सेनाको जागिर छोडेर भारतमा काम गरेपछि नेपाल फर्किएका तर्कराज भट्टले अटो व्यवसायमा जीवनको स्थायित्व फेला पारेका छन्।
What you should know
डडेल्धुरा — २०६२ सालतिर नेपाली सेनामा प्रवेश गरेको थिएँ । मैले सेनामा जागिर खाने बेला मुलुक अशान्त थियो । तत्कालीन माओवादी सशस्त्र युद्धका कारण नागरिक त्रसित थिए । त्यही बेला मैले बन्दुक समाएँ । आठ वर्षसम्म सेनामा रहेर काम गरो । पलपल घरको सम्झना आइरह्यो । तर पनि आफूलाई सम्झाएँ । ‘देशले बोलाएका बेला परिवारभन्दा ठूलो कर्तव्य हो’ भन्ने लागिरह्यो ।
त्यसबेलासम्म घरखर्च राम्रैसँग चल्थ्यो । महिनाको तलबले परिवारको दैनिक खर्च सजिलै पूरा भइरहेको थियो । सेनामा कार्यरत रहेका बेला शान्ति सैनिक बनेर विदेश जाने अवसर मिल्यो । जीवनमा एकपटक भए पनि सात समुन्द्रपारि देख्ने अवसर मिल्यो । तर मनमा कहिल्यै स्थायित्व आएन । तत्कालीन सशस्त्र युद्ध अन्त्य भयो । नेपालमा पनि शान्ति प्रक्रिया चल्यो । तर पनि मेरो मन कहिल्यै स्थिर भएन । अलमलमै रहेँ । अन्ततः २०६९ सालमा राजीनामा दिएर घर फर्किएँ ।
कहिलेकाहीँ लाग्छ, ‘यदि सेनाको जागिर नछोडेको भए जिन्दगी फरक हुन्थ्यो होला ।’ तर त्यो बेलाको परिस्थितिले त्यस्तो निर्णय लिन बाध्य पारेको थियो । घर आएपछि केही वर्ष त्यत्तिकै बिते । नेपालभित्रै काम गर्न सम्भावनाको ढोका खुलिरहेको थिएन । त्यसपछि रोजगारीको खोजीमा छिमेकी मुलुक भारततर्फ लागेँ । चार–पाँच वर्ष भारतका विभिन्न सहरमा काम गरेँ । पसिना बगाएँ, तर त्यो पसिनाले भने आफूलाई मात्र चलायो, परिवारलाई ठूलो आधार दिन सकेन ।
श्रीमती र छोराछोरीको मायाले फेरि नेपाल फर्कायो । विदेशमा पसिना बगाएर भन्दा आफ्नै गाउँठाउँमा केही गरे राम्रै होला भन्ने लाग्यो । नेपाल फर्केपछि अटो व्यवसाय सुरु गरेँ । त्यो बेलासम्म डडेलधुरामा जम्मा ६ वटा मात्र अटो थिए । मैले सातौं अटो किनेर चलाउन थालेँ । पहाडी सडकमा अटो चलाउन सजिलो थिएन । उकालो–ओरालो, घुम्ती–भीर सबै चुनौती थिए । तर, यात्रुलाई सजिलो भएको थियो ।
सुरुवाती वर्षमा कमाइ राम्रै हुन्थ्यो । दैनिक ५ हजारसम्म बचत हुन्थ्यो । पाँच वर्षको अवधिमा अहिले डडेलधुरामा एक सयभन्दा बढी अटो पुगेका छन् । प्रतिस्पर्धा बढ्यो, यात्रु घटे । कमाइ घटेर अहिले ५ सय कमाउन ५ दिन नै कुर्नुपर्छ । कहिलेकाहीँ दिनमै हजार/पन्ध्र सय कमाउँदा खुसीले उफ्रिन्छु ।
श्रीमती र दुई छोराछोरी छन् । श्रीमती घरको काम सम्हाल्छिन्, छोराछोरी स्कुल पढ्छन् । सदरमुकामबाट १० किलोमिटर टाढा भातकाँडा गाउँमा घर छ । बिहान घरमै नास्ता गरेर अटो लिएर बसपार्क झर्छु । कहिलेकाहीँ बिहानै यात्रु भेटिन्छन्, त्यसकै भाडाले दिउँसोको खाना खर्च पूरा हुन्छ ।
दिउँसो स्याउले, पोखरा बजार, आइत बजार, सल्लाघारी, घटाल थान र उग्रतारा मन्दिर क्षेत्रसम्म अटो चलाउँछु । बुकिङ पाएपछि टाढा पनि गइन्छ । साँझ घर फर्किंदा बजारबाट तरकारी, चामल, पिठो बोकेर लैजान्छु । यही कमाइले हातमुख जोड्छु । हाम्रो परिवारको खानपान सामान्य छ ।
बिहान श्रीमतीले पकाएको नास्ता खाएर म बजार जान्छु । दिउँसो प्रायः होटलमै खाना खान्छु । साँझ घर फर्केपछि भने परिवारसँगै खाना खाँदाको आनन्द बेग्लै हुन्छ । बच्चाहरू दाल, भात वा रोटी, तरकारी खान्छन्, कहिलेकाहीँ माछा–मासु लिएर घर आउँछु । त्यो दिन घरमा रमाइलो हुन्छ । बच्चाहरू खुसी हुन्छन् । श्रीमतीको अनुहारमा पनि चमक आउँछ । मलाई लाग्छ, ‘कमाइ कम भए पनि आफ्नै घरमा सँगै बसेर खाने सुख संसारमा सबैभन्दा ठूलो हो ।’
अटो दुई–तीन दिन नचल्दा नै घरखर्च अड्किन्छ । स्कुल खर्च, लुगाफाटो, औषधिउपचार सबै यही सानो कमाइले टरेको छ । गाउँमा कोही बिरामी पर्दा राति–राति फोन गर्छन् । एम्बुलेन्स सहजै उपलब्ध नहुने भएकाले अटोमै बिरामीलाई अस्पताल पुर्याउने गरेको छु । कहिलेकाहीँ यस्तो काम गर्दा पैसाभन्दा पनि सन्तोष मिल्छ ।
लाग्छ, अटोले केवल हाम्रो परिवार मात्र होइन, गाउँ समाजलाई पनि सेवा दिइरहेको छ । सोच्छु, विदेशमा बिताएको समय, सेनामा गरेको सेवा सबै सपना मात्रै थिए । तर अहिले अटोमै जीवनको टुंगो भेट्टाएको छु । पैसाले ठूलो काम नगरे पनि परिवारलाई सँगै राख्न पाएको छु, भोकै बस्न परेको छैन । म बिहान उठ्छु, काममा जान्छु, साँझ फर्किन्छु । हातमुख जोड्ने काम हुन्छ । यसैमा सन्तोष लागेको छ ।
प्रस्तुति : तर्कराज भट्ट
