गाउँमा बुढा बुवाआमा हुनुहुन्छ । आमा कमजोर भएकाले उहाँको उपचारका लागि व्यवस्था गर्नुपर्छ । कहिलेकाही हामी पनि बिरामी हुन्छौं । यस्तैमा कमाएको रकम खर्च हुन्छ।
सुर्खेत — अहिले त मेरा सुखका दिन आएका हुन् । तर, म यहाँसम्म कसरी आइपुगेँ भन्ने आफैँलाई पत्तो छैन । पुराना दिनहरू सम्झिँदा कहाली लाग्छ । त्यसैले सम्झिन पनि चाहन्नँ । मनै त हो, कहाँ बिर्सिन मान्छ र ! बारम्बार तिनै दिनको यादले पिरोल्छ ।
सुर्खेतको चिंगाड गाउँपालिका मेरो स्थायी ठेगाना हो । अहिले वीरेन्द्रनगर नगरपालिका–१३ मा डेरामा बस्दै आएकी छु । १० कक्षा पढ्दापढ्दै प्रेम विवाह गरेँ । त्यतिबेला २० वर्षकी थिएँ । हाम्रो समाजमा बिहेपछि छोरीहरूले पढाइलाई निरन्तरता दिन सम्भव हुन्थेन । वातावरण नमिलेपछि बिहेपछि मेरो पढाइमा पूर्णविराम लाग्यो । अहिले ३० वर्षकी भएँ । एक छोरी छन् ।
प्रेम गरेर बिहे गरेका श्रीमान्सित सम्बन्ध राम्रो हुन सकेन । माया पाइनँ, उल्टो लामो समय शारीरिक, मानसिक हिंसा भोगेँ । समय बित्दै जाँदा हिंसाको रूप उग्र हुँदै गयो । कति दिन त काखकी छोरीलाई पनि भोकै राखेँ । आफू पनि भोकै बसेँ । केही सीप नलागेपछि श्रीमान्सँग अलग हुने निर्णय गरेँ ।
म त सहेरै बसेकी थिएँ । त्यही बेला मेरो पीडा देखेर विभिन्न संघसंस्थाले आँट भर्ने काम गरे । अधिवक्ता गीता कोइराला म्यामले हिम्मत भरिदिनु भयो । उहाँहरूकै सहारामा घर छोडेर वीरेन्द्रनगर बसाइँ सरेर आएँ । छोरी पनि सँगै ल्याएँ । अदालतमा 'मलाई अरू केही चाहिँदैन, छोरी मात्र दिलाइदिनूस्' भनेकी थिएँ । यसरी छोरी मैसँग बस्न पाइन् ।
त्यतिबेला मेरो छोरी ४ वर्षकी थिइन् । अहिले ९ वर्षकी भइन् । २ कक्षामा निजी विद्यालयमा पढाइरहेकी छु । गुजारा कसरी चलाउने भन्ने प्रश्न थियो । पछि अटो रिक्सा चलाउन थालेँ । यसैबाट छोरीको र मेरो गुजारा चलेको छ ।
वीरेन्द्रनगरमा सुरुमा आउँदा अरूका कपडा, अरूका सामान जुगाड गरिदिएर गीता म्यामले नै कोठामा राख्दिनुभयो । पछि वीरेन्द्रनगर नगरपालिकाले महिलालाई अटो चलाउन सिकाउने तालिम आयोजना गरेको थियो । मैले पनि त्यो तालिम लिन पाएँ । एक महिने निःशुल्क तालिमपछि किस्तामा अटो किन्ने सोच आयो ।
यहीँका संघसंस्थाबाट ऋण खोजेर अटो पनि किनेँ । तीन वर्षयता यही अटो चलाइरहेकी छु । अहिले मेरो सहारा भनेको छोरी र अटो छन् । जिन्दगीबाट ठक्कर आएर भौंतारिँदै हिँडेका बेला अटो चलाउने निर्णय गरेकी हुँ । जिन्दगी जिउन र छोरी पाल्नका लागि केही विकल्प नभेट्टाएपछि अटो चलाउने तालिम लिएर राम्रै भयो । अहिले यसैको आम्दानी पेट पाल्ने माध्यम बनेको छ ।
साढे ३ लाख रुपैयाँमा किनेको अटोको किस्ता भर्खरै मात्र तिरेर सकेँ । महिनाको २० देखि २५ हजार हुन्थ्यो । दिनको ५ सयदेखि ३ हजारसम्म कमाएँ । कहिलेकाहीँ ५ सय पनि हुँदैन । अटो बाहेक अन्त कतैबाट आउने कुनै ठाउँ छैन । गुजारा जसोतसो चले पनि अपुग त जहिल्यै हुन्छ । यता तिरे, उता पुग्दैन । उता तिरे, यता पुग्दैन । यस्तै छ । जिन्दगीमा एक्लै छु । सबै एक्लै गर्नुपर्दा साह्रै गाह्रो हुने रहेछ । त्यही पनि छोरीका लागि साहस आउँछ ।
महिनाको १५ हजारजति घरखर्च नै हुन्छ । छोरीसँगै दुई बहिनी र दुई भाइ पनि मसँगै कोठामा बसिरहेका छन् । दुई कोठा लिएकी छु । ६ हजार मासिक भाडा तिर्छु । सबैले यही कमाइबाट खान्छौं । महिनामा २० किलोका दुई बोरा चामलै सकिन्छ । दाल, तरकारी सबै किन्ने हो । कहिले मासु, माछा भैहाल्यो । २३ सय मासिक छोरीको फिस तिर्नु पर्छ । जसोतसो पुर्याएकी छु ।
भाइबहिनी सबै पढ्छन् । उनीहरू जागरिको तयारीमा छन् । उनीहरूले आफ्ना लागि गर्न सक्ने भएको भए मलाई ढुक्क हुने थियो । एक जना बहिनीले संस्थामा काम गर्न थालेकी छन् । उनले गर्दा घरखर्च चलाउन अलिक सहज भएको छ । आफूसँग पैसा नभएका बेला आफन्त र छिमेकीसँग ऋण, सापटी गर्दै चलाउँछु । पैसा भएका बेला त्यो पैसा तिर्छु ।
गाउँमा बुढा बुवाआमा हुनुहुन्छ । आमा कमजोर भएकाले उहाँको उपचारका लागि व्यवस्था गर्नुपर्छ । कहिलेकाही हामी पनि बिरामी हुन्छौं । यस्तैमा कमाएको रकम खर्च हुन्छ। काम गर्न नसक्ने बुवाआमालाई चामल लगायतका खाद्यान्न पनि पठाउनु पर्छ । सबैतिर एक्लैले गर्दा जिन्दगीमा ठूलो भारी बोकिरहेको महसुस हुन्छ । एक दिन राम्रो होला नि भन्ने आशामै यो सबै गरिरहेकी छु । आशा छ, सबै कुरा छ । त्यही आशामा अघि बढेकी छु ।
प्रस्तुति : तृप्ति शाही
