'दाल र भात खान पनि धौधौ भएका धेरै दिन छन् । एक्लैले सबै गरेर परिवार चलाउन परेपछि त्यो भन्दा दुःख र अप्ठ्यारो केही हुँदो रहेनछ ।'
What you should know
रूपन्देही — जिन्दगीमा मैले के के मात्र गरिनँ । अर्काको घरमा लुगा धोएँ, मजदुरी गरेँ, अस्पतालमा सरसफाइको काम गरे । हुनसम्म हन्डर र ठक्कर खाएपछि बल्लतल्ल तिलोत्तमा नगरपालिकाअन्तर्गत फोहोर संकलन गर्नर् ेकाम पाएकी छु । फोहोर बटुल्न थालेको पनि पाँच वर्ष भयो । सडक किनारमा फ्याँकेका र हावाले उडाएर ल्याएका कागज बटुल्ने, घाँस काटेर सफा गर्ने काम गर्छु ।
भाग्यमा आराम भन्ने नलेखेर नै होला– जिन्दगीमा कहिल्यै आराम मिलेन । श्वास नजाउन्जेल काम त बाध्यता नै रहेछ । दुःख सम्झिँदा कहिलेकाहीँ त मर्न पाए पनि हुन्थ्यो जस्तो लाग्छ । मर्न पनि सहज कहाँ छ र ! चार छोरी र दुई छोराको जिम्मेवारी छ । तिनीहरूलाई कसरी हुर्काएँ होला भन्ने सम्झिँदा पनि अहिले कहाली लाग्छ । सबै पीडा सुनाउन धेरै दिन चाहिन्छ । कथा नै टुंगिँदैन । वि.सं. २०७२ मा श्रीमान् बिरामी परेर थलिएर बित्नुभयो । उहाँ हुँदा त श्रीमान् छन् भन्ने लाग्थ्यो । साथ नै टुटेपछि एक्लो भएँ । रित्तिएँ । त्यसपछि त आफूअगाडि संघर्षमात्र देखेँ ।
मेरो जन्म पर्वत जिल्लामा भएको हो । नाम लेख्नबाहेक पढाइका बाँकी कुरा थाहा नै भएन । बुवाले सिलाइको काम गरेर भए पनि खुसीसाथ हुर्काउनुभएको थियो । १९ वर्षको उमेरमा रूपन्देहीको तिलोत्तमा–६ का कपुर नेपालीसँग विवाह भयो । तर, विवाहपछिको जीवन कहिल्यै सुखद रहेन । श्रीमानले काममा ध्यान नदिने भएकाले आफैंले दुःख गर्नुपर्यो । जे त पर्ला भनेर परेको भोगियो । म त दुखियाजस्तै लाग्छ । अहिले ५३ वर्षकी भएँ । अहिले पनि काम नगरी खान छैन, मिठो खाने त भाग्यमा रहेनछ भन्ने लाग्छ ।
चार छोरी र एक छोराको विवाह भइसक्यो । कान्छो छोरा ११ कक्षामा पढ्दैछ । उसलाई धेरै पढ्ने इच्छा छ । मैले अब पढाउन सक्ने उपाय छैन । सबैथोक किनेर घर चलाउने हो । ठूलो छोरा वैशाखमा विदेश हानियो । २ लाख ऋण काढेर पठाएँ । टिनको छाप्रो हालेको घर छ । न प्रशस्त कोठा छन्, न त राम्रो ओछ्यान नै । गरिब र दुःखी भएपछि भुइँमा पनि निदाउन सकिँदो रहेछ ।
ऋण खोजेरै घर बनाएकी हुँ । अहिले महिनाको २० हजार रुपैयाँ तलब पुगेको छ । तर, ऋणको किस्ताबापत महिनाको ३० हजार तिर्नुपर्छ । घर जाँदा तलबको पैसा त सुको पनि लैजान पाइँदैन । एकैपटक ९ हजार तिरेर एक क्विन्टल चामल किन्छु । तेल, नुन, तरकारी गर्दा ३ हजार भेट्छ । मलाई मधुमेह, थाइराइड, माइग्रेन छ । औषधि किन्दा पनि ३ हजार त चाहियो महिनामा । बाबुको पढाइखर्च कति भेट्छ– त्यति थाहा पनि पाउँदिनँ ।
मन लागेको खाने, अरुले लगाएजस्तो लगाउने त सपना भयो । जीवनको कुनै पलमा सुख महसुस नभएकाले होला, जिन्दगीले दुःख बाहेक केही सिकाएजस्तो पनि लाग्दैन । मेरो काम कहिले बिहान त कहिले दिउँसो पर्छ । बिहान ६ बजेदेखि १ बजेसम्म वा बिहान ९ बजेदेखि ५ बजेसम्म ड्युटी पर्छ । सडकमा निहुरेर फोहोर टिप्दा बहुत ढाड दुख्छ । टिपेर त्यो ठाउँ छोड्न नपाउँदै कागज फ्याँक्दै हिँड्नेको कमी छैन फेरि ।
आफ्नो पेसा त गरिएकै छ तर काम गर्न सहज त कुनै पनि हुँदैन नि ! मलाई फलफूल खान मन लाग्दा, तागतिला खानेकुरा खान मन लाग्दा कहिल्यै पुगेन । दाल र भात खान पनि धौधौ भएका धेरै दिन छन् । एक्लैले सबै गरेर परिवार चलाउन परेपछि त्यो भन्दा दुःख र अप्ठ्यारो केही हुँदो रहेनछ ।
पैसा पर्याप्त भएको भए चिटिक्कको घर हुन्थ्यो । मिठो खान पाइन्थ्यो । घुम्न जान हुन्थ्यो । राम्रो लगाउन हुन्थ्यो । अभावै अभावले जीवन कट्यो, अझै पनि दुःख नै छ । पैसाको महत्त्व त धेरै हो । तर मलाई त्यस्तो लागेको होला । पुगिसरी भएकालाई त दुःख हुँदैन होला नि ? मलाई त १/१ रुपैयाँ गनेर खर्च गर्नुपर्ने स्थिति हिजो पनि थियो, आज पनि छ, भोलिको पनि उही हो । सन्तान छन्, गरेर पाल्लान् नि भन्ने सोच्दा सोच्दै म बुढी भएकी छु ।
आश गरेर बस्न त कर्मले पनि दिएन । बाँकी श्वास छउन्जेल बिरामी परेर लत्रिनु नपरोस् त्यत्ति हो । तर, कोही दाता भेटेँ भने कान्छो छोराले खुब पढ्न मन गरेको छ । उसको भविष्य बनाउन सक्थेँ होला भनेर गुहार माग्न मन लाग्छ । तर तैंले तिर्न सक्दिनस् भन्ने जवाफले न ऋण माग्न सक्छु, न त हिम्मत गर्न नै । मैले गर्न नसक्दा, मसँग पैसा नभएकाले मेरा सन्तानले राम्ररी पढ्न पाएनन्, भविष्य उज्ज्वल बनाउन सकेनन् भन्ने कुराले पिरोल्छ । रुने ठाउँ पनि छैन मेरो त ! जति रोयो, आफैंसँग रुने, फुल्लिने र काम गर्ने । बस्, यस्तै चलिरहेछ ।
प्रस्तुति : सन्जु पौडेल
