बर्खामा घरमा पानी चुहिएर सुत्नै गाह्रो हुन्छ । पानी घरबाहिरभन्दा भित्र धेरै आउँछ । प्लास्टिक पनि च्यातिएर झुत्रो भइसकेको छ । अब अर्को प्लास्टिक पनि हाल्न सक्ने अवस्था छैन । धन्न वृद्धभत्ता आउँछ र भोकै मर्नु परेको छैन ।
कञ्चनपुर — भाग्यमा नलेखेपछि कसको पो के लाग्छ र ? घर छाड्ने बेला सानै थिएँ । कहाँ जाने, के गर्ने भन्ने मेसो पनि थिएन । तैपनि, साथीभाइ पछ्याएरै भए पनि कहिले काला पहाड त कहिले हिमाचल प्रदेश भौंतारिएँ । मिहिनेत/मजदुरी गरेर छाक जुटाउने उद्देश्य थियो । बालखैमा कालापहाड गएको मान्छे उमेर हुन्जेलसम्म भारतका विभिन्न सहर चहारेँ ।
मेरो पुर्ख्यौली घर जाजरकोट हो । खानै समस्या भएपछि घरको मतलब हुँदो रहेनछ । साँझ–बिहान खान र एकसरो लाउन सजिलो होला भन्ठानेर सानैमा भारत गएको थिएँ । त्यस बेलाको धेरै सम्झना पनि छैन ।
भारतबाट फर्किएर दोधारा चाँदनी नगरपालिका–३ को जोगबुडा नदी किनारस्थित बडुवाल टोलमा बस्न थालेको पनि १५ वर्ष भयो । एक कट्ठा जमिन किनेर दुई बुढाबुढी यहीँ बसिरहेका छौं ।
अहिले म ७१ वर्षको भएँ । अब बुढेसकाल लाग्यो । काम केही गर्न सकिँदैन । वृद्ध भत्ताकै भरमा बाँचेका छौं । वृद्धभत्ता ढिलो आएमा कसरी गुजारा गर्ने भन्ने चिन्ता हुन्छ ।
मैले ४ हजार महिनाको र बुढीले २६६० रुपैयाँ महिनाको वृद्धभत्ता पाउँछौं । त्यसैबाट नुन, तेल, पीठो, चामल, दाल र तरकारी लगायत सबैथोक किन्छौं । ग्यास सिलिन्डर किन्न सकेका छैनौं । दाउरामै खाना पकाउनु परेको छ । अब बुढेसकालमा जंगल गएर दाउरा ल्याउन पनि सकिँदैन ।
म आफू पनि श्वास प्रश्वासको बिरामी छु । नियमित रूपमा औषधि खानुपर्छ । औषधि पनि वृद्धभत्ताकै भरमा चलेको छ । खाने गुजाराले त ठिकै भइरहेको थियो । काम गर्न नसक्ने र आम्दानी हुने कुनै आटोबाटो नहुँदा ज्यादै गाह्रो हुने रहेछ ।
औषधि उपचार गराउन भने निकै समस्या भइरहेको छ । कहिलेकाहीँ बुढीले खेतीपातीका बेला ज्याला मजदुरीको काम गरेर अलि अलि नुन–तेलको जोहो हुन्छ । हाम्रो पुर्ख्यौली पेसा भनेको गीत गाउने हो । बुवाले गाउँ डुल्दै गीत गाएरै परिवार पाले । अहिले आफूले त्यो सीप र कला जान्दिनँ । गीत गाउन जानेको भए बुवाजस्तै गाउँ डुलेर मागी खान हुन्थ्यो । आफूसँग त्यो सीप पनि भएन ।
हाम्रा पाँच छोरी छन् । उनीहरू सबैको विवाह भइसकेको छ । सबै आ–आफ्नै घरतिर लागे । हामी बुढाबुढी एक्लै भयौं । चाडपर्वमा छोरीहरू आउँछन् । त्यतिबेला उनीहरूलाई मिठो मसिनो खुवाउन पनि सकिँदैन । बिरामी पर्दा र केही अप्ठेरो परेका बेला छोरीहरूलाई नै गुहार्छौं । तर सधैं छोरीकै बोझ बनिरहन पनि निको लाग्दैन ।
पहिले एक कट्ठा जमिन जोडेर यही जोगबुडा नदी किनारमा कच्ची घर बनाएको थिएँ । अहिले यो कच्ची घर पनि जीर्ण भइसकेको छ । अब न बनाउन सक्ने आँट छ, न त त्यसका लागि काठ नै किन्न सकिन्छ । बुढेसकालमा नचुहिने घरभित्र सुत्न पाए हुन्थ्यो भन्ने सपना देखेको थिएँ, अब त त्यो सपना पनि सपनामै हराएर जाने भयो ।
बर्खामा घरमा पानी चुहिएर सुत्नै गाह्रो हुन्छ । पानी घरबाहिरभन्दा भित्र धेरै आउँछ । प्लास्टिक पनि च्यातिएर झुत्रो भइसकेको छ । अब अर्को प्लास्टिक पनि हाल्न सक्ने अवस्था छैन । धन्न वृद्धभत्ता आउँछ र भोकै मर्नु परेको छैन । त्यही पनि आउँदैनथ्यो भने हाम्रो के हालत हुँदो हो ! सम्झँदा पनि कहाली लागेर आउँछ ।
प्रस्तुति : भवानी भट्ट
