‘गहुँ खेत मासेर तरकारी खेती, सुविस्ताले पुगेको छ खान र लाउन’

यही तरकारी खेतीबाट चार छोरा र दुई भान्जीलाई पढाइरहेको छु । जेठो छोरो स्नातक तह पढ्दा पढ्दै विदेश गयो । एक छोरोलाई ओभरसियर, अर्कोलाई जेटीए र एक छोरो हेल्थ असिस्टेन्ट पढ्दै छ ।

मंसिर १, २०८२

चिन्तामणी भट्ट

'Weeding wheat fields and cultivating vegetables, Subista has enough to eat and wear'

What you should know

बैतडी — चाहने हो भने आफ्नै गाउँठाउँमा पनि धेरै गर्न सकिने रहेछ । परिवारसँगै दुःखसुख साटेर विदेशको भन्दा राम्रो कमाइ गाउँघरमै गर्न सकिने रहेछ । म ४७ वर्षको भएँ । मेलौली नगरपालिका–६, हतरंगामा मेरो घर छ । मैले तरकारी खेती गर्न लागेको २० वर्ष जति हुन लाग्यो ।

घरखर्च चलाउन अहिलेसम्म आफ्नै खेतबारीबाहेक बाहिर गएको छैन । सशस्त्र द्धन्द्ध भएका बेला मैले पढाइ पूरा गर्न सकिनँ । मणिलेक माविमाबाट कक्षा ११ सम्म मात्र पढेको हुँ । पहिलेदेखि बुबाबाजेले गर्दै आएको कृषिबाटै जीविकोपार्जन गरौंला भनी सोचेर नै म जागिरका लागि कतै पनि भौंतारिइनँ । बुबाबाजेले फलाउने भनेको मकै, कोदो र गहुँ मात्र हो । सिजन अनुसारको तरकारी पनि लगाउने गर्थे । तर त्यो फलाएको तरकारी घरका लागि मात्रै हुन्थ्यो । 

मैले यही पेसालाई व्यावसायिक रूपमा आधुनिक तरिकाले गरे घरखर्च कसो नचल्ला भनेर सोचेर मकै, कोदो र गहुँ फल्ने खेतमा तरकारी लगाउन सुरु गरेको हुँ । मेरो घरको आर्थिक अवस्था कमजोर भएकाले तत्काल आधुनिक तरिकाले तरकारी खेती गर्न सक्ने अवस्था पनि थिएन । मलाई पनि आधुनिक तरिकाले खेती गर्ने ज्ञान थिएन । त्यही परम्परागत तरिकाले तरकारी खेती सुरु गरेँ । 

गाउँका सबैले मलाई गहुँ, मकै फल्ने खेतमा तरकारी लगाएर तरकारी नै खाएर परिवार पाल्ने हो कि भनेर भन्ने गर्थे । घरमा बुबाले पनि तरकारी खेतीबाट गुजारा चल्ने हैन भन्थे । जब मैले तरकारी बेचेर पैसा कमाउन थालेँ, त्यसपछि मात्र बुबा पनि तरकारी खेती ठिक रहेछ भन्न थाले । 

चार–पाँच वर्ष परम्परागत तरिकाले नै तरकारी खेती गरेँ । घरमा चाहिने भन्दा बाँकी बजार र गाउँघरतिर गएर बेच्न सुरु गरेँ । मसँगैका साथीभाइहरू कोही भारत त कोही अन्य देश गए, मचाहिँ यही बाबुबाजेले थन्क्याएको खेतबारीतिर लागेँ । तर म मेरो पेसाबाट एकदम सन्तुष्ट छु । 

गाउँमा एक संस्थामार्फत दिगो भूव्यवस्थापन कार्यक्रम संचालन भयो । मलाई पनि यो कार्यक्रममा समावेश गरियो । जहाँ म अगुवा कृषक भएर काम गरेँ । मैले कार्यक्रमबाट आधुनिक तरिकाबाट गरिने तरकारी खेतीसम्बन्धी धेरै कुरा सिक्न पाएँ । जसबाट म झन् तरकारी खेती गर्न प्रेरित भएँ ।

आधुनिक तरिकाले तरकारी खेती गर्दा प्रशस्त फल्न थाल्यो । यसले गर्दा मेरो आम्दानी पनि राम्रै भयो । अहिले त मबाट अरू गाउँका धेरैले सिकेर तरकारी खेती गर्न थालेका छन् । मेरो घरमा आमा, श्रीमती र चार छोरासँगै दुई भान्जी पनि छन् । अहिले त मलाई लाग्छ– मिहिनेत गरे आफ्नै गाउँघरमा बसीबसी विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिने रहेछ । 

मैले यही तरकारी खेतीबाट चार छोरा र दुई भान्जीलाई पढाइरहेको छु । जेठो छोरो स्नातक तह पढ्दा पढ्दै विदेश गयो । एक छोरोलाई ओभरसियर, अर्कोलाई जेटीए र एक छोरो हेल्थ असिस्टेन्ट पढ्दै छ । धानखेत मासेर तरकारी खेती गरेको थिएँ, बडो सुविस्ताले पुगेको छ खान र लाउन ।

यो सब खर्च मैले यही तरकारी खेतीबाटै कमाएको हो । म शुद्ध अर्गानिक तरकारी उत्पादन गर्छु । मैले उत्पादन गरेको तरकारी स्थानीय मेलौली र लामालेक बजारसँगै तराईतिर पनि बिक्री हुने गर्दछ । अहिले म अरू किसानलाई पनि अर्गानिक तरिकाले गरिने तरकारी खेतीसम्बन्धी तालिम पनि दिन्छु । 

गाउँमा हामीले अहिले कृषक समूह पनि गठन गरेका छौं । गत वर्ष मैले कृषिज्ञान केन्द्रबाट अनुदान पाएको थिएँ । त्यहीबाट समूहका सदस्यलाई स्थायी पोलिहाउस वितरण गरेँ । मैले पनि तुलसा कृषि तथा पोल्टी फर्म खोलेर अहिले यसैबाट विभिन्न कार्यक्रम गरिरहेको छु । म मौसमी र बेमौसमी तरकारी उत्पादनसँगै तरकारीको बीउ पनि उत्पादन गर्दछु । गाउँका अरू किसान पनि मेरै फर्मबाट तरकारीको बीउ खरिद गर्छन् । 

मिहिनेत गरे आफ्नै गाउँघरमा बसीबसी विदेशको भन्दा पनि राम्रो कमाइ गर्न सकिने रहेछ ।हाम्रोतिर हाट बजार लाग्दैन । हाट बजार लाग्ने भए हामीले फलाएको तरकारीको व्यापार अझै बढ्ने थियो । हाम्रोमा लाग्ने भनेको दुई दिनको जात्रा (मेला) हो । यो जात्रामा मेरो तरकारी खुब खपत हुन्छ । अहिले त मलाई विभिन्न संघसंस्था र स्थानीय तहले पनि सहयोग गर्दैछन् । 

अहिले मैले कुखुरा फर्म पनि संचालन गरेको छु । स्थानीय र बोइलर दुवै जातका कुखुरा छन् । पछिल्लो समय तरकारी खेतीमा बँदेलले सखाप पार्न थालेको छ । बँदेलले साह्रै दुःख दिने गर्दछ । बँदेल नियन्त्रणका लागि घेरबार गर्ने योजना बनाएको छु । तर आर्थिक अभावले गर्दा यो योजनामै सीमित छ । केही ऋण पनि तिर्न बाँकी छ । यसले गर्दा पनि बँदेलका लागि तारबार गर्न सकिरहेको छैन । 

मैले शुद्ध फलाएको अर्गानिक तरकारी उपभोक्तालाई बेच्दा म मेरो पेसालाई सेवा पनि सम्झिन्छु । कृषि जेटीए पढेको छोराले पनि मलाई धेरै कुरा सिकाउँछ । यो पेसाले गर्दा मलाई आर्थिक अभाव हुन दिएन । अहिले त धेरै प्रविधि आइसकेको छ । खनजोत गर्न हाते ट्याक्टर छ । काम गर्न पनि सजिलो छ । घरमा श्रीमतीले गाईभैसी पालेकी छन् । 

म मेरो खेतमा यिनै गाईभैसीको मल प्रयोग गर्छु । पछिल्लो समय धेरैजसो किसानले आफूले उत्पादन गर्ने तरकारीमा विषादी हाल्ने गरेका छन् । म सबैलाई विनम्र आग्रह गर्छु कि कमसे कम हामी किसानले उत्पादन गरेको तरकारी अर्गानिक होस्, विषादीरहित होस् । 

प्रस्तुति : मोहन चन्द

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस् 

चिन्तामणी भट्ट

Link copied successfully