विदेशमा बस्न नचाहेर नेपाल फर्केका व्यवसायीको फर्निचर व्यवसाय पनि संकटमा परेको छ ।
धरान — व्यवसाय धरापमा परेसँगै घरखर्च चलाउन पनि हम्मे छ । कोरोनाभन्दा अगाडि व्यवसाय एकदम राम्रो थियो तर अहिले व्यवसायबाट पलायन हुन मात्र बाँकी छ ।दुःखकष्ट गरेर भए पनि गुजारा चलाउन भनेर फर्निचर व्यवसाय सञ्चालन गरेको ९ वर्ष भयो । आफैंले मिस्त्री काम जानेकाले यो व्यवसाय सुरु गरेको थिएँ । सुरुवातमा व्यवसाय फस्टाएको थियो । महिनामा साढे दुई लाखसम्मका फर्निचरका सामग्री बिक्री हुन्थे ।
व्यवसाय राम्रै चलेकाले ६ जना कर्मचारी पनि राखेको थिएँ । कोरोना महामारीले व्यवसाय ठप्प भयो । बिक्री नभएपछि तयारी सामान गोदाममै थन्किए । कारोना महामारी अन्त्य भएको पनि ६ वर्ष पुग्यो । तर, अझै पहिलाको जस्तो व्यवसाय चलन सकेको छैन ।
बराहक्षेत्र नगरपालिका–३ स्थित सैनिक टोलको एक सामान्य परिवारमा मेरो जन्म भएको हो । सुरुदेखि केही काम गरेमात्र खाना पुग्थ्यो । त्यसैले सानै उमेरबाट काम गर्न थालेँ । युवा अवस्थादेखि विभिन्न सीप सिकेको थिएँ । जसमध्ये एउटा मिस्त्री कामले अहिलेसम्म गुजारा चलिरहेको छ । परिवारमा श्रीमती र दुई छोरा छन् । २०६५ सालमा कान्छो छोराको जन्म भएपछि दुबई गएँ । परदेशी जीवन सोचेभन्दा धेरै गाह्रो हुँदो रहेछ । परिवारलाई सुखी तुल्याउन भनेर परदेशिए पनि धेरै समयमा विदेशमा बस्न मन लागेन । परिवारसँग बसेर मिहिनेत गर्छु भनेर २०७१ सालमा स्वदेश फर्किएको हुँ ।
नेपाल फर्किएर केही समय त के गर्ने अन्योल भयो । जागिर गर्दा महिनाको २० हजार पनि कमाइ हुँदैन्थ्यो । त्यसैले आफ्नै सीप उपयोग गर्ने सोचले फर्निचर पसल खोलेँ । विदेशमा भएको कमाइ र ऋणधन गरेर २०७२ सालमा धरान–१२ स्थित चतरा लाइनमा सन्जय फर्निचर सञ्चालनमा ल्याएँ । अहिले यही व्यवसाय चलाउनु हम्मे छ । अहिले कुनै महिना ५ हजार पनि आम्दानी हुँदैन । कर्मचारी ३ जना छन् । एक जनालाई महिनाको २८ हजार तलब छ । दुई जना दिन गन्तीमा ८ सयका दरले काम गर्छन् ।
काठभन्दा प्लास्टिकका सामग्री सस्तो पर्ने भएकाले मानिस त्यसमा आकर्षित भएका छन् । विवाहको समयमा अलिक बिक्री हुन्छ । तर, विवाहमा फर्निचर दिन छाडेका छन् । कमाइ नभएपछि कर्मचारीको तलब, कोठा भाडा, घर खर्च, छोराको पढाइ धान्न गाह्रो भएको छ । दोकानको महिनाको ११ हजार भाडा छ । त्यो समेत पानी, बिजुली बत्ती, कर्मचारीको तलब गरेर महिनामा ९० हजारभन्दा बढी खर्च हुन्छ । सहरमा महँगी त्यस्तै छ । हेर्दा धेरै आय आर्जन गरेको देखिन्छ तर यहाँको पैसाले खर्च टार्न हम्मे छ ।
फर्निचरका लागि काठ नै महँगो छ । काठका सामानको मूल्य ५ हजारदेखि ६० हजारसम्म पर्छ । त्यहाँबाट २ हजार पनि नाफा हुँदैन । धेरै सामान बिक्री भयो भने मात्र हो अलिक सहज हुने भनेको तर अहिले आम्दानी ठप्प छ । महिनामा ४० हजार बचत हुने भए पनि व्यवसाय जोगाउन सहज हुने थियो । तर एकरूपता छैन । कहिले महिनामा ५० हजारसम्म हुन्छ । कुनै महिना ३० जति हुन्छ त कुनै महिना ५ हजार हुन्छ ।
अहिले त मासिक खर्च नै बढी छ । धेरै थोकमा खर्च टार्नुपर्ने छ । छोराहरूको पढाइमै महिनामा १० हजारभन्दा बढी खर्च हुन्छ । अहिले घरखर्च चलाउन नै गाहो छ । महिनैपिच्छे आम्दानी हुँदैन । सामान बिक्री भएअनुसार आम्दानी हुने भएकाले ठिक्क खर्च गर्नुपर्ने हुन्छ ।
विदेशबाट नेपालमा बसेर व्यवसाय गर्ने सोच भएर नेपाल फर्किएको म यसो सोच्छु– बरु विदेशमा नै बसेको भए केही रकम जम्मा गर्न सक्थेँ होला यो समयसम्म । नेपालमा व्यवसाय संचालन गरेको १० वर्षमा नि मैले कमाएको पैसा जम्मा गर्न सकिनँ । आज आएको पैसा खर्च टार्नमा नै ठिक्क त कहिले महिना दिनसम्म एउटै सामान पनि बिक्री हुँदैन । कोरोना महामारी र अनलाइनको विकाससँगै प्लास्टिकका सामानले बजार खाइरहेका बेला फर्निचर व्यवसाय नै धरापमा परेको छ । अब त यो व्यवसायबाट पलायन हुन मात्रै बाँकी छ ।
प्रस्तुति : एलिना राई
