‘न भोलि खानलाई अन्न छ, न त फेरफार गर्न लुगा नै’

'हामीलाई एउटामात्र दुःख छैन । दुःखमाथि दुःख आइपर्छन् । घर एककोठे छ । त्यसैमा सुत्ने र खाना पकाउने र खाने गर्छौं । त्यही कोठा पनि एकातिर भत्किएको छ । राम्रोसँग पेटभरि खान जुटाउन त नसक्ने मान्छेले यो घर कसरी टालूँ !'

मंसिर ३, २०८२

गोरी सार्की

”There is neither food to eat tomorrow, nor clothes to change.”

What you should know

डोल्पा — म डाँडामाथिको जूनजस्तै भइसके । कतिबेला स्वास फुत्त जाने हो, पत्तै छैन । आज हो कि भोलि भन्दै दिन बिताइरहेकी छु । मेरो सहारा भनेको एउटा छोरो छ । परिवारमा हामी दुई जनामात्र छौं । यही छोरालाई पनि चोटपटक लागिरहन्छ । दुईपटक त खुट्टा नै भाँचिसक्यो । एक पटक हात भाँचियो । तैपनि मेरो आस भरोसा र मुखमा माड हाल्ने यही छोरो हो ।

अहिले त मेरो शरीरको ऊर्जा पनि दिनप्रतिदिन घटिरहेको छ । अचेल त एक पाइला हिँड्न पनि मुस्किल हुन्छ । घरमा कमाइ कजाइ गर्ने त्यही छोरोबाहेक कोही छैन । थोरै जग्गा थियो । त्यो जग्गा पनि काम गर्ने मान्छे नभएपछि बेचेर खाएर सिध्यायौं । म सानो हुँदादेखि अर्काको हलो जोतेरै हाम्रो परिवार पालिएको थियो । अहिले पनि अवस्था उस्तै छ । 

प्रत्येक दिन अर्काको काम गर्ने र साँझ ल्याएको मानोमुठी पकाएर खाएर जीवन गुजारा गर्ने गर्छौं । ऊबेला अलि शक्ति थियो । अहिले शक्ति सबै घट्यो । बिहान खाऊँ भने बेलुका हुन्न । बेलुका खाऊँ भने बिहान हुन्न । सकेका दिन त्यही छोरा मजदुरी गर्न जान्छ । त्यहाँबाट ल्याएको अन्नले आमाछोराको जीवन गुजारा गर्दै आएका छौं । 

हामीलाई एउटामात्र दुःख छैन । दुःखमाथि दुःख आइपर्छन् । घर एककोठे छ । त्यसैमा सुत्ने र खाना पकाउने र खाने गर्छौं । त्यही कोठा पनि एकातिर भत्किएको छ । राम्रोसँग पेटभरि खान जुटाउन त नसक्ने मान्छेले यो घर कसरी टालूँ ! भत्केको घर टाल्न पाए हिँउदको कठ्याङ्ग्रिदो चिसोमा तातो हुन्थ्यो होला । वर्षामा पानी चुहिन्छ, त्यही भत्केको ठाउँबाट । एक त घर थोत्रो र त्यसमा पनि ओढ्ने ओछ्याउने कपडा भन्ने केही छैन । दुवै आमाछोराको शरीरले नयाँ र बाक्लो लुगा लगाउन नपाएको वर्षौं भयो । कहीँकतैबाट मागजाग गरी ल्याएका लुगाफाटो लगाउँदै आएका छौं । अब यो वर्ष हिँउद लागिसक्यो । चिसोले खपिनसक्नु हुन्छ ।

कहिलेकाहीँ त भगवान‍्लाई पनि सराप्न मन लाग्छ । यस्तो किन गरेको- कोही एक छाक खान पाउँदैनन् । कोही भने के खाने भनेर चिन्ता गर्छन् ।डोल्पामा पुस, माघ र फागुनमा दिनरात काट्नै मुस्किल हुन्छ । कसैले तातो कपडा ल्याइदिए यो जाडो काटिन्थ्यो जस्तो लाग्छ । आफूसँग लुगा किन्ने पैसा छैन । यस्तो अवस्थामा हामीजस्ता गरिबलाई कसले सहयोग गर्ला र ! आफ्नो यस्तो अवस्था देख्दा दुवै आमाछोरा छिटो मर्न पाए हुन्थ्योजस्तो लाग्छ । मेरो यो अवस्था छ । 

मेरो श्रीमान् बितेको पनि ३० वर्षभन्दा धेरै भइसक्यो । उहाँ हुँदा कम्तीमा मागजाग गरेर ल्याएर पनि पेटभरि खान दिनु हुन्थ्यो । अहिले हामी बेसहारा छौं । आगो बाल्ने दाउरा ल्याउने र पानी ल्याउने मान्छेसम्म छैन । तीन–चार वर्षअघिसम्म लड्दैपड्डै दाउरा खोजेर ल्याउँथेँ । अहिले त्यही काम पनि गर्न सक्दिनँ । छोरो कामबाट फर्किंदा दाउरा ल्याउँछ र त्यसैले आगो ताप्छौं अनि त्यही आगोमा खोले, फाँडो पकाएर खान्छौं । हामीलाई न सरकारले हेर्छ, न गाउँघरले । छोरो पनि ५५ वर्षको भइसक्यो । यही छोरो नसक्ने भएर थलियो भने भोकभोकै मर्नुबाहेक विकल्प छैन । कहिलेकाहीँ त भगवान‍्लाई पनि सराप्न मन लाग्छ । यस्तो किन गरेको- कोही एक छाक खान पाउँदैनन् । कोही भने के खाने भनेर चिन्ता गर्छन् । हामीजस्ता दुःखी गरिबका दिन कहिल्यै पनि आउलान् जस्तो लाग्दैन । 

अरूलाई सरकारले घर बनाइदियो भनेर सुन्छु । मेरो घर भत्केको वर्षौं भइसक्यो, मलाई कसैले घर बनाइदिएको छैन । सरकार पनि हुनेखाने र धनीमात्र हेर्छ कि क्या हो ! छोरो काममा गएका बेला दिनभर छट्पटिन्छु । भोक लाग्छ, प्यास लाग्छ । धाराको पानी सारेर पनि दिने मान्छे कोही हुँदैनन् । साथमा बस्ने त कहाँ खोजौं ! जति भोक र प्यास लागे पनि त्यही छोरो कुरेर बस्नुपर्छ । 

साँझपख छोरो अर्काको काम गरेर थाकेर आउँछ । लामो सुस्केरा हाल्दै आगो जोर्छ र पकाएर खान दिन्छ । यही छोरो साथमा नभएको भए म उहिल्यै भोकभोकै मर्थें होला । मेरा लागि त यही छोरा भगवान् सरह हो । धेरै बूढी भएर होला । कहीलेकाहीँ त दिसा पिसाब आएको पनि थाहा पाउँदिनँ । कहिलेकाहीं त यसरी बाँच्नुभन्दा मर्नु बेस भन्ने पनि लाग्छ । के गर्नु काल बोलाएर आउने होइन, कुन दिन टपक्क टिपेर लान्छ, पत्तै पाइँदैन । तैपनि ए काल ! छिटो आइजा र लैजा भनी भगवानसँग पुकार भने सधैं गरिरहन्छु ।

प्रस्तुति : रामचन्द्र न्यौपाने

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

गोरी

Link copied successfully