‘मेसिनले एकैछिनमा सबै काम गर्ने भएकाले आरन सुनसान छन्’

यो आरनको काम साह्रै गाह्रो हुन्छ । केही वर्षपछि आरन गर्ने मान्छे नहुने हुन् कि जस्तो लाग्छ ।

कार्तिक ३०, २०८२

मंगल बराइली

”Aran is lonely because the machine does everything at once.”

What you should know

काठमाडौँ — म आरने हुँ । विद्यालय जाने उमेरबाटै यो काम गर्न थालेको हुँ । काम थाल्ने बेलामा १५ वर्षको थिएँ । आरनमा काम गर्न थालेकै ३१ वर्षजति भयो । अहिले म ४६ वर्षको भएँ । शिवपुरी गाउँपालिका–५ नुवाकोटमा मेरो घर छ । अहिले टोखाको पन्चेटारमा टिनको सटरजस्तो बनाएको छु । त्यहीँ आरन चलाएर जीवीकोपार्जन गरिरहेको छु ।

मेरा दुई छोरा छन् । दुवै जना अहिले विदेशमा छन् । यहाँ श्रीमती, नाति, बुहारी गरेर चार जना बस्छौं । आरनबाट हुने आम्दानीले बल्लतल्ल घरखर्च धानेको छु ।

मानिसहरूले पहिला पो खेती किसानी गर्थे, त्यसका लागि कुटो, कोदालो बनाउँथे, फाली बनाउँथे, दाउरा चिर्नलाई गाउँघरमा बन्चरो चाहिन्थ्यो । ती सामग्री बनाउन आरनसम्म आउने धेरै हुन्थे । अहिले सबै थोक विदेशबाट आउँछन् । अनि खेत जोत्न हलो नचाइने जमाना आयो । मेसिनले एकैछिनमा सबै काम गर्दिन्छ । त्यही भएर पनि आरनको खासै व्यापार छैन ।

भनेको जस्तो आम्दानी नभएर नै त होला– मान्छेहरू विदेश जान थालेका । हुन पनि हो, घरखर्च गर्नै मुस्किल भएपछि त कसको के लाग्छ ? पैसा के गर्दा आउँछ भनेर उपाय त खोज्नु पर्‍यो । अहिलेको महंगीमा छोराछोरी पढाउनै पर्‍यो । कति महंगो छ अहिलेको पढाइ पनि फेरि । अनि घरखर्च चलाउँदा छोइसाध्य हुन्न । त्यही भएर पनि विदेश जानेको जमात बढ्यो । पहिला त गाउँघरमा आरन नै घरैपिच्छे देखिन्थे । अहिले त खासै भेटिँदैनन् एक/दुई भन्दा ।

सबै विदेश जान लागे । अब आफ्नो बाउबाजेले गर्दै आएको काम को गर्छ भन्ने पनि हुन्छ होला नि जस्तो लाग्छ । यो आरनको काम सारै गाह्रो हुन्छ । केही वर्षपछि आरन गर्ने मान्छे नहुने हुन् कि जस्तो लाग्छ । म सानो हुँदादेखि नै हाम्रो घरमा बाले आरनको काम गर्नुहुन्थ्यो । मैले मेरो बाले गरेको काम देखेर, हेरेर नै यो काम सिकेको हुँ । अहिले यही कामले घर धानेको छु ।

सबै काममा दुःख छ । जिन्दगी चलाउन  यस्ता दुःखलाई सहेरै हिँड्नपर्ने रहेछ मेरो भाइ नुवाकनोटमै बस्छ । उसले पनि गाउँमा त्यही काम गर्छ । हामी त दाजुभाइ दुवै जना एउटै काम गर्छौं । म काठमाडौंमा गर्छु । ऊ गाउँमा । बस् फरक यत्ति मात्र हो । तर घर हामी दुवैको जसोतसो यही आरने पेसाले चलेकै छ भनम् न । दुवै जना सन्तोष मानेर नै काम गरिरहेका छौं । 

ग्राहकको अर्डर आए त फलामको जस्तो पनि सामान बनाउन सक्छु । कुटो, कोदालो, खुकुरीका सामान बनाइदेऊ भने त राम्रै हुन्थ्यो नि, आम्दानी । अहिले त खासै अर्डर नै आउँदैन । एउटा सानो आँसी बनाएको १ हजार जति पर्छ । फलाम पनि उस्तै महंगो छ । कोइला झन् छोइखानु नै छैन । एक बोरा कोइलाकै पर्छ ५ सय त अनि कताबाट बचत गर्नु । कोइला, फलाम गर्दै सकिन्छ । यही टिनको सटरको र कोठा गरेर ७ हजार भाडा तिर्नुपर्छ । बस्ने काम गर्ने ठाउँ पनि मेरो गाउँ जाने बाटोमै छ । पाहुना आउनुहुन्छ । मिठोमसिनो दिनै पर्‍यो ।

मसँग अनुभव र क्षमता भएर नै त होला एकपल्ट आएको ग्राहक अरु सामान बनाउन फर्केर फेरि यहीँ आउनुहुन्छ । त्यही कुराले खुसी दिन्छ । गाह्रो त आफ्नो आफ्नो ठाउँमा सबैको पेसामा हुन्छ नै । मैले गर्ने काममा हात पोलेर बस्न खान हुँदैन । जति दुखे पनि सहनै पर्‍यो । ठूलो ठूलो सामान बनाउँदा हातैभरि थिलथिलो हुन्छ । टन्टलापुर घाममा पनि पसिना चुहाउँदै भए पनि काम त गर्नै पर्‍यो । जस्तो मौसममा नि काम त गर्नै पर्‍यो ।

के गर्नु दुई छाक खानलाई सबैले काम गर्नैपर्छ । हात दुख्यो काम गर्दिनँ भनेर भएन । मेरो हात दुखेजसरी नै भारी बोक्ने भरियाको टाउको दुख्दो हो । सबै काममा दुःख छ । जिन्दगी चलाउनका लागि यस्ता दुःखलाई सहेर हिँड्नपर्ने रहेछ भन्यो, काम गर्यो । यस्ता कुराको बानी परिसक्यो अब त । मन बुझाउनै पर्दैन, आफैं बुझ्छ । हामीजस्ता सर्वसाधारणको काम नगरी केको चुलो बल्थ्यो र हाम्रो देशमा ? लक्ष्मीप्रसाद देवकोटाको एउटा कविता थियो नि हाम्रो बाले पहिला खुब सुनाउनु हुन्थ्यो मलाई । 

‘सानो छ खेत, सानै छ बारी, सानै छ जहान, नगरी काम पुग्दैन खान साँझ र बिहान ।’ 

बाले मलाई ‘तँसँग सीप छ, काम गर् भनेको’ अहिले पनि खुब याद आउँछ । त्यही भएर पनि कहिल्यै विदेश जान्छु भन्ने सोच मेरो दिमागमा आएन । जति संघर्ष गरे पनि सीप छ, आफ्नै देशमा हात खियाउँछु, काम गर्छु भन्ने भयो । काम गरेर अहिलेसम्म यही आरनले नै घर चलेको छ । सपना त्यही हो– सन्तानको सधैं भनेजस्तो होस् । देश विकास होस् । हात पाखुरा चल्ने बेलासम्म मेरो काम चलिरहन्छ । आफूले जानेको काम गरेर खाने र बस्ने जुगाड भएकै छ । बस्, यसमै म खुसी पनि छु ।

प्रस्तुतिः आरती पौडेल

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

मंगल

Link copied successfully