दुई बुढाबुढी हुँदासम्म त जिन्दगी ठिकै रहेको तर श्रीमती बितेर गएपछि जीवन सुनोसुनो भएको ताप्लेजुङका नैनबहादुर लिम्बूको गुनासो ।
What you should know
ताप्लेजुङ — जीवनमा आफ्नो भन्नु केही पनि छैन । छैन भनेर हात बाँधेर बस्न पनि भएन । केही न केही उपाय गर्नुपर्यो भनेर गाउँकै भीम बरालको १०/१२ मुरी धान फल्ने खेत कमाएर गुजारा गरिरहेको छु । मकै पनि १०/१२ मुरी फल्छ । घरमा म एक्लै छु । त्यति उत्पादनले गुजारा चलिरहेकै छ ।
श्रीमती लीलामाया खसेको पनि दुई वर्ष भयो । अहिले पनि मनभरि उनकै सम्झना छ । उनलाई दिसापिसाबसँगै रगत जाने रोग थियो । तीनपटक जिल्ला अस्पताल उपचारमा पुर्याएँ । अन्तिम पटक जिल्ला अस्पतालले पनि हार मान्यो । यहाँ सकिँदैन धरान अथवा झापातिर लैजान भन्यो । त्यो सुनेपछि श्रीमतीले ‘म पनि बाँच्दिनँ, पैसा पनि रहँदैन बरु घरैमा लगेर राख’ भनिन् । त्यसपछि सहरतिर उपचारमा नलगेर यतै घर फर्काएर ल्याएँ । हामीबाट छोराछोरी भएनन् । श्रीमतीको पनि लामो लेखा रहेनछ ।
दुई बुढाबुढी हुँदासम्म त जिन्दगी ठिकै थियो । खाने खर्च नहुँदा पनि बुढाबुढीले एकअर्काको मुहार हेरेर भए पनि चित्त बुझाउँदै आएका थियौं । अहिले मेरो जिन्दगी रुखो बनेको छ । उजाड लाग्छ । श्रीमती बितेर गएपछि जीवन सुनोसुनो भएको छ ।
घर खर्च चलाउन धान रोप्छु । मकै फलाउँछु । बाख्रा, सुँगुर, कुखुरा पालेको छु । खेती गर्दा साह्रै महंगो छ । एकपटक खेती लगाउन १५ हजारसम्म खर्च लाग्छ । बारीबाट बाली उठाएर घरसम्म ल्याउँदा पनि निकै खर्च लाग्छ । पुरुषको दिनको पाँच र महिलाको तीन सय ज्याला छ । बनी ज्याला दिंदादिंदै खेती बालीले मरितरी खान मात्रै पुर्याउँछ । तेल, मरमसला, महंगो छ । आफन्तभित्र मरोमराउ भए तीन हजारसम्म सघाउनु पर्छ । सामान्यमा पनि पाँच सय रुपैयाँ लानुपर्छ । एक्लो हुँदा पनि मेरो महिनाको खर्च १०/१२ हजार रुपैयाँ हुन्छ ।
मेरो जन्म २०२२ सालमा भएको हो । अहिले ६० वर्षमा लागेँ । हाम्रो गाउँघरतिर एउटा गीत चलेको छ, ‘बारी रुखो मल गर्दा हुने, कर्म रुखो केही गर्दा नहुने ।’ यो गीत ठ्याक्कै मेरो जीवनसित मेल खाने ठान्छु ।
बजार (सदरमुकाम फुङलिङ)बाट गाउँ टाढो (गाडीमा दुई घण्टा) लाग्छ । कैलेकाहीँ पुग्नु पर्यो भने गाडी भाडा चाहिहाल्यो । बजारसम्म पुग्न चार सय रुपैयाँ गाडी भाडा लिन्छन् । म पुजारी बिजुवा पनि गर्छु । मान्छेहरू घरमा आउँछन् । चियापानी खुवाउनु पर्यो । चिनी, चियामा पनि मेरो महिनामा पाँच सयजति त खर्च हुन्छ ।
हिउँदमा ओड्ने ओछ्याउने किन्दा हजार–हजार जान्छ । दसैंमा टीका थाप्न आउनेलाई दक्षिणा, खाना गर्दा ३० हजारले पनि पुग्दैन । मेन्जो पुजारी गर्दा महिनामा चार/पाँच हजारले चलाउँदै छु । अन्नले खान पुग्छ । त्यसबाट अरु आम्दानी हुँदैन । आफ्नै नाममा दुई/तीन रोपनी जमिन छ । त्यसमा अर्को सालदेखि चाहिँ अलैंची फल्दा एक मन जति होला कि भन्ने छ । त्यो भयो र अहिलेकै भाउ आयो भने वर्ष दिन खानचाहिँ अभर हुँदैन । अन्नबाहेक किनेर खाने, पाहुना जाँदा लैजानेमा बढी नै खर्च हुने गरेको छ ।
पहाडमा पनि घरबाट निस्कँदा गाडी चढ्नु र भाडा तिर्नुपर्ने भएकाले पैसाकै मात्रै काम आउँछ । यसै वर्ष पनि अलैंची दुई धोक्रा त फल्यो । तर अस्ति भतिजोले बाइक किन्न पैसा निकाल भनेको थियो । मसँग पैसा थिएन ।
जति फल्छ अलैंची पनि खा बाइक पनि किन भनेर बगान नै उसैलाई जिम्मा दिएकाले यस वर्षको कमाइ खान पाइनँ । श्रीमती सुरुदेखि नै रोगी भएकाले सन्तानचाहिँ भएनन् । पहिला त अर्को ल्याउने चलन पनि थियो । तर, मैलेचाहिँ अर्की ल्याइनँ । नुन, तेल, मसलाजस्ता बजारबाट किन्नुपर्ने खानाका परिकार धेरै भए पनि बिक्री गर्ने घरायसी उत्पादन कम हुने गर्छ । मैलेचाहिँ आफैंले पालेकाले पाहुना आउँदा कुखुरा खासै किनेको छैन । नत्र त सकिँदैन नि खर्चले पुर्याउन । अब खेतीपाती मात्रैले जीवन चलाउँछु भन्न पनि कठिन छ ।
प्रस्तुति : आनन्द गौतम
