दुई दशकअघि मैले दुई/चार रोपनी जग्गाबाट व्यावसायिक तरकारी खेती सुरु गरेको थिएँ । अहिले त्यसलाई विस्तार गर्दै उचाल्नेमा ४० र ढोडचौरमा १७ गरी ५७ रोपनी पुर्याएको छु ।
What you should know
सल्यान — कमाइधमाइ केही नभएकाले बुवा–आमाले पनि पाखोबारीमा मरिमेटी काम गर्नु हुन्थ्यो । दिनैपिच्छे काम नगरे भरे/भोलि के खाने भन्ने समस्या हुन्थ्यो । त्यसैले मैले पनि ६/७ वर्षको उमेरबाट बुवाआमाले खेतीपाती गरेको देखेर सिको गर्न मन लाग्थ्यो । त्यसैले काममा पनि कहिलेकाहीं सघाउने गर्थें ।
मेरो उमेर २० पुगेपछि मलाई पनि कृषि कर्ममा रुचि बढ्यो । खान लाउन समस्या भएकाले आफूले रोजेअनुसार पढ्न पाइएन । पढाइ खर्च जुटाउन गाह्रो हुँदा विद्यालयमा कक्षा ८ मा पढ्दै गर्दा मैले १४/१५ वर्षको उमेरमा २०५५ सालमा करेसाबारीमा तरकारी लगाउन सुरु गरेँ । सिद्धकुमाख गाउँपालिका–३, ढोडचौरमा मेरो बसोबास छ । उत्पादित तरकारी बेचेर पढाइ खर्चका लागि केही रकम जुटाइ २०५८ तिर एसएलसी उत्तीर्ण गरेँ । त्यसपछि माथिल्नो तहको पढाइ खर्च जुटाउन हम्मेहम्मे भयो । पढ्ने वातावरण नभएपछि सामान्य ज्ञानकै भरमा २०६३ मा व्यावसायिक तरकारी खेतीमा लागेँ । त्यही बचपनको रुचिले अहिले मलाई कृषक बनायो । त्यही रुचि मेरो जीवनको आय आर्जनको महत्त्वपूर्ण पाटो बन्यो ।
अहिले मैले सात जनाको परिवार मात्रै पालेको छैन, १५ जनालाई रोजगारीसमेत दिएको छु ।उमेरले अहिले ४३ वर्षको भएँ । दुई दशकअघि मैले दुई/चार रोपनी जग्गाबाट व्यावसायिक तरकारी खेती सुरु गरेको थिएँ । अहिले त्यसलाई विस्तार गर्दै उचाल्नेमा ४० र ढोडचौरमा १७ गरी ५७ रोपनी पुर्याएको छु । उचाल्नेमा बा–आमा र बहिनी–ज्वाइँले हेर्छन् भने ढोडचौरमा म र मेरी श्रीमतीले हेर्ने गरेका छौं । ५७ रोपनी जग्गामा तरकारी मात्र नभई अदुवा, बेसारसमेत लगाउँदै आएको छु । प्रत्येक वर्ष ४२ लाख बराबरको तरकारी, अदुवा र बेसार बिक्री गर्छु । सबै खर्च कटाएर २० लाखसम्म त बचत हुने गरेको छ ।
विगतमा घरको आर्थिक अवस्था धेरै कमजोर भएपछि दुई छाक खानका लागि धेरै संघर्ष गर्नु पर्थ्यो । चामलको भात त चाडपर्वको बेलामा मात्र देख्न पाइन्थ्यो । नयाँ कपडा लगाउन, मासु खान दसैं नै कुर्नु पर्थ्यो । घरमा कोही बिरामी भयो भने साहुसँग ऋण काढेर उपचारका लागि लैजानु पर्थ्यो । अहिले त्यस्तो छैन । व्यावसायिक तरकारी खेतीमा लागेपछि अहिले सबै समस्या समाधान भएको छ । जीवनमा अनुभव गरेको अभाव र दबाब झेल्दै गरेको संघर्षले नै मलाई यहाँसम्म ल्याई पुर्याएको हो । अहिले मैले सात जनाको परिवार मात्रै पालेको छैन, १५ जनालाई रोजगारीसमेत दिएको छु ।
तरकारी खेतीबाट कमाएको पैसाले घरजग्गा जोडेको छु भने छोराछोरी, भाइबहिनीलाई उच्च शिक्षा दिलाएर सरकारी जागिरे खुवाउन सफल भएको छु । तरकारी बिक्री गरेर कमाएको रकमबाटै एउटा बोलेरो गाडी पनि जोडेको छु । जो तरकारी बिक्रीका लागि जिल्लाबाहिर लैजान सहज भएको छ ।
जब तरकारी जिल्लाबाहिर निकासी हुन थाल्यो, त्यसपछि धेरै सहज भयो । अहिले मैले उत्पादन गरेको तरकारी दाङको तुलसीपुर हुँदै रूपन्देहीको बुटवलसम्म पुग्ने गरेको छ । तरकारीको मूल्यमा आउने उतार–चढाव र भारतीय तरकारीका कारण कहिलेकाहीँ समस्या आउने गर्छ, अरू सबै ठिक छ ।
पछिल्नो समयमा प्लस टू पास गरेर पुरुष, महिला पढ्दै कमाउँदै गर्ने भन्दै धमाधम विदेश गइरहेका छन् । जसले गर्दा गाउँघर सुनसान हुँदै गएको छ भने खेतीयोग्य जग्गा बाझिँदै गएका छन । इच्छाशक्ति, लगन र परिश्रम गर्न सके घरमा परिवारसँगै बसेर आफ्नो जग्गामा सुन फलाउन सकिन्छ भनेर म उनीहरूलाई देखाउन चाहन्छु ।
प्रस्तुति : विप्लव महर्जन
घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पनि पढ्नुहोस्
