२५ वर्षीया महिलाले सानो चटपटे व्यवसाय सुरु गरेर एक वर्षमै ४/५ लाखको पुँजी जोडेकी छन्। व्यवसाय सफल भएपछि परिवारको खर्च सजिलै धानिएको छ।
What you should know
सिन्धुली — कहिलेकाहीँ विपत्ले आपत्मात्र निम्त्याउँदो रहेनछ । अवसर पनि ल्याउँदो रहेछ । गत वर्ष बाढी–पहिरोले बीपी राजमार्ग क्षतविक्षत बनायो । त्यसपछि बीपी राजमार्ग हुँदै गुड्ने गाडीको चाप मदन भण्डारी राजमार्गमा बढ्यो । यही मेसोमा एक गैरसरकारी संस्थाले किराना पसल र चटपटे बनाउने तालिम आयोजना गरेको जानकारी पाएँ । एक महिना त्यो तालिममा भाग लिएपछि ५० हजार रुपैयाँ लगानीमा कपिलाकोट चोकमा चटपटे पसल सुरु गरेँ । त्यसपछि मेरो व्यस्तता बढ्यो । कपिलाकोट चोकमा खाना खान रोक्ने सवारी साधनका यात्रु मेरा ग्राहक भए ।
होटलमा खाना नखानेहरूको खट्टीमिठी चटपटेको स्वाद लिन मेरो पसलमा ओइरो लाग्न थाल्यो । सुरु सुरुमा त सामान नै पुर्याउन सकिनँ । दिनभरि चटपटे बिक्री गर्थें । त्यही पैसाले भुजा, चना, कागती, प्याज र अन्य सामग्री केही उधारो राखेर खरिद गर्थें ।
यसरी पसल सञ्चालन गरेको पनि अहिले एक वर्ष पुग्न लाग्यो । व्यवसाय बढ्दै गएकाले म उत्साहित छु । सानो लगानीमा सुरु गरेको व्यवसायको पुँजी यतिखेर ४/५ लाख भइसक्यो । मेरो एउटा छोरी छन् । छोरीलाई नजिकको विद्यालयमा भर्ना गरेकी छु । सासू–ससुरा पनि मसितै बस्नुहुन्छ ।
जिल्लाको मरिण गाउँपालिका–६ मा मेरो बसोबास छ । अहिले २५ वर्षकी भएँ । जसो गरे नि घरखर्च जोहो गर्न समस्या भएपछि ऋणधन गरेर डेढ वर्षअघि श्रीमान्लाई वैदेशिक रोजगारीका लागि मरिसस पठाएकी छु ।
यसअघि श्रीमान्ले पसिना बगाएर खाडी मुलुकबाट पठाएको रकमले खान लाउनमात्र ठिक्क हुन्थ्यो । ऋण तिर्न पुग्थेन । श्रीमान्ले पठाएको रकमले घर व्यवहार चलाउन मात्र ठिक्क भयो । त्यसपछि आफैंले पनि सानोतिनो व्यवसाय गर्ने निधो गरेर चटपटे पसल खोलेकी हुँ ।
व्यवसाय सुरु गर्दा मन ढुक्क थिएन । मेरा लागि थोरै लगानी पनि धेरै थियो । कतै डुब्ने हो कि भन्ने चिन्ता थियो । तैपनि, जे होला–होला भनेर आँट गरेँ । अहिले कमाइ देखेर दंग छु । तालिम लिएकाले मलाई सजिलो भयो । चटपटेमा थरीथरीका खाद्यान्न र मसलाको मात्रा मिलाउन सजिलो भयो ।
हुन त गाउँघरको सिको गरेर व्यवसाय गर्नेहरू पनि छन् । तर मैले तालिम लिएर काममा होमिएकाले भनेजस्तो चटपटे बनाउन सक्छु । ग्राहकको कमी भने छैन । व्यवसाय सुरु गर्दा खिसीट्युउरी गर्नेहरू पनि यतिखेर मेरा ग्राहक भएका छन् । सानो लगानीमा भए पनि खाली हात बस्नु परेको छैन । व्यवसाय भएकाले घरखर्च मजाले चलेको छ । अर्कोतिर श्रीमान्ले पठाएको पैसा बचत हुन थालेको छ । विदेश जाँदा लागेको ऋण पनि तिरिसकेँ ।
यही व्यवसायबाट भएको आम्दानीले छोरी पढाउन, सासू–ससुराको औषधि उपचार र खान, लाउन मजाले पुगेको छ । मैले आम्दानी गरेको रकमबाट पसलमा सामान थप्दै लगेकी छु । त्यसैले नगद बचत छैन । पहिला सामान अरूकोबाट उधारो ल्याउने गरेकी थिएँ । अहिले भने अरूलाई खाद्यान्न तथा किरानाको सामान दिने भइसकेकी छु । पहिला साहुले उधारो सामान दिन निकै आनाकानी गर्थे । अहिले व्यवसाय बढेको देखेर पसलमै सामान झार्न आउने गरेका छन् । चटपटे व्यवसायमा मुनाफा पनि राम्रै हुने गरेको छ ।
चटपटेको व्यापारमा ५० प्रतिशतसम्म मुनाफा हुने गरेको मेरो अनुभव छ । दैनिक दुईदेखि तीन हजारसम्मको चटपटे बिक्री हुने गरेको छ । किराना पसलबाट भन्दा मलाई त चटपटेको व्यापार पो फापेको छ । विदेशमा रहेका श्रीमान् फर्किएपछि यही व्यवसायमा लगाउने सोचेकी छु ।
प्रस्तुति : राजकुमार कार्की
