‘३२ किलोमिटर साइकल चलाएर काममा आउजाउ गर्छु’

एकातर्फको डुंगाको २० रुपैयाँ भाडा तिर्नुपर्छ । डुंगा कुर्दाकुर्दै कुनै दिन बाटोमा साइकल बिग्रिएर ढिलो हुँदा काम छुट्छ ।

कार्तिक ९, २०८२

विक्रम थारु

'I cycle 32 kilometers to and from work'

What you should know

बर्दिया — सानैदेखि अनेकन हन्डर–ठक्कर खानु पर्‍यो । बाँच्नकै लागि कठोर संघर्ष गर्नुपर्‍यो । घर व्यवहार चलाउने जिम्मेवारी काँधमा आइपरेपछि दुःख नगरी पनि भएन । मुलुकमा के गर्ने, कसो गर्ने भएपछि कामको खोजीमा भारतका धेरै ठाउँमा भौंतारिएँ । यस अवधिमा सीप सिक्ने मौका पनि पाएँ । तर, पढ्ने लेख्ने अवसर भने कहिल्यै मिलेन ।

जिन्दगी भोग्ने क्रममा धेरै कुरा सिकेको छु । धेरै किसिमका काम गरेर छोडेँ । अन्तिममा घर बनाउने मिस्त्रीको काम गरिरहेको छु । अहिले म ३६ वर्षको भएँ । बारबर्दिया नगरपालिका–६ पत्थरडाँडामा घर छ । अहिले गुलरिया नगरपालिकामा घर बनाउने मिस्त्रीको काम गर्छु । गुलरियाबाट मेरो घर पुग्न १६ किलोमिटर यात्रा गर्नुपर्छ । बिहानै साइकलमा गुलरिया आएर काम गर्छु र साँझ फर्किने बेला पनि त्यति नै किलोमिटर यात्रा गरेर घर पुग्दा लखतरान भइसक्छु । 

विसं. २०७१ मा बबई नदीमा आएको बाढीले जब्दीघाटस्थित पुल भत्कायो । निर्माण सकिएर उद्घाटन हुनमात्र बाँकी थियो । लामो समय बितिसक्दा पनि त्यो पुल पुनःनिर्माण नहुँदा अहिले गुलरिया र बारबर्दिया नगरपालिकाको सम्बन्ध बिच्छेदजस्तै भएको छ । बारबर्दियाका हामी सर्वसाधारण गुलरिया सदरमुकाम काम गर्न आउँदा जोखिमपूर्ण डुंगाको यात्रा गर्नुपर्छ ।

गुलरिया काममा आउन करिब एक घण्टा जब्दीघाटमै डुंगा कुर्नुपर्छ । यस्तै एक जनाले एकातर्फको डुंगाको २० रुपैयाँ भाडा तिर्नुपर्छ । कुनै दिन डुंगा कुर्दा कुर्दै ढिलो भएर त कुनै दिन बाटोमा साइकल बिग्रिएर ढिलो भएर काम छुट्छ । 

पारिवारिक स्थिति कमजोर भएकाले विद्यालयको मुख हेर्नसमेत पाइनँ । १० वर्षको हुँदा बुवा बित्नुभयो । हामी ५ भाइ र ३ दिदीबहिनीमध्ये म काइँलो हुँ । आमा बितेको पनि ५ वर्ष भयो । बुवा बितेपछि सानै उमेरमा कमाउन भारततर्फ पसेँ । भारतका विभिन्न ठाउँमा १५ वर्ष काम गरे । होटलमा कुक, पेन्टिङ र कम्पनीमा विद्युत् सम्बन्धी मजदुरी गरेँ ।

भारतमा काम गर्दा दुई लाख भारु घाटा लागेपछि नेपाल फर्किएको हुँ । विवाह भएको तीन वर्षमै सम्बन्ध बिग्रिएपछि अहिले एक्लै बस्छु । दाइभाइ सबै अलग–अलग छन् । साधु जीवन बिताउन थालेको पनि ९ वर्ष भयो । आफैंले खाना पकाएर खाएर काममा जान्छु । त्यसका लागि बिहान सबेरै उठ्नु पर्छ । साँझ कामबाट फर्किंदा अबेर भइसक्छ । कहिले खाना बनाएर खान्छु त कहिले थकाइले जाँगार नलागेपछि भोकै सुत्छु । 

घर बनाउने मिस्त्री काम गर्न लागेको पनि तीन वर्ष भयो । यसअघि काठमाडौं, पोखरालगायत अन्य जिल्लाको दुर्गम ठाउँमा मिस्त्री काम गरेको छु । पछिल्लो समय नेपालगन्जमा बसेर घर बनाउने मिस्त्री काम गर्छु । दसैं तिहार चाड मनाउन बारबर्दियास्थित घर आएका बेला गुलरियास्थित काममा लागेको हुँ । यहाँ मिस्त्री काम गरेबापत दैनिक एक हजार ज्याला पाउँछु ।

पुर्जा नभएको अलिकति मात्र जमिन छ । त्यसमा उब्जनी भएकाले वर्षभरि खान पुग्दैन । नेपालगन्जमा डेरा लिएर बस्छु । अब तिहारपछि उतै जान्छु । नेपालगन्जमा मिस्त्री कामको ज्याला १ हजार २ सय पाउँछु । महिनामा लगातार काम मिल्दैन । काम मिलेका बेला मासिक २०/२५ हजार पनि कमाइ हुन्छ । काम नमिलेका बेला खाली बस्नुपर्छ ।

कोठा भाडा र विद्युत‍्को गरी मासिक २ हजार ७ सय तिर्नुपर्छ । एक्लै भए पनि चामल, दाल, नुन, तेल, तरकारी, सरफ, साबुन, लत्ताकपडामा करिब ८ हजार खर्च भइहाल्छ । ऋण र सम्पत्ति दुवै नहुँदा तनाव त्यति छैन ।

घरमा लक्ष्मी (श्रीमती) नहुँदा घर उजाडजस्तै लाग्छ । बारबर्दियास्थित घरमा महिनामा एकपटक पुग्छु । फोहोर सफा गरेर फेरि नेपालगन्जस्थित काममा फर्किन्छु । घरमा स्याहार गर्ने लक्ष्मी नहुँदा जति नै कमाए पनि नदेखिने रहेछ ।

प्रस्तुति : रामप्रसाद चौहान

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पढ्नुहोस्

विक्रम

Link copied successfully