‘आफ्नै माटोमा मिहिनेत गर्छु, डोकोमै तरकारी बेचेर घरखर्च चलाउँछु’

'मैले तरकारी खेती सामान्य रूपमा गरेको छु । जसका कारण डोकोमै बोकेर सदरमुकाम तम्घास ल्याएर आफैं बजार डुलेर बिक्री गर्छु । यसले गर्दा तरकारीले मात्रै होइन, मेरो र मेरो घर–परिवारको मिहिनेतले पनि मूल्य पाइरहेको छ ।

कार्तिक १, २०८२

नामबहादुर कुमाल 

”I work hard on my own land, I make ends meet by selling vegetables on my own.”

What you should know

गुल्मी — आफ्नै दुई रोपनी जग्गामा अहिले तरकारी खेती गरिरहेको छु । प्रायः म बेमौसमी तरकारी लगाउँछु । टमाटर, सिमी, आलु, बन्दा, काउली, भिन्डी, तितेकरेला, सोस्ता, घिरौंला र लौकालगायत तरकारी उत्पादन गर्छु । थोरैधेरै जहिले पनि उत्पादन हुन्छ ।

मलाई तरकारी उत्पादनमा श्रीमती र छोराबुहारीले सघाउँछन् । वर्षभरिमा मैले तम्घासमै आएर डोकोमै तरकारी बेचेर लाख/डेढ लाख कमाउँछु । यसमा मिहिनेतको मूल्य छुट्टै हुँदैन । बिक्री भएको तरकारीमध्ये आधाजति नाफा हुन्छ । वर्षभरिमा ७५ हजारजति त फाइदै छ । 

म अहिले उमेरले ५५ वर्षको भएँ । मेरो घर इस्मा गाउँपालिका–३ दर्लामचौरमा छ । कृषिबाहेक मेरो त्यस्तो अन्य पेसा व्यवसाय केही छैन । थोरै कमाइ भए पनि घरखर्च चलाउन पुगेको छ । भान्सामा त्यस्तो केही चाहिँदैन । दाल, भात र तरकारी भए पुग्छ । तरकारी किन्न पर्दैन । चामल र दाल किन्दा त्यस्तो ठूलो खर्च छैन । सामान्य खर्चमै घरखर्च चलेको छ । लुगाफाटा लगाउने भनेर छुट्टै पैसा चाहिएको जस्तो अहिलेसम्म छैन । तर, कहिलेकाहीँ सामान्य एक–दुई जोर लुगाफाटो फेर्नका लागि अहिलेसम्म यसैले पुगिरहेछ । 

यसबाट कमाइ हुने रकमले घरखर्च चलिरहेकै छ । खासै त्यस्तो ठूलो सपना केही देखेको छैन । दुःख भए पनि दुख्ने नहोस् भन्ने लाग्छ । कुनै रोग कष्टको बाधा नआए त अरु के चाहियो र ! त्यसैले हाम्रो परिवार यसैमा खुसी छ । 

पहिला त कमाउने भनेर भारतमा गएको हुँ । ११ वर्ष भारतका विभिन्न ठाउँमा काम पनि गरेँ । होटलमा गर्ने कामले जति दुःख गरे पनि त्यस्तो कमाइ भएन । थोरै पनि बचत भएन । जेनतेन घरखर्च मात्रै चल्यो । त्यसपछि मैले मकै मात्रै छर्ने बारीमा आएर बेमौसमी तरकारी खेती गर्न लागेको हुँ । यसले घरखर्चलाई पहिलेभन्दा निकै सहज बनाएको छ । 

अहिले घरमा मौरीका तीनवटा घार पनि राखेको छु । यसले पनि आम्दानी दिइरहेको छ । मौरीका घार २० वटा पुर्‍याउने मेरो लक्ष्य हो । यसअघि मैले किसानका रूपमा कृषि कार्यालयबाट तालिम पनि लिएको छु । तालिमले मलाई कृषि पेसामा आकर्षित हुन थप हौसला दिएको थियो । 

त्यति धेरै व्यावसायिक रूपमा उत्पादन गर्न नसकिए पनि परम्परागत खेतीभन्दा आधुनिक रूपमा खेती गर्दा आम्दानी बढेको छ । मैले तरकारी डोकोमै बेचेर जीविकोपार्जन गर्न थालेको १० वर्ष पुग्यो । तर पनि म अहिलेसम्म थाकेको छैन । म घरको मुख्य मान्छे हुँ । जसले गर्दा थाक्ने कुनै बहाना पनि मसँग छैन । यही पेसामा घरपरिवारको साथ र सहयोग छ । जसले गर्दा थोरैधेरै भए पनि खेती, बिक्री र आम्दानी भइरहेको छ । 

मैले मकै र कोदो राप्ने बारीमा तरकारी लगाउने आँट गरें । जसले गर्दा पुरानो खेतीलाई कमसेकम नयाँ त बनाएँ । बिक्री त थोरैधेरै भइहाल्छ । मैले तरकारी खेती सामान्य रूपमा गरेको छु । जसका कारण डोकोमै बोकेर सदरमुकाम तम्घास ल्याएर आफैं बजार डुलेर बिक्री गर्छु । यसले गर्दा तरकारीले मात्रै होइन, मेरो र मेरो घर–परिवारको मिहिनेतले पनि मूल्य पाइरहेको छ । 

तरकारी खेतीसहित समग्रमा कृषिमा लाग्नेहरू एकैपटक ठूलो परिणामको आश गर्ने र त्यो पूरा नभएपछि विस्थापित हुने स्थिति छ । मैले त कुनै लाजबिना जस्तो सकिन्छ त्यस्तै तरकारी खेती गरिरहेको छु । जसले गर्दा यही पेसामा टिकिरहेको छु । तरकारी खेती मात्रै होइन, कृषि र पशुपालन क्षेत्रमा काम गर्ने भएमा आफैं खटिएर मिहिनेत गर्न तयार हुनुपर्छ ।

प्रस्तुति : सन्तोष महतारा

घरखर्च स्तम्भमा प्रकाशित अन्य सामग्रीहरू पढ्नुहोस्

नामबहादुर

Link copied successfully