‘काठ, आरन, इँटा र ढुंगा खेलाएरै जीवन बितिरहेको छ’

'मेरा पाँच छोरा, दुई बुहारी र एक नाति छन् । यति ठूलो परिवारलाई पाल्नका लागि यही सीपले साथ दिएको छ । मेरो कामले सधैं मिठो–मसिनो खान त पुग्दैन तर दुई छाक खान खासै समस्या छैन ।'

मंसिर ६, २०८२

सिद्धराज वड

'They are making a living by playing with wood, iron, bricks, and stones'

What you should know

डडेल्धुरा — मैले ७ कक्षासम्म मात्रै पढेँ । पढ्नुपर्छ भन्ने माहोल नभएर पनि होला– पढाइमा मन लागेन । विद्यालय नजाने भएपछि बुवा र दाइसँगै काठ, आरन र घर–चिनाइका काम सिक्न थालेँ । सुरु–सुरुमा यस्ता काम कठिन लाग्थे । हात फुट्थ्यो, काठ बिग्रिन्थ्यो, मस्तै थकाइ लाग्थ्यो । बिस्तारै सबै सिक्दै गएँ । आज ती सबै सीप मेरो जीवनको आर्थिक उपार्जनको आधार बनेका छन् । यो काम सिक्ने बेला म १७ वर्षको थिएँ । अहिले ४८ वर्षको भएँ ।

डडेल्धुराको अजयमेरु गाउँपालिका–३ मटेलाको बासिन्दा हुँ । पढाइ नभए पनि पराइले जीवनमा धेरै काम सिकेँ । मेरो गुरु भनेका बुवा र दाइ हुन् । उहाँहरूले सिकाइदिएको यही सीपले अहिले आएर छोराछोरी र परिवारलाई पालिरहेको छु । 

अजयमेरु गाउँपालिकाको मुकाम, भद्रपुर हो । अचेल म यही भद्रपुर बजारमा भाडामा लिएको सानो घरमा काठको काम गर्छु । यहीँ बसेर म झ्याल–ढोका, पलङ, दराज, खाट, सोफा, कुर्सीदेखि लिएर काठका साना–ठूला मूर्तिसमेत बनाउँछु । मैले प्रायः परम्परागत सीप उपयोग गर्ने गरेको छु । म आधुनिक उपकरणभन्दा परम्परागत साधनलाई हातले नै कुँदेर काठका सामग्री निर्माण गर्ने गर्छु ।

मेसिन प्रयोग गर्दा सामान छिटो तयार हुन्छन् तर भनेको जस्तो टिकाउ हुँदैनन् । हातले कुँदेर बनाएका काठका सामान बलिया हुन्छन् । धेरै ग्राहकले मन पनि पराउनु हुन्छ । त्यसैले धेरैले मैसित सामान अर्डर गर्छन् । ग्राहकको यही विश्वासले मलाई काम गर्न हौसला मिलिरहन्छ । 

भोजनभन्दा भोक मिठो भन्छन्, कामले थकित भएका बेला सामान्य दाल र भात पनि निकै मिठो लाग्छ ।अहिले विवाहको समय चलिरहेकाले दराज, पलङ, सोफा, कुर्सी–टेबलका अर्डर धेरै आइरहेका छन् । अन्य समयमा छिमेकी गाउँबाट पनि काम मिलिरहन्छ । यसबाहेक गाउँपालिकाको कार्यालयबाट पनि कहिलेकाहीं सोफा, कुर्सी बनाउनका लागि अर्डर आइरहन्छ । 

म घरबाट बिहान चिया–नास्ता खाएर काममा निस्कन्छु । घरबाट १५ मिनेट पैदल हिँडेर भद्रपुर पुगिन्छ । दिउँसो कहिलेकाहीँ घर गएर भात खान्छु, व्यस्त भएँ भने यहीँ मगाएर खान्छु । भोजनभन्दा भोक मिठो भन्छन्, कामले थकित भएका बेला सामान्य दाल र भात पनि निकै मिठो लाग्छ । साँझ घर फर्किंदा दैनिक खर्चका केही सामग्री जस्तो चामल, दाल, तरकारी, नुन र तेल लिएकै हुन्छु ।

मेरा पाँच छोरा, दुई बुहारी र एक नाति छन् । यति ठूलो परिवारलाई पाल्नका लागि यही सीपले ठूलो साथ दिएको छ । ठूलो परिवार छ, यो कामले सधैं मिठो–मसिनो खान त पाइन्न । दैनिक धेरै पैसा पनि हुँदैन, तर दुई छाक खान खासै समस्या छैन ।

अब मेरा दुई छोराले पनि यही सीप सिक्न थालेका छन् । पुर्ख्यौली सीप जोगाउनका लागि छोराहरूलाई पनि यही सीप सिकाइरहेको छु । पुरानो सीप पुस्ता दरपुस्तामा जाओस् भन्ने सोचेर म उनीहरूलाई सिकाइरहेको छु । तर, स्थानीय सरकारले पनि यस्ता सीप हस्तान्तरणका लगि विशेष योजना ल्याउनु पर्छ जस्तो लाग्छ । बिहान चिया–नास्ता गरेर काममा निस्कनु अनि दिउँसो सामान्य खाना, बेलुकी घरको दुध–दही–मोही र तरकारीसँग रोटी– यत्ति खान पाए दिनभरिको थकान आफैं मेटिएर जान्छ ।

प्रस्तुतिः तर्कराज भट्ट

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

सिद्धराज वड

Link copied successfully