‘भारतको मान्छे नेपालका गाउँमा व्यापार गर्न पुग्दा अचम्म मान्छन्’

'भारतको मान्छे नेपालका गाउँसम्म व्यापार गर्न आएकामा यता पहाडतिर केहीले अच्चम्म पनि मान्छन् । तर नानपारा र नेपालगन्जको दूरी धेरै छैन । ३० रुपैयाँ भाडा तिरेसी नेपालगन्ज आउजाउ गर्न सकिन्छ ।'

कार्तिक ६, २०८२

मनुकुमार कचबन्दिया

'Indians are surprised when they come to Nepal's villages to do business'

What you should know

रुकुम — जिल्लाभरि मलाई चिन्नेले मनु भन्छन् । मेरो व्यवहारले मन जितेर पो त्यसो भनेका हुन् कि जस्तो लाग्छ । यहाँ म परदेशी हुँ । पराय ठाउँबाट आएर व्यापार गरे पनि कसैले बिरानो व्यवहार गर्दैनन् । यहाँका मान्छेले गर्ने मायाले म मक्ख छु ।

मेरो घर भारतको नानपारा हो । भारतमा जन्मेहुर्के पनि व्यापार गर्न प्रायः म नेपालका विभिन्न पहाडी जिल्लामा डुल्छु । मेरो जागिर भने पनि, पेसा, कर्म जे भने पनि यही हो । 

अहिले म ३७ वर्षको भएँ । फिरन्ते व्यापारमा लाग्दा म १३–१४ वर्षको थिएँ हुँला । अहिलेसम्म यही कर्ममा रमेको छु । खास गरी म प्लास्टिकका भाँडाकुडा बेच्छु । उतै (नानपारा)बाट खरिद गरेर ल्याएर सामान बेच्न रुकुम पश्चिमका साथै रोल्पा, जाजरकोट, सल्यान, दैलेख, दाङ र सुर्खेतसम्म पुग्ने गरेको छु ।

खरिदबाट थोरै बचाएर हुने नाफा नै मेरो कमाइ हो । महिनामा त्यही १२ देखि १५ हजारसम्म बचाउने गरेको छु । खर्चको दाँजोमा त्यति कमाइ आँखामै लाग्दैन । वृद्ध बा–आमा छन् । श्रीमती र दुई छोरा पनि साथै छन् । जेठो छोरा ७ र कान्छो ४ वर्षका भए । उनीहरू पनि नानपारा (भारत)मा आमासँगै बस्छन् । श्रीमती पनि घरमै बसेर कामकाज गर्छिन् ।

म त घुमन्ते व्यापारी हुँ । कहिले कता, कहिले कता– ठेगानै हुँदैन । सबै सामान एकैपटक ल्याउन मिल्दैन । त्यसैले उताबाट अलिअलि सामान ल्याएर कुनै एक ठाउँमा स्टोर गर्ने गर्छु । त्यसपछि सक्नेजति बोकेर गाउँबस्ती, बजार अनि टोलसम्म ‘बाटा आयो, बाटा...’ भन्दै कराउँदै व्यापार गर्छु ।

ए साँच्ची अघि कमाइ र खर्चको कुरा पो गर्दै थेँ त है ! व्यापारका क्रममा डुल्दाखेरी खान–बस्न र भाडा आदि कटाएर महिनमा त्यही १५ हजारजति बचत हुन्छ भनौं । खर्च चाहिँ सबैभन्दा धेरै ५–७ हजार खाना र औषधि–उपचारमा हुन्छ । बचेको रकम छोरा अनि परिवारका सदस्यका लागि पठाउने गरेको छु । यसो हेर्दा आम्दानी र खर्च बराबर हुन्छ । मिहिनेत गरेर कमाएकाले न खर्च गर्न सकेको छु जस्तो लाग्छ । त्यही सम्झिएर चित्त बुझाउँछु ।

जे होस्, कमाएकाले गुजारा चलेकै छ । आफ्नो र परिवारको जिन्दगी चलेको छ । पैसा बचाएर धनी हुने सपना छैन । बस् भोकै बस्नु नपरोस् भनेर कामना गर्छु । भगवानको कृपाले यतिसम्म भएको छ । रहर र सपनाको कुरा त के गर्नु हजुर ! हामी शून्यमा हुनेका के रहर, के सपना !

तैपनि, सोधिहाल्नु भयो भन्दिहालम् । पैसा कमाएँ भने यसरी डुल्नेवाला काम छोड्दिने हो अनि आफ्नै दोकान खोलेर बस्ने हो । तर यो त धेरै ठूलो कुरा भयो । म त दुःख–बिमार हुनु नपरोस्, सधैंभरी यसैगरी काम गरेर खान पाइयोस् भनेर प्रार्थना गरिरहन्छु ।

अहिलेसम्म परिवारको सु–स्वास्थ्य राम्रै भए पनि मेरो भने किडनीमा पत्थरी छ भनेर डाक्टरले भनेका छन् । यसको उपचार गर्ने पैसा जम्मा गर्छु भनेको धेरै भयो, कहिल्यै बचाउन सकिनँ । अप्रेसन गर्नुपर्छ भनिएको छ, हेरौं पैसा बचाउन सकेँ भने गर्नुपर्ला । 

भारतको मान्छे नेपालका गाउँसम्म व्यापार गर्न आएकामा यता पहाडतिर केहीले अच्चम्म पनि मान्छन् । तर नानपारा र नेपालगन्जको दूरी धेरै छैन । ३० रुपैयाँ भाडा तिरेसी नेपालगन्ज आउजाउ गर्न सकिन्छ । यतातिर अच्चम्म माने पनि उतातिर चाहिँ नेपालका भारततिर र भारतका नेपालतिर व्यापार–व्यवसाय र किनमेल गर्न आउने काम सामान्य हो ।

मलाई त नेपाल र भारतबीच देश–देशको दूरी छ जस्तो नै लाग्दैन । किनकि, हाम्रो र यताको भाषा–संस्कारमा पनि उति भिन्नता म पाउँदिनँ र खानपान अनि रहनसहनमा पनि खासै फरक छैन ।

भाषाको कुरा गर्दा मलाई नेपाली लगभग सजिलै आउँछ, अनि यताका उता (भारततिर) जाँदा पनि हिन्दी सजिलै बोल्नुहुन्छ । यसकारण खासै फरक नलागेको हो । जे होस्, देशको सिमाना हामीजस्ता काम गरिखानेलाई खासै चासोको विषय होइन भन्ने लाग्छ ।

प्रस्तुति : महेश केसी

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पढ्नुहोस्

मनुकुमार कचबन्दिया

Link copied successfully