । शारीरिक अवस्था जस्तो भए पनि पेट पाल्नु नै पर्दो रहेछ । त्यसैका लागि अहिले गाउँगाउँमा सामान बिक्री गर्दै आइरहेको छु । हरपिक । धुप, सिसा सफा गर्ने सामान घरघर पुर्‍याउने काम गर्दछु । अचेल हामीजस्तै दृष्टिविहीन साथीहरू यहीँ काम गरेर जीविका चलाइरहनु भएको छ । त्यसैले घरघरमा पुग्दा पनि सामान बिक्री गर्न निकै मुस्किल छ । केहीले माया र हौसला प्रदान गर्न सामान खरिद गरेर प्रोत्साहन गर्नु हुन्छ । 

त्यही हो पहिलेजस्तो दृष्टिविहीन साथीहरूलाई मागेर हिँड्नुपर्ने बाध्यता अहिले केही हटेको छ । अहिले आफैं स्वाबलम्बी भएर आफूले सक्ने व्यापार व्यवसाय, गीत गाउने तथा विभिन्न प्रकृतिका श्रम गरेर जीविका चलाइरहेका छन् । व्यवसायकै क्रममा पूर्वदेखि पश्चिमका विभिन्न बस्तीमा पुगेको छु । हामीले काम गरेर खाएको देखेर धेरै मानिसले हौसला पनि दिनुहुन्छ । समाजमा हामीलाई हेर्ने दृष्टिकोण बदलिँदै गएकामा खुसी लाग्छ । 

समाजमा हामीलाई हेर्ने दृष्टिकोण बदलिँदै गएकामा खुसी लाग्छ ।अहिले म ४२ वर्षको भएँ । विवाह भएको ६ वर्षमात्र भयो । ४ वर्षकी छोरी र २ वर्षको छोरा छ । श्रीमती, छोराछोरी र बुवाआमा गाउँमा नै हुनुहुन्छ । दुई दाजुभाइ छुट्टिएका छौं, दुई दिदीबहिनी विवाह भएर आफ्नो घर गए । अहिले म चितवनको नारायणगढमा बस्छु । घरमा खेती त्यति हुँदैन । पाखोबारी छ । किनेर खानु पर्दछ ।

केटाकेटी साना छन्, उनीहरूको औषधि उपचार तथा आवश्यकता पूरा गर्नमा महिनामा सात–आठ हजार खर्च हुन्छ । केही रकम आफ्नै लागि खर्च हुन्छ । बचत गर्न निकै समस्या छ । घर जान–आउन नै चार–पाँच हजार खर्च हुन्छ, त्यसैले दसैं–तिहारमा मात्र घर जाने गर्छु । तीन–तीन महिनामा घर जान मन लाग्छ । तर, खर्च अभावमा जान सक्दिनँ । 

मोबाइलमा बोलेर परिवारको न्यास्रो मेटाउँछु । तराई भेगमा गर्मीमा निकै तातो हावा चल्ने हुँदा काम गर्न र गाउँगाउँ डुल्न पनि दुःख हुन्छ । जाडोमा फेरि हुस्सु लाग्दा व्यापार गर्न भित्री भेगमा जान निकै मुस्किल पर्छ । एकै दिनमा दश–बाह्र किलोमिटर हिँड्ने गर्दछु ।

तर पनि जीविकोपार्जनका लागि काम गरिरहेको छु । गरिब परिवारको मानिसले धेरै आशा गर्न पनि हुँदैन । छोराछोरी हुर्किएर आ–आफ्नो काममा नलाग्दासम्म मलाई रोग नलगोस्, काम गरेर खान सकुँ भन्ने मात्र इच्छा छ । तर, हिम्मत नहारी आफू र परिवारका लागि संघर्ष गरिरहेको छु । 

प्रस्तुति : नवीन पौडेल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

अर्जुन

Link copied successfully