‘दसैं नमनाए पनि नयाँ लुगा लगाउने र मिठो खाने गरेका छौं’

घरखर्चको जोहोका लागि भेडा बेच्न सहयोगीका रूपमा गुल्मी आएका सलिम खानको कथा ।

आश्विन १४, २०८२

सलिम खान

”Even if we don't celebrate Dasain, we wear new clothes and eat delicious food”

गुल्मी — धेरै कमाउने, घर, महल बनाउने र आनन्दसाथ बस्ने सोच छैन । सामान्य खान, लगाउन र छोराछोरीलाई पढाउन सकेको छु । यसैमा आनन्द लाग्छ । गुल्मीको तम्घासमा आनन्दको मौसम रहेछ । यहाँ १५ दिन बितेको पत्तै भएन ।

यो खेल मैदानमा घाँस रहेछ । हामीलाई यहीँ भेडा चराउन आनन्द भयो । दाङको गढवा गाउँपालिका–२ गढवामा घर छ । अहिले ३५ वर्षको भएँ । घरमा बुवाआमा, श्रीमती, छोराछोरी छन् । घरखर्चको जोहोका लागि भेडा बेच्न सहयोगीका रूपमा गुल्मी आएको हुँ ।

म त आलम खानले खरिद गरेर बिक्रीका लागि ल्याएका भेडाको गोठालो हुँ । उनलाई भेडा बिक्रीका लागि सहयोग गर्छु । यसरी सहयोगी बनेबापत मैले प्रतिदिन एक हजार रुपैयाँका दरले पारिश्रमिक पाउने कुरा भएको छ । यही आम्दानी मेरो दसैं खर्च हो । 

हामीले दसैं मनाउने गरेका छैनौं । तर, नयाँ कपडा लगाउने, नयाँ खानेकुरा खाने, यताउता त अरुको देखेर पनि भइहाल्छ । त्यसैले यस समयमा हाम्रो पनि खर्च हुन्छ । त्यही खर्चको जोहोका लागि यसरी यहाँ आइरहेको छु । बुबाले पाउरोटी बनाउनु हुन्छ । जसबाट बुवाआमाको घरखर्चको जोहो भएको छ ।

आमा घरायसी काम गर्नुहुन्छ । श्रीमती समा खान घरायसी काम गर्छिन् । छोराछोरी कक्षा ८ मा पढ्दैछन् । उनीहरूको पढ्ने खर्च यताउता र पाउरोटी बेच्ने काम गरेर निर्वाह गरेको छु । पाउरोटीमा पनि काम चल्दा दैनिक एक हजार रुपैयाँ ज्यालामा काम गर्छु । जसले बिहान–साँझ खानका लागि, छोराछोरी पढाउन र सामान्य लत्ताकपडा लगाउन पुगेको छ । 

भान्सामा त्यति राम्रो हामीलाई चाहिएको हुँदैन । सामान्य दाल, भात र तरकारी भए पुग्छ । बेलामौकामा मासु पनि खान्छौं । त्यसैका लागि आत्तिहाल्नुपर्ने अवस्था छैन । कामबाट यताउता खर्चको जोहो हुन्छ । सन्तुष्ट मानेको छु । त्यसैले खर्चले पुगेको छ । २५ वटा भेडा लिएर आएका हौं । २४ वटा बिक्री भइसके । अब एउटा मात्रै बाँकी छ । यो बिक्री भएपछि हामी फर्किने हो । चाडपर्वले गर्दा छिमेकमा रमाइलो छ । म अलिकति भए पनि पैसा होला भनेर यता आएको छु । 

भेडा जिउँदो प्रतिकिलो एक हजार रुपैयाँमा बिक्री भइरहेको छ । दसैंका लागि मठ–मन्दिरमा चढाउन चाहिने हुँदा हामीलाई पनि मौसमी रोजगार पाएजस्तै भएको छ । जसले गर्दा केही न केही फाइदा पुगेको छ । मेरो कमाइ छुट्टै हो । आउनेजाने र खाना खाने साहुको हो । यहाँ खानामा त्यति धेरै खर्च पनि भएको छैन । 

मैले सानैदेखि पाउरोटी उद्योगमा काम गर्न थालेको हुँ । अहिले पनि काम चलिरहेको छ । उता काम नभएपछि कमाइका लागि यता आएको हुँ । व्यापार व्यवसायमा फाइदा पनि हुन्छ । हामी त काम गरेर खाने मान्छे हो । त्यस्तो ठूलो कमाइको अपेक्षा छैन । काम गरेको ठाउँबाट ज्याला समयमै पाइयो भने त्यो बाहेक अरु मतलब हुँदैन । 

मैले कपडा पनि सामान्य नै लगाउँछु । तर पनि मलाई केही महसुस हुँदैन । लाज पनि लाग्दैन । इमानदारीसाथ काम गरेर खाने हो । सकेसम्म सफा कपडा लगाउने हो । त्यो पनि यसरी हिँड्दा गाह्रो कुरा हो । अरु त्यस्तो अपेक्षा केही छैन । मैले इमानदारीसाथ काम गर्छु । यो नै मेरो खास धर्म हो । कसैसँग छलकपट गर्दिनँ । त्यसैले होला– आजसम्म काम नपाएर भोकै बस्नुपरेको छैन ।

सबैले आफूले पाएको काम इमानदारीसाथ गर्ने हो भने केही समस्या आउँदैन् जस्तो लाग्छ । लोभलालच बढी गर्ने मानिस चोरीडकैती गर्न पनि हिँड्छ होला । तर इमानदार काम गर्ने र पाएको ज्यालाबाट सामान्य घरखर्च चलाउने हो भने अरू केही सोच्नु पर्दैन । म त कामलाई कहिल्यै ठूलोसानो मान्दिनँ । जस्तो काम पाए पनि गर्छु । इमानदारीसाथ गर्छु । यो नै मेरो मुख्य कुरा हो ।

प्रस्तुति : सन्तोष महतारा

सलिम

Link copied successfully