‘परदेशी भए पनि डडेलधुरा आफ्नै घरजस्तो लाग्छ’

१२ वर्षअघि हातमा एउटा झोला, केही औजार र आत्मविश्वास लिएर आएको थिएँ । तिनै औजारले यहाँ मलाई चिनाएका छन् ।

कार्तिक १४, २०८२

माजित खान

'Even though I am a foreigner, Dadeldhura feels like home'

What you should know

डडेल्धुरा — भारतको पिलिभित जिल्लाबाट आएको मान्छे हुँ । अहिले मेरो जीवन डडेल्धुराको बागबजारमा बित्दैछ । कुकर, ग्यास चुलो, भट्टीचुलो, हिटर र अन्य यस्तै उपकरण मर्मत गर्दै यहीँ १२ वर्ष बिताइसकेँ । सुरुमा त सोच्थें, केही वर्षका लागि मात्रै आएको हुँ तर डडेल्धुरा अब मेरो दोस्रो घरजस्तै बनेको छ ।

हातमा पेचकस, पाना, औजार अनि ग्यासको गन्ध र छेउमा टिनको छानोबाट छिर्ने घामको प्रकाश । मेरो दैनिकीको सुरुवात यसरी नै हुन्छ । बिहान सात–आठ बजेतिर काम सुरु गर्छु । काम साँझको छ–सात बजेसम्म गर्छु । दैनिक करिब १२ घण्टा ड्युटीजस्तै हो यो मेरा लागि ।

दैनिक साँझ–बिहान हातमुख जोड्न यतिसम्म गर्नैपर्छ । कहिले कुकरको रबर फेर्छु, कहिले ग्यासको पाइप बदल्छु त कहिले चुलो मिलाउँछु । कुनै दिन ग्राहकको भीड हुन्छ, कुनै दिन पसल सुनसान । यही उतार–चढावसँग बाँच्न सिकेको छु । 

१२ वर्षअघि डडेल्धुरामा पहिलोपटक आइपुगेँ, तुफानडाँडामा पसल खोलेको थिएँ । आठ वर्षसम्म त्यही काम गरेँ । त्यसपछि बागबजार झरेँ । यहाँ आएको पनि ४ वर्ष बित्यो । सानो टिनको छानोभित्र अहिले पनि यही काम गरिरहेको छु । कमाइ खासै हुँदैन । कहिले चार सय, कहिले पाँच सय, कहिले त खाली हात । महिनामा १२/१५ हजार कमाइ त हुन्छ तर त्यसैबाट कोठाभाडा, दाल–तरकारी, नुनतेल सबै गरेर महिनाको अन्त्यतिर ५/७ हजारजति बचत हुन्छ । 

कोठाभाडा महिनाको २ हजार ५ सय तिर्छु । कहिलेकाहीँ काम नभए खर्च जुटाउन गाह्रो पर्छ । कतिपटक साथीहरूबाट ऋण माग्नुपर्छ । तर साथीहरू यता राम्रा छन्, विश्वासिला र सहयोगी पनि उत्तिकै । पछि कमाएपछि ऋण–सापटी फिर्ता दिन्छु । 

म प्रायः तीन–चार महिनामा घर गइरहन्छु । कहिलेकाहीँ श्रीमती र छोराछोरी पनि यता आउँछन् । मेरो चार जनाको परिवार छ । छोराछोरीलाई राम्रैसँग पढाइरहेको छु । म त स्कुलको ढोका पनि राम्ररी नदेखेको मान्छे ।

म अहिले ३६ वर्षको भएँ । कामको अनुभव भने बाल्यकालदेखि नै छ । १२ वर्षको उमेरमै व्यापारमा लागेको थिएँ । कञ्चनपुरको महेन्द्रनगरमा बुवा र दाइसँग साइकलको व्यापार गर्थ्यौं । बिहानै पसल खोल्ने, ग्राहकको साइकल मर्मत गर्ने । पछि बुवा बित्नुभयो । त्यसपछि जिम्मेवारीको बोझ मेरै काँधमाथि आयो । 

डडेल्धुरामा आएर यो कुकर, चुलो मर्मतको सीपले जीवन चलाइरहेको छु । यहाँका नेपाली दाजुभाइको व्यवहार र साथले मलाई गहिरो आत्मीयता दिएको छ । डडेल्धुरामा सुरुका दिन कठिन थिए । न भाषा बुझिन्थ्यो, न ठाउँको बानी । डोटेली भाषा त अझै पनि राम्ररी बोल्न आउँदैन, तर अब नेपाली भाषा बुझ्न र बोल्न दुवै सक्छु । यही सिकाइले मेरो आत्मविश्वास बढाएको छ । 

काम नहुँदा मन खिन्न हुन्छ । बिहान उठ्दा पसलमा ग्राहक नआए दिनै सुनसान लाग्छ । तर हरेस खाँदिनँ । सोच्छु, आज नभए भोलि काम पक्कै हुन्छ । यही सोचले १२ वर्षसम्म मलाई यहाँ टिकाइराखेको हो । 

कोठाभित्रको दैनिकी पनि कामजस्तै सामान्य छ । बिहान उठ्नेबित्तिकै ग्यासमा चिया बनाउँछु । कहिलेकाहीँ चियासँग दुई–चार पिस बिस्कुट हुन्छ, कहिलेकाहीँ कोही हुँदैन । बिहान–बेलुकीको खाना म आफैं पकाउँछु, धेरैजसो समय दालभात र तरकारी । तर कहिलेकाहीँ मात्र माछा या अण्डा किन्ने गर्छु । कमाइ राम्रो भएको दिन बजार गएर एक सय रुपैयाँको माछा ल्याउँछु र भातसँग स्वाद लिएर खान्छु ।

यहाँ कोठामा एक्लै बस्ने भएर एक सय रुपैयाँको माछाले एक छाकलाई मज्जाले पुग्छ । तर जब काम हुँदैन, भातसँग दाल मात्र पकाएर दिन काट्छु । कहिलेकाहीँ त दाल पनि सकिन्छ, त्यसबेला नुन र तेल हालेर आलुको तरकारी पकाउँछु । त्यही पनि स्वाद लाग्छ । आफ्ना लागि सधैं माछा मासु खान सकियोस् भन्ने सोच त छ तर जीवन त्यति सरल छैन । कमाएको पैसामध्ये ४/५ हजार त घरमा पठाउँछु, बालबच्चाको पढाइ र श्रीमतीको खर्चका लागि । बाँकीले यता बाँचिन्छ । 

राति कहिलेकाहीँ भोक लाग्दा सुत्नेबित्तिकै मनमा घरको सम्झना आउँछ । श्रीमतीले बनाएको रोटी–दाल, छोराछोरीको हाँसो र घरको तातो भान्सा । तर बिहान फेरि टिनको छानामुनि नयाँ दिन सुरु हुन्छ । पसल खोल्नु, काममा लाग्नु र बेलुकी फर्केर सादा खाना पकाउनु, यही हो मेरो जिन्दगीको चक्र । 

म यहाँ परदेशी हुँ तर अब यो ठाउँ पनि मेरो आफ्नै घरजस्तो लाग्छ । १२ वर्षअघि हातमा एक झोला, केही औजार र आत्मविश्वास लिएर आएको थिएँ । आज तिनै औजारले मलाई चिनाएका छन् र गुजारा चलिरहेको छ । 

प्रस्तुतिः तर्कराज भट्ट 

माजित खान

Link copied successfully