‘जीवन पनि किवी र ओखरसँगै मुस्कुराइरहेछ’

पसल ध्वस्त भएपछि किवी खेतीतर्फ लागेका सल्यानका तेजबहादुर योगीले संघर्ष र मेहनतबाट आफूलाई पुनःस्थापित गर्दै अरूलाई पनि काम गर्ने प्रेरणा दिइरहेका छन्।

भाद्र १८, २०८२

तेजबहादुर योगी 

”Life is smiling with kiwi and walnuts”

What you should know

सल्यान — अहिले म ४८ वर्षको भएँ । २०६० देखि सुरु गरेको कृषि व्यवसायअन्तर्गत अहिले ३५ रोपनी जग्गामा किवी र ओखरका बोट लहलह छन् । किवी र ओखर बिक्री गरेर अहिले वार्षिक १५ देखि २० लाख आम्दानी गर्दै आएको छु ।

सुरुवातमा किवी खेतीका लागि कृषि कार्यालयले बेर्ना दिएपछि फलामको पोल गाड्न ५/६ लाखजति खर्च गरेको थिएँ । त्यसपछि खासै खर्च गर्नु परेको छैन ।

पछिल्लो समयमा किवी गोडमेल, मलजल, काँटछाँटका लागि कामदार लगाउने गरेको छु । दैनिक एक जना कामदारले ६ देखि ७ सय लिने गर्छन् । कामदारको ज्यालाका लागि वार्षिक २ लाखजति खर्च लाग्छ । अहिले त यस्तो लाग्छ- जीवन पनि किवी र ओखरसँगै मुस्कुराइरहेछ ।

१७ वर्षको उमेरमा एसएलएलसी पास गरेर घरमा बसिरहेको थिएँ । त्यसको एक वर्षपछि २०५२ सालमा माओवादीले सशस्त्र युद्ध सुरु गरेर छत्रेश्वरी गाउँपालिका–२, गुँरासेलाई आधार स्थल बनाए । आफ्नो गाउँलाई माओवादीले आधारस्थल बनाएपछि बेलाबेला तत्कालीन नेपाली सेना गस्ती गर्न आउँथे ।

सोधखोज गरेर हैरान तुल्याउँथे । जसका कारण विभिन्न दुःख कष्ट बेहोर्नु पर्‍यो । तत्कालीन सशस्त्र द्वन्द्वको तनावका कारण माध्यमिक तहभन्दा माथि पढ्न पाइनँ । त्यसपछि बुवा–आमाले सञ्चालन गरिरहेको पसल सम्हालेँ ।

त्यही पसलबाट व्यापार विस्तार गर्दै गएँ । परिवारका ८ जनाको जीविकोपार्जनको मुख्य आधार पसल बन्यो । गल्ला र किराना पसल राम्रो चलिरहेको थियो । २०५९ जेठ २९ मा तत्कालीन नेपाली सेना र माओवादीबीच भिडन्तका क्रममा पसल ध्वस्त भयो । झन्डै ६ लाखभन्दा बढीको क्षति भयो । जसका कारण परिवारको रोजीरोटी मात्र गुमेन, साहुलाई सामानको पैसा तिर्न धौधौ भयो । 

साहुको पैसा तिर्ने उपाय भएन । रकम कसरी तिर्ने भन्ने चिन्ता हुन थाल्यो । परिवार पाल्न हम्मेहम्मे पर्न थाल्यो । साहुको ऋण तिर्न र परिवार पाल्नकै लागि भनेर म कृषि पेसातर्फ लागेँ । अहिले त्यही पेसा मेरो जीविकोपार्जनको मुख्य आधार बनेको छ । 

गुँरासेमा बारम्बार नेपाली सेना र माओवादीबीच लडाइँ भइरहन्थ्यो । धेरै गाउँलेले ज्यान गुमाउनु पर्‍यो । चिनजानकै एक दर्जनभन्दा बढी घाइते भए र अंगभंग भए । धेरैका घर जलेर खरानी भए । मानवीय र आर्थिक क्षति हुन थालेपछि ज्यान बचाउन २०५४ मा जन्मघर छाडेर विस्थापित भएँ । त्यसपछि दाङ हुँदै नेपालगन्ज बसाइँ सरेँ । 

त्यही बेला तत्कालीन माओवादीलाई सहयोग गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो । ३५ दिन हिरासतमा बसेपछि छुटेँ । वातावरण शान्त बनेपछि घर फर्किएँ । घरमा यत्तिकै बसेर केही हुँदैन । काम गर्नुपर्छ भनेर २०६० सालतिर जिल्ला कृषि कार्यालय सल्यानको सहयोगमा कृषि व्यवसायअन्तर्गत किवी र ओखर खेती सुरु गरेँ । प्रत्येक वर्ष त्यसलाई बढाउँदै लगेँ । त्यही व्यवसायलाई अहिले निरन्तरता दिइरहेको छु । 

महिनामा परिवारका लागि तीन कट्ठा चामल लाग्छ । एक कट्ठा बराबर २ हजार ५ सय पर्छ । दाल एक किलोको १५० देखि २ सयसम्म पर्छ । महिनाभरिका लागि पाँच किलो दाल भए पुग्छ । आफ्नै जग्गामा उत्पादित तरकारीले नपुग्दा किनेर खानु पर्छ ।

आठ जनाको परिवारलाई खानपानमा मासिक ४० हजार त खर्च नै छुटयाउनु पर्छ । छोराछोरीलाई उच्च शिक्षा दिलाउन वार्षिक ३ लाख छुट्याउँदै आएको छु । छोराछारीको पढाइ, खाना र किवी गोडमेलमा गरी वार्षिक ११ लाखजति खर्च छ । सबै कटाएर कहिले ५ त कहिले ७ लाखसम्म बचाउँदै आएको छु । यही बचाएको रकमबाट जग्गा जोडेको छु । 

द्वन्द्वमा पसल ध्यस्त भएपछि काम नपाएर त्यत्तिकै बस्नुपर्दा दुई छाक खाना र रोजगारीका लागि भौंतारिदै हिँड्ने गर्थें । अहिले व्यवसायमा लागेपछि दुई छाक खानलाई समस्या छैन । वर्षमा दुई/तीन पटक नयाँ कपडा फेर्न पाएको छु भने सातामा एकपटक मासु खान पाइएकै छ । मैले खेती गरेको देखेर अहिले बस्तीका ९० परिवारले किवी र ओखर खेती गरी आय आर्जन गरिरहेका छन् । धेरैलाई घरमा रोजगारी मिलेको छ ।

प्रस्तुति : विप्लव महर्जन

तेजबहादुर

Link copied successfully