‘दिनमा ९ घण्टा काम गरेर पढाइलाई निरन्तरता दिइरहेको छु’

अहिले पढाइका साथसाथै मेडिकल स्टोरमा काम गर्छु । अन्यत्रभन्दा यहाँ अलिक सहज छ । ७ हजारबाट बढेर अहिले महिनाको १५ हजार तलब पुगेको छ । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म यहीँ काम गर्छु । बाँकी समयमा पढ्छु ।

कार्तिक २८, २०८२

एलम्बरहाङ राई

'I am continuing my studies by working 9 hours a day'

What you should know

धरान — अहिले त स्नातक अध्ययनका लागि भर्ना हुने विद्यार्थीको संख्या कम हुँदै गएको छ । मेरा साथीसँगीले पनि बाह्र कक्षा पास गरेपछि विदेशिने तयारी गरेको देखेँ । हुन त नेपालमा बसेर ढुक्कसाथ पढ्ने वातावरण नै छैन । एकातिर पढाइ, अर्कोतिर खान–लाउनकै चिन्ता हुन्छ । त्यसमाथि परिवारको रेखदेख गर्ने जिम्मेवारी आइपर्‍यो भने झन् तनाव र चिन्ता थपिन्छ ।

म पनि विद्यार्थी हुँ । महेन्द्र बहुमुखी क्याम्पसमा स्नातक तेस्रो तहमा अध्ययनरत छु । साधारण परिवार भएकाले सानैबाट काम गर्नुपर्ने बाध्यता आइपर्‍यो । काम नगरे खानै नपाइने चिन्ता हुन्थ्यो । अभावै अभावमा हुर्किएको हुँ । त्यसैले अलिकति भए पनि आर्थिक भार कम परोस् भनेर कलेज पढ्दादेखि अतिरिक्त समयमा काम गर्दै आएको छु । 

पढ्दै कमाउँदै आफ्नो र घरको खर्चमा सघाउने गर्छु । मेरो घर बराहक्षेत्र हो । अहिले धरानमा कोठा भाडा लिएर बसेको छु । अहिले २४ वर्षको भएँ । मसँगैका पढेका धेरै साथीहरू विदेश गइसके । विदेशमा उनीहरू राम्रो कमाइ गरिरहेका छन् । म छाक जुटाउन संघर्ष गरिरहेको छु । 

नेपालमा त्रिभुवन विश्वविद्यालयमा भर्ना हुनु भनेको श्रापजस्तै रहेछ । न समयमा परीक्षा हुन्छ, न रिजल्ट नै निकाल्छ । चारवर्षे कोर्ष पूरा गर्न कम्तीमा ५ वर्ष लाग्छ । विश्वविद्यालयको लापरबाहीले धेरै विद्यार्थी मानसिक तनावबाट पनि गुज्रिनु परिरहेको छ । म पनि त्यसमै पर्छु । नेपालमा बसेर पढ्ने सोच बनाएँ । अहिले आएर समय बर्बाद त गरिरहेको छैन जस्तो पनि लाग्छ । धेरैले विदेश नगई हुँदैन, एकदिन त जानु नै पर्छ, बरू समयमै गएको राम्रो भनेर उपदेश दिने गर्छन् । यस्तो ज्ञान बाँड्नेको यहाँ कुनै कमी छैन । यसले गर्दा कहिलेकाहीँ मन भाँडिएजस्तो पनि हुन्छ । यसो सोच्छु– नेपालमा जति नै काम गरे नि अन्तिममा परिवार धान्न नै गाह्रो हुने रहेछ । घरमा सबै जना पढ्ने भएकाले घरखर्चमै समस्या छ । त्यसैले आफ्नो खर्चका लागि पढ्ने र काम पनि सँगसँगै गर्ने गरिरहेको छु ।

मसँगैका साथीहरू विदेशमा राम्रो कमाइ गरिरहेका छन् । म भने यहाँ छाक जुटाउन संघर्ष गरिरहेको छु ।मैले केही समय होटलमा पनि काम गरेँ । होटलमा दैनिक १३/१४ घण्टा काम गर्नु पर्थ्यो । एकछिन बस्न पाइँदैन थियो । काम नै नहुँदा पनि बस्न पाइँदैन थियो । सुरुमा त खुट्टा नै सुनिन्थ्यो । त्यति काम गर्दा पनि महिनामा १० हजार मात्रै हात लाग्थ्यो । ८ हजारबाट सुरु गरेको त्यो जागिर पछि बढाएर १० हजारसम्म पारिश्रमिक पुर्‍याएको थियो । यो मेरो मात्र पीडा थिएन, त्यहाँ काम गर्ने सबैको उस्तै थियो ।

हाम्रो शिक्षा प्रणालीमा भविष्य बनाउन ज्यादै गाह्रो छ । एउटा साधारण परिवारको मान्छेलाई त झनै गाह्रो छ । अर्काकोमा काम गरेर मरेर पनि हामी विद्यार्थीले महिनामा २५/३० हजार कमाउन सक्दैनौं अनि कसरी घरखर्च चलाउने भन्ने चिन्ता थपिन्छ । 

अहिले पढाइका साथ मेडिकल स्टोरमा काम गर्छु । अन्यत्रभन्दा यहाँ अलिक सहज छ । ७ हजारबाट बढेर अहिले महिनाको १५ हजार तलब पुगेको छ । बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म यहीँ काम गर्छु । काम गर्दै पढाइ खर्च, घर खर्चमा सहयोग गरिरहेको छु । तर पैसा बचत भने गर्न सकेको छैन ।

ट्याम्पु भाडा र खाजा गरेर दिनमै २ सय सकिन्छ अनि घरको खर्च, बिजुली बत्ती, पानी, सागसब्जी गर्न यो तलबले ठिक्क पुगेको छ । नेपालमा काम गरे अनुसार पैसा छैन र पढेपछि भविष्य सुनिश्चित हुन्छ भन्ने ठेगान पनि छैन । एक त काम पाउन गाह्रो र काम पाए त्यसअनुसार तलब पाउन ज्यादै समस्या छ ।

प्रस्तुति : एलिना राई

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्

एलम्बरहाङ

Link copied successfully