'आफ्नोजस्तो हुर्काइ छोराको नहोस्, उसको भविष्य उज्यालो बनाउने एउटै सपना छ । म त उमेरले बुढो हुँदा बल्ल छोरो हुर्किन्छ । त्यसैले उसका लागि कमाइदिने ठूलो धोको छ ।'
What you should know
रूपन्देही — जीवनमा मेरा ठूला रहर थिएनन् । बालखैबाट ज्याला मजदुरी गर्न परेपछि सपना साँच्ने समय नै मिलेन । घरबाहिर गएर काम गर्ने बेला १२ वर्षको थिएँ । अनेक हण्डर खेपेर रूपन्देहीको तिलोत्तमा नगरपालिका आइपुगेको हुँ ।
गुल्मीको तम्घासमा जन्मिएँ । त्यहाँ ७ कक्षासम्म मात्रै पढेँ । ठूलो परिवार भएकाले पढाइको धोको पूरा भएन । अभावले पिरोलेका बेला पढ्न पनि मन लाग्दो रहेनछ । साथीभाइको लहलहैमा हिँड्ने, काम गर्ने, पैसा कमाएझैं गर्ने, बालापन त्यसरी नै बित्यो ।
अहिले म २६ वर्षको भएँ । श्रीमती र एक छोरा छन् । उनीहरूलाई खुसी राख्न मिहिनेत गरिरहेको छु । ७ वर्षदेखि वेल्डिङ पसलमा काम गरिरहेको छु । बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म घन हान्ने, फलाम पिट्ने, वेल्डिङ गर्ने काम हुन्छ । ड्याङड्याङ आवाज, आँखामा चस्मा नलगाई हेर्न नमिल्ने, काम त ग्राहो छ तर यही काम नगरी भएन ।
जीवनमा मैले के मात्र गरिनँ र ! होटलमा भाँडा माझिनँ कि, मजदुरी गरिनँ कि, गाडी चलाइनँ कि, खै सबै काम गरियो तर पैसोचाहिँ कमाउन सकिएन । कमाएको पैसाले खान र बस्न मात्रै ठिक्क भयो । वर्षमा एकपटक नयाँ लुगा किन्छु । केही कुरामा रुचि लाग्दैन । ३ हजार कोठा भाडा तिर्छु । एउटै कोठामा बस्छौं । छोरा साढे दुई वर्षको भयो । उसका लागि आवश्यक सामान किन्दै महिनामा ३ हजारभन्दा बढी खर्च हुन्छ । हरेक आइतबार तरकारी किन्न हाटबजार जान्छौं । एक हप्ता पुग्ने खरिद गरेर ल्याउँछौं । आइतबार साँझ भने मासु पाक्छ । मासुमा त्यति मन जाँदैन । हरियो तरकारी पनि महँगो छ । नखाई भएन । बाँच्नलाई पनि खान त पर्यो ।
मेरो प्रेम विवाह भएको हो । उनी हरेक क्षण मलाई साथ दिन्छिन् । महिनाको ३० हजार कमाइ छ । २ हजार ५ सयको चामल किन्छौं, त्यसले डेढ महिनाजति पुग्छ । भान्छामा चाहिने सबै सामान किन्ने हो । एक सिलिन्डर ग्यासलाई २ हजार लाग्छ । एकपटक किनेपछि ३ महिना पुग्छ । आमा–बुवा गाउँमा हुनुहुन्छ, कहिलेकाहीँ ६/७ हजार पठाइदिन्छु । पैसाको व्यवस्थापन, खर्च सबै मैले नै हेर्छु । श्रीमती सरल स्वभावकी छन् । उनलाई यहाँका बारे त्यति थाहा पनि छैन । बाबु हेर्ने, बस्ने गर्छिन् ।
पैसा कमाएर मलाई अरू केही त होइन, परिवारलाई व्यवस्थित रूपमा राख्न मन छ । आफ्नो तरिकाले बस्न पाइयोस्, खान–लाउन पाइयोस्, बच्चालाई खेल्ने ठाउँ होस् । एउटा कोठामा पनि फ्रिज, टीभी, दराजजस्ता सामान चाहिँ जोड्न सकेको छु । १४ हजार तिरेर किनेको एउटा साइकल पनि हालै चोरी भयो । अहिले हिँड्दै काममा आउजाउ गर्छु । बिहान ९ बजे काममा आउने, बीचमा खाना खाने, साँझ ६ बजे घर फर्किने रुटिन छ । जति नै काम गरे पनि पुगिसरी भइएलाझैं लागेको छैन । त्यसैले मौका पाएँ भने विदेश जाने रहर छ । धेरै कमाउन पाए बाबुको भविष्य राम्रो हुन्छ कि भन्ने लाग्छ । पिता भएपछि अब परिवारलाई राम्रो गर्न सकूँ भन्ने नै सोच आउने रहेछ ।
धेरै केही सोच्दिनँ । मनमा कुनै इच्छा, रहर आउँदैनन् । त्यो बानी नै भएन । बुवाले दुःख गरेर हुर्काउनु भयो, आफैं भारततिर गएँ, यता पनि अरू काम गरेँ, यस्तै भइरह्यो । सानैदेखि वातावरण जस्तो बन्दै गयो, त्यस्तै हुर्काइ हुने रहेछ । आफ्नोजस्तो हुर्काइ छोराको नहोस्, उसको भविष्य उज्यालो बनाउने एउटै सपना छ । म त उमेरले बुढो हुँदा बल्ल छोरो हुर्किन्छ । त्यसैले उसका लागि कमाइदिने ठूलो धोको छ ।
मान्छेले पैसालाई कति महत्त्व दिने रहेछन् भन्ने कुरा त सापटी माग्दा थाहा पाइन्छ । सरसापट दिने कोही छ भने आँट आउँछ, नभएपछि थन्कियो, बस्यो । अभाव बुझेको भएर होला– मलाई साथीभाइसँग हिँड्ने, रमाउने दिन पनि याद छैनन् । जति हिँडे बालापनमै हिँडेँ । जिम्मेवारीको थुप्रो शिरमा छ, काम गर्नुछ, त्यसैले अरू कुरामा ध्यान दिन मन लाग्दैन । मान्छेले पैसा कमाए सब ठीक हुन्छ झैं गर्छन् । मेरो पनि बस् अब त्यही एउटा इच्छा छ– पैसा कमाउने र छोराको भविष्य उज्ज्वल पार्ने ।
प्रस्तुति : सन्जु पौडेल
