‘आफ्नै देशमा पसिना बगाउँदा सन्तुष्ट छु’

'गमला बेचेर कहिले हजार त कहिले १२ सयजति नाफा हुन्छ । कहिले कसो ५ सय पनि हुँदैन । तर पनि कहिले कता कहिले कता लिएर हिँड्न चाहिँ छोड्दिनँ ।'

कार्तिक ७, २०८२

कमल घिसिङ 

'I am satisfied with working hard in my own country'

What you should know

काठमाडौँ — अरूको घरमा फूलका कोपिला फक्राउनका लागि गमला बेचेर आफ्नो घरमा भएका कोपिला (सन्तान)को भविष्य राम्रो बनाउन दिनरात मिहिनेत गरिरहेको छु ।

यसरी आफ्नै देशमा आफ्नै परिश्रमले कमाएको छु । जे छ, त्यसैमा खुसी छु । नेपालमा बसेर काम गर्दा धनको बचत नभए पनि परिवारसँगै बसेर माया बचत गरेको छु । यही कुराले सन्तुष्टि मिलेको छ । अहिले म ३८ वर्षको भएँ । सिमेन्टका गमला बेच्ने काम गरिरहेको छु । मेरो घर सिन्धुलीको दुधौली नगरपालिका–१० मा हो । 

बिहान ४ बजे म बस्दै आएको ठाउँ काभ्रेस्थलीबाट गमलालाई ठेलामा राखेर बेच्नका लागि हिँड्छु । कहिले कलंकी, कीर्तिपुर, थानकोट, चोभार पुग्छु त कहिले माछापोखरी, सामाखुसी, टोखा, पुग्छु । जता पुगे पनि काम गर्न सक्ने बेला नै हो काम गर्ने र घरखर्च जुटाउने, नसक्ने बेलामा काम गर्छु भनेर पनि सकिँदैन । 

मैले बिहानको खाना खासै खान पाउँदिनँ । बाटोमा हिँड्दै गर्दा भोक लागेपछि केही खाजा खान्छु । बेलुका घर पुगेर श्रीमतीले खाना पकाएर राखेकी हुन्छिन्, मजाले परिवार सँगै बसेर खान्छौं । परिवारमा एक छोरा, दुई छोरी, श्रीमती र म छौं । हामी सबै सँगै बस्छौं । छोराछोरी सानै छन् । छोरा कक्षा ४ मा पढ्छ । छोरीहरू कक्षा ७ मा पढ्छन् । तीनै जना छोराछोरीलाई बोर्डिङ स्कुल पढाएको छु । राम्रै पढेका पनि छन् । छोराछोरी सानै भएकाले बुढीले घर हेर्ने, बालबच्चा सम्हाल्ने काम गर्छिन् । 

मैले सिजन अनुसारको काम गर्छु । गर्मीमा स्ट्रबेरी बेच्ने, काफल बेच्ने गर्छु । जाडो लाग्ने बित्तिकै भनौं कि स्ट्रबेरी र काफलको सिजन सकिने बित्तिकै भनौं सिमेन्टको गमला बेच्ने गर्छु । यसरी काम गर्न थालेको पनि पाँच वर्ष भयो । पहिला इँटा, माटो ठेक्का–पट्टाको काम गर्थें । गमला बेचेर कहिले हजार त कहिले १२ सयजति नाफा हुन्छ । कहिले कसो ५ सय पनि हुँदैन । तर पनि कहिले कता कहिले कता लिएर हिँड्न चाहिँ छोड्दिनँ ।

कुनै दिन लिएर हिँडेको सबै गमला बिक्री हुन्छ । सबै सकेर कोठामा जाँदा मन हलुका हुन्छ । त्यो नै हाम्रा लागि खुसीको क्षण हो जस्तो लाग्छ । कहिले आधा पनि व्यापार हुँदैन । आज गमला नगए के भयो त भोलि सबै बिक्री भइहाल्छ नि भन्ने आशा, आफैंले आफैंलाई सान्त्वना दिन्छु । आजको दिन नराम्रो भए पनि भोलि कसो राम्रो नहोला र भन्ने सोचेर मन बुझाउँछु । बालुवाको गमला साहुबाट किनेर बेच्ने हो । मैले गमला किन्ने ठाउँ पनि म बस्दै आएको घरनजिकै छ । 

दिनको १२ सय नाफा हुँदा त राम्रै हुन्छ भनौं । तर, सधैं एकनास हुँदैन । गमला बेचेरै छोराछोरीको स्कुल फि तिर्न र रासन ल्याउन ठिक्क छ । कहिलेकाहीं माछामासु खान मन गर्छन् । त्यतिबेला पनि खर्च भइहाल्छ । वर्षको ३० हजार तिर्न पर्ने गरी जग्गा भाडामा लिएर टहरो (छाप्रो) बनाएर बसेका छौं र त्यसको महिना महिनामा कोठा भाडा तिर्ने झन्झट छैन । या भनौं महिना लाग्ने बित्तिकै कसरी भाडा तिर्ने होला भन्न पर्दैन र थोरै भए पनि राहत महसुस हुन्छ । बचत त कहाँबाट हुनु केही छैन ।

अहिले बालबच्चा सानो कक्षामा छन् र त कहिले २१ हजार कहिले कति आउँछ स्कुल फि ठुलो कक्षामा जाँदा कसरी पढाउने होला भन्ने हुन्छ । तर मैले नपढे पनि मेरा छोराछोरीलाई आफ्नै ज्यान बन्धकी राखेर भए पनि पढाउने अठोट गरेको छु । उनीहरूमा सबै कुराको ज्ञान होस् । भविष्य राम्रो होस् भन्ने छ ।

मैले सन्तानको भविष्य राम्रो बनाउन गरेको यो दुःखको उनीहरूले कदर गरुन्, मात्तिएर कहिल्यै नहिँडून्, मैले गरेको कामले उनीहरूलाई कहिल्यै नराम्रो महसुस नहोस् भन्ने सोच्छु । मेरो थाप्लोमा जति गह्रौं दुःख लेखे पनि मेरा सन्तानको थाप्लोमा त्यस्तो भार नपरोस् है प्रभु भनेर हरेक दिन प्रार्थना गर्छु । आफ्ना सन्तानले सधैं राम्रो गरुन् । उनीहरू हिँड्दा ठेस नलागोस् भन्ने मलाई मात्र होइन, हरेक बाआमालाई हुन्छ जस्तो लाग्छ । 

जिन्दगी भनेजस्तो नभए पनि विदेश जान्छु, धेरै पैसा कमाउँछु भन्ने सोच कहिल्यै आएन । अर्काको देशमा काम गर्न पनि सोचेजस्तो सजिलो कहाँ छ र ! विदेशिँदा घरपरिवारसँग भेटिनकै लागि तड्पिनु पर्छ । दिनदिनै परिवारको यादमा बस्नुपर्छ । अर्काको देश भनेको अर्काकै हो ।

आफू जन्मेको ठाउँमा पसिना बगाउन पाएको छु, म त त्यसमै सन्तुष्ट छु । नेपालमा बसेर काम गर्दा धनको बचत नभए पनि घरपरिवारसँगै बसेर मायाको बचत धेरै गरेको छु । मलाई यही कुराले आत्मसन्तुष्टि मिलेको छ ।

प्रस्तुति : आरती पौडेल 

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पढ्नुहोस्

कमल

Link copied successfully