‘दिनभरि कमाएर बेलुका परिवारसितै खाना खाँदा आनन्द लाग्छ’

सेनाको जागिर छोडेर भारतमा काम गरेपछि नेपाल फर्किएका तर्कराज भट्टले अटो व्यवसायमा जीवनको स्थायित्व फेला पारेका छन्।

भाद्र १७, २०८२

कमलेश भट्ट

”After working all day, I enjoy eating with family in the evening”

What you should know

डडेल्धुरा — २०६२ सालतिर नेपाली सेनामा प्रवेश गरेको थिएँ । मैले सेनामा जागिर खाने बेला मुलुक अशान्त थियो । तत्कालीन माओवादी सशस्त्र युद्धका कारण नागरिक त्रसित थिए । त्यही बेला मैले बन्दुक समाएँ । आठ वर्षसम्म सेनामा रहेर काम गरो । पलपल घरको सम्झना आइरह्यो । तर पनि आफूलाई सम्झाएँ । ‘देशले बोलाएका बेला परिवारभन्दा ठूलो कर्तव्य हो’ भन्ने लागिरह्यो ।

त्यसबेलासम्म घरखर्च राम्रैसँग चल्थ्यो । महिनाको तलबले परिवारको दैनिक खर्च सजिलै पूरा भइरहेको थियो । सेनामा कार्यरत रहेका बेला शान्ति सैनिक बनेर विदेश जाने अवसर मिल्यो । जीवनमा एकपटक भए पनि सात समुन्द्रपारि देख्ने अवसर मिल्यो । तर मनमा कहिल्यै स्थायित्व आएन । तत्कालीन सशस्त्र युद्ध अन्त्य भयो । नेपालमा पनि शान्ति प्रक्रिया चल्यो । तर पनि मेरो मन कहिल्यै स्थिर भएन । अलमलमै रहेँ । अन्ततः २०६९ सालमा राजीनामा दिएर घर फर्किएँ ।

कहिलेकाहीँ लाग्छ, ‘यदि सेनाको जागिर नछोडेको भए जिन्दगी फरक हुन्थ्यो होला ।’ तर त्यो बेलाको परिस्थितिले त्यस्तो निर्णय लिन बाध्य पारेको थियो । घर आएपछि केही वर्ष त्यत्तिकै बिते । नेपालभित्रै काम गर्न सम्भावनाको ढोका खुलिरहेको थिएन । त्यसपछि रोजगारीको खोजीमा छिमेकी मुलुक भारततर्फ लागेँ । चार–पाँच वर्ष भारतका विभिन्न सहरमा काम गरेँ । पसिना बगाएँ, तर त्यो पसिनाले भने आफूलाई मात्र चलायो, परिवारलाई ठूलो आधार दिन सकेन ।

श्रीमती र छोराछोरीको मायाले फेरि नेपाल फर्कायो । विदेशमा पसिना बगाएर भन्दा आफ्नै गाउँठाउँमा केही गरे राम्रै होला भन्ने लाग्यो । नेपाल फर्केपछि अटो व्यवसाय सुरु गरेँ । त्यो बेलासम्म डडेलधुरामा जम्मा ६ वटा मात्र अटो थिए । मैले सातौं अटो किनेर चलाउन थालेँ । पहाडी सडकमा अटो चलाउन सजिलो थिएन । उकालो–ओरालो, घुम्ती–भीर सबै चुनौती थिए । तर, यात्रुलाई सजिलो भएको थियो ।

सुरुवाती वर्षमा कमाइ राम्रै हुन्थ्यो । दैनिक ५ हजारसम्म बचत हुन्थ्यो । पाँच वर्षको अवधिमा अहिले डडेलधुरामा एक सयभन्दा बढी अटो पुगेका छन् । प्रतिस्पर्धा बढ्यो, यात्रु घटे । कमाइ घटेर अहिले ५ सय कमाउन ५ दिन नै कुर्नुपर्छ । कहिलेकाहीँ दिनमै हजार/पन्ध्र सय कमाउँदा खुसीले उफ्रिन्छु ।

श्रीमती र दुई छोराछोरी छन् । श्रीमती घरको काम सम्हाल्छिन्, छोराछोरी स्कुल पढ्छन् । सदरमुकामबाट १० किलोमिटर टाढा भातकाँडा गाउँमा घर छ । बिहान घरमै नास्ता गरेर अटो लिएर बसपार्क झर्छु । कहिलेकाहीँ बिहानै यात्रु भेटिन्छन्, त्यसकै भाडाले दिउँसोको खाना खर्च पूरा हुन्छ ।

दिउँसो स्याउले, पोखरा बजार, आइत बजार, सल्लाघारी, घटाल थान र उग्रतारा मन्दिर क्षेत्रसम्म अटो चलाउँछु । बुकिङ पाएपछि टाढा पनि गइन्छ । साँझ घर फर्किंदा बजारबाट तरकारी, चामल, पिठो बोकेर लैजान्छु । यही कमाइले हातमुख जोड्छु । हाम्रो परिवारको खानपान सामान्य छ ।

बिहान श्रीमतीले पकाएको नास्ता खाएर म बजार जान्छु । दिउँसो प्रायः होटलमै खाना खान्छु । साँझ घर फर्केपछि भने परिवारसँगै खाना खाँदाको आनन्द बेग्लै हुन्छ । बच्चाहरू दाल, भात वा रोटी, तरकारी खान्छन्, कहिलेकाहीँ माछा–मासु लिएर घर आउँछु । त्यो दिन घरमा रमाइलो हुन्छ । बच्चाहरू खुसी हुन्छन् । श्रीमतीको अनुहारमा पनि चमक आउँछ । मलाई लाग्छ, ‘कमाइ कम भए पनि आफ्नै घरमा सँगै बसेर खाने सुख संसारमा सबैभन्दा ठूलो हो ।’

अटो दुई–तीन दिन नचल्दा नै घरखर्च अड्किन्छ । स्कुल खर्च, लुगाफाटो, औषधिउपचार सबै यही सानो कमाइले टरेको छ । गाउँमा कोही बिरामी पर्दा राति–राति फोन गर्छन् । एम्बुलेन्स सहजै उपलब्ध नहुने भएकाले अटोमै बिरामीलाई अस्पताल पुर्‍याउने गरेको छु । कहिलेकाहीँ यस्तो काम गर्दा पैसाभन्दा पनि सन्तोष मिल्छ ।

लाग्छ, अटोले केवल हाम्रो परिवार मात्र होइन, गाउँ समाजलाई पनि सेवा दिइरहेको छ । सोच्छु, विदेशमा बिताएको समय, सेनामा गरेको सेवा सबै सपना मात्रै थिए । तर अहिले अटोमै जीवनको टुंगो भेट्टाएको छु । पैसाले ठूलो काम नगरे पनि परिवारलाई सँगै राख्न पाएको छु, भोकै बस्न परेको छैन । म बिहान उठ्छु, काममा जान्छु, साँझ फर्किन्छु । हातमुख जोड्ने काम हुन्छ । यसैमा सन्तोष लागेको छ ।

प्रस्तुति : तर्कराज भट्ट

कमलेश

Link copied successfully