मैले स्वदेशमा जे सक्छु गर्छु भन्ने सोचेर यो काम सुरु गरेँ । जग्गाजमिन खेती गरेर खान पुग्ने छ । जग्गा छ भनेर मिहिनेत नगरेको भए सन्तान हुर्काउन र अध्ययन गराउँदैमा जग्गा बिक्री गर्नुपर्ने अवस्था आउने थियो ।
What you should know
नवलपुर — साँझपख फलफूलले टोकरी भर्छु । खर्पनका दुईतिर झुण्ड्याउने बलियो झोला तयार गर्छु । त्यसमै ढक, तराजु र ग्राहकलाई सामान दिने प्लास्टिक थन्कोमन्को लाउँछु ।
साँझमा अर्को दिन बिक्री गर्ने सामान तयार गरेपछि बिहान ढुक्कले उठ्छु । नित्यकर्म सकेपछि घरमा मिठोमसिनो जे छ, त्यही खाएर घरबाहिर निस्कन्छु । व्यापारको ठेगान हुँदैन । सिजन अनुसार उपलब्ध हुने तरकारी र फलफूल साइकलमा राखेर गाउँ–सहर डुल्छु । यसरी घरदैलोमा फलफूल र तरकारी पुर्याउन थालेको पनि वर्षौं भएर होला सामान बिक्रीका लागि कुनै समस्या छैन ।
गाउँमै उत्पादित तरकारी, फलफूल बिक्री गर्ने हुनाले ग्राहकले पनि मलाई पत्याएका छन् । पूर्वी नवलपरासीस्थित कावासोती नगरपालिकाको गोछडामा बसोबास छ । अहिले ६० वर्षको भएँ । आराम गर्ने उमेर भए पनि काम नगरी बस्नै मन लाग्दैन । केही न केही गरिरहनुपर्छ । किसान भएकाले मौसम अनुसारको खेती गर्छौं । घरको नियमित काम सकेर ३० वर्षदेखि दिनमा २४ किलोमिटर साइकल कुदाएर तरकारी र फलफूल बिक्री गर्न कावासोती पुग्छु ।
मैले बिक्री गर्ने हरिया तरकारी र फलफूल अधिकांश आफैंले र गाउँघरका छिमेकी र साथीभाइले उत्पादन गरेका हुन् । अभाव भएका बेला चिनेजानेका किसानको घरमा पुग्छु । सिजन अनुसार भोगटे, कागती, अमिलो, मुन्तला, तामा, कटहर, बेलौती, निगुरो, आँप, तोरी, हरियो मकै, अनदी चामल किन्छु । तिनै बोकेर कावासोती र डण्डा बजार जान्छु । डण्डा र कावासोतीका गल्लीगल्लीमा वर्षौंदेखिका मेरा ग्राहक छन् ।
३० वर्षअघि यो काम काम सुरु गर्दा जंगलमा पाइने बाँसको तामा पनि बिक्री गर्थें । बिस्तारै जंगलमा तामा पाइन छाड्यो । वन्यजन्तुको डर बढी हुन थाल्यो । अहिले बजारमा आधुनिकता बढेको छ । त्यति नै अर्गानिक र गाउँघरमा उत्पादन हुने सिजन अनुसारका फल र तरकारीको माग बढ्दो छ । माग बढेपछि मलाई पनि खोजी खोजी गाउँका उत्पादन बजार पुर्याएर ग्राहक खुसी बनाउने दबाब छ । अचेल फलफूल र तरकारीको भाउ बढेको छ । उपभोक्ता धेरै भएर सामान महंगो भएको छ । तैपनि महिनामा ३० देखि ४० हजार कमाउँछु ।
दिनहुँ साइकल चलाउँदा शरीर पनि तन्दुरुस्त छ । अचेल दिनमा एकपटक कावासोती बजार पुगिनँ भने खाएको पच्दैन । मेरो घरबाट कावासोती १२ किलोमिटर दूरीमा छ । ओहोर दोहोरो गर्दा २४ किलोमिटर भइहाल्छ । साइकल चलाउँदा थकाइ त लागे पनि बानी परिसकेको छ । मेरा तीन छोरा, दुई छोरी र श्रीमती छन् । यहीे पेसाको कमाइले सबै छोराले कक्षा १२ सम्म अध्ययन गरे ।
कान्छी छोरीले स्नातकोत्तर पूरा गरेर गाउँकै विद्यालयमा पढाइरहेकी छन् । जेठी छोरीको पढाइ माध्यमिक तहमै रोकिएकामा अहिले पनि दुःख लाग्छ । यही काम गरेर दुईवटा घर र केही रकम बचत गर्न सकेको छु । यो काममा लगानी भन्दा पनि मिहिनेत धेरै छ । आफूले सक्ने दिनसम्म यही कामलाई निरन्तरता दिन्छु । मलाई यही पेसा गरेर जीविका चलाउनुपर्ने अवस्था त छैन । तैपनि वर्षौंदेखि गर्दै आएको काम भएकाले शरीरले थेग्दासम्म गरिनै रहन्छु ।
शरीरमा कुनै स्वास्थ्य समस्या छैन । एक ट्याबलेट औषधि पनि खानु परेको छैन । ५० को दशकमा मेरा दौंतरीहरू पैसा कमाउन भन्दै विदेश गए । मैले स्वदेशमा जे सक्छु गर्छु भन्ने सोचेर यो काम सुरु गरेँ । जग्गाजमिन खेती गरेर खान पुग्ने छ । जग्गा छ भनेर मिहिनेत नगरेको भए सन्तान हुर्काउन र अध्ययन गराउँदैमा जग्गा बिक्री गर्नुपर्ने अवस्था आउने थियो ।
वैदेशिक रोजगारीमा जाने सबैलाई राम्रो हुन्छ भन्न सकिन्न । अरूको ठाउँ, भाषाको समस्या, कमाएको जति खर्च हुन्छ । हाम्रा मान्छेले पैसा कमाए पनि बचाउनै सक्दैनन् भन्ने छिमेकमा सुन्छु । मेरो एउटा छोराले विदेशबाट जेनतेन पैसा पठाएर डेढ तले घर बनाएको छ । तर कान्छो छोरो विदेश गएर नफर्कंदा मलाई निकै चिन्ता लाग्छ । अर्को छोरो नेपालमै सेनामा जागिरे छ । ऊ बेलाबेला घर आउँछ, भेटघाट हुन्छ, खुसी लाग्छ । तर कान्छो छोरो दुबईमा नै छ ।
प्रस्तुति : नवीन पौडेल
