नियमित काम गर्ने जागिर छैन । पहिले पहिले काम सजिलै पाइन्थ्यो । तर अहिले त कामै पाइन छाडेको छ । काम खोज्दै जाँदा कहिलेकाहीँ त रित्तो हात फर्किनुपर्छ ।
What you should know
पाल्पा — कमाएर खाने खेत छैन । बारी पनि नाम मात्रकै छ । अहिले थोरै बारी किनेका छौं । तर पनि कमाएर खान पुग्ने गरी छैन । दैनिक खर्च चलाउन धेरै मुश्किल छ । दैनिक ज्याला मजदुरी नगर्ने हो भने घरमा चुल्हो बाल्नै मुस्किल छ ।
अहिले ३२ म वर्षकी भएँ । पाल्पाको बगनासकाली गाउँपालिका–१, चिर्तुङधारा घोरबन्दाको गैराटोलमा परिवारसहित बस्छौं । मेरो माइतीघर नजिकै सिमलडाँडामा छ । मैले १५ वर्षअघि बिहे गरेकी हुँ । दुई छोरा छन् । सानो छोराले यूकेजीमा पढ्छ भने ठूलो छोरा ८ कक्षामा पुगेको छ । श्रीमान् पहिले सवारी चालकको काम गर्नु हुन्थ्यो । अहिले साढे दुई वर्ष भयो, विदेश गएर फर्किनु भएको छ ।
नियमित काम गर्ने जागिर छैन । पहिले पहिले काम सजिलै पाइन्थ्यो । तर अहिले त कामै पाइन छाडेको छ । काम खोज्दै गयो भने कहिलेकाहीँ रित्तो हात फर्किनुपर्छ । अर्कोतर्फ गाउँघरमा पनि खेताला जानका लागि सधैं काम पाइँदैन । सिजन अनुसारको काम गर्नुपर्छ । दैनिक ज्यालादारीको काम गर्न हिँडे पनि ज्याला सस्तो हुँदा गुजारा गर्न समस्या छ ।
बिहानै उठेर टिफिनमा भात बोकेर काम खोज्न जाने हाम्रो दैनिकी जस्तै हो ।हाम्रो टोलमा कुमाल समुदायको बस्ती छ । अधिकांश कुमाल समुदायका महिला तथा पुरुष काम खोज्दै बजार जाने गर्छन् । बिहानै उठेर टिफिनमा भात बोकेर काम खोज्न जाने हाम्रो दैनिकी जस्तै हो । पछिल्लो समय कतिपयका छोराछोरी विदेश जान थालेका छन् । त्यसैले काम गर्न हिँड्नेको संख्या पनि कम छ ।
हामीजस्ता मजदुरको पीडा बुझ्ने कोही छैन । १० वर्षअघिसम्म कामदारले काम पाउन खासै समस्या थिएन । दिनका दिन महँगी बढेको छ । महिला भनेर पुरुषको जति ज्याला पनि दिँदैनन् । हामीलाई १० बजेदेखि ५ बजेसम्म काममा लगाउँदा ४ सय मात्रै ज्याला दिन्छन् । आफैंले पैसा जोहो गरेर खोर पनि बनाएँ । एउटा ठिक्कको बोका पनि ल्याएकी छु । अहिले एउटा माउले बच्चा पाएको छ । अब अरु पनि बच्चा पाउने हुन लागेका छन् । बाख्रा पालेर पनि आम्दानी गर्न सकिन्छ कि भन्ने लागेको छ । अब कुखुरा पनि पाल्ने योजना बनाएकी छु । हाँस पनि पाल्छु । हाँस र कुखुराको मूल्य पनि राम्रो छ । पाल्न सक्यो भने खसीबोकाको पनि मूल्य राम्रो पाइन्छ ।
सबै कुरा महँगो हुँदै गएकाले गुजारा गर्न पनि धौ धौ भइसकेको छ । पछिल्लो समय म निगरानी समूहमा बसेकी थिएँ । तर समय दिन भ्याएकी छैन । तैपनि टोल, समाज, गाउँका दिदीबहिनीसँग यस्ता सामाजिक काममा आबद्ध हुन मन लाग्छ । तर काम गर्न नगए चुल्हो बल्दैन । समस्या भनेकै महँगी बनेको छ । सरकारले महँगी बढ्न नियन्त्रण किन नगरेको होला भन्ने लाग्छ ।
प्रस्तुति : माधव अर्याल
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
