भारतमा ३२ वर्ष काम गरेर फर्किएका वृद्ध अहिले कुश्मामा जुत्ता सिलाउने पुर्ख्यौली पेसामा छन्।
What you should know
पर्वत — कुश्मा बजारमा जुत्ता–चप्पल सिउन लागेको पनि धेरै भयो । युवा उमेरमा भारतका धेरै सहरमा नोकरी गरेँ । उमेर बितेसँगै गाउँ फर्किएर पुर्खाले गर्दै आएको उही जुत्ता सिलाउने सीप समाएँ । अहिले उमेरले ७१ वर्ष पुगेँ । कपाल झरेर तालु खुइलिए पनि रोगब्याधी लागेर औषधि खानु परेको छैन । यसैमा सन्तोष छ ।
मेरो घर कुश्मा नगरपालिका–७ गोदाममा रहेको छ । जुत्ता सिलाउने काम पुर्ख्यौली पेसा हो । तर मैले गर्न थालेको जम्मा १५ वर्ष भयो । केटाकेटी उमेरमा हजुरबुवा/बुवासँग गाउँगाउँमा डुलेर जुत्ता सिलाउन सिकेको थिएँ । युवा उमेर हुँदै गएपछि भने गाउँमा चलेको भारत जाने लहरले मलाई पनि छोयो । भारतको सिलाङ, नागाल्यान्ड, हरियाणा लगायत सहरमा ३२ वर्ष नोकरी गरेँ ।
जवानी परदेशमै बित्यो । बुढ्यौलीमा आएर आफ्नै पुर्खाले देखाइदिएको कामले खान दिएको छ । दिनमा ५ सय रुपैयाँजति आम्दानी हुन्छ । महिनाको त्यस्तै १४–१५ हजार त पार्छु । नुन–तेललाई राम्रै पुगेको छ । पहिलेजस्तो कमाइ छैन । पहिले पहिले त दिनमा १५ सयजति हुन्थ्यो । अहिले बजारमा मान्छे नै छैनन् । त्यही पनि पुरानो च्यातिएको सिलाएर लाउन मान्छेले छाडिसके ।
यो काम सजिलै लाग्छ । सक्ने उमेरसम्म गर्ने हो । बजार आएपछि सबै जना भेटिन्छन् । मन खुसी हुन्छ । नसक्दा सरकारले दिएको वृद्धभत्ता छ, त्यही खानी, बस्ने हो ।
जन्मेका हिसाबले तीन छोरा र एक छोरी हुन् । दुई छोराचाहिँ सानैमा बिते । त्यही एउटा छोराले दुःख/सुखमा सघाउँदै आएको थियो । तर, विवाह गरेर एउटा सन्तान जन्माइसकेपछि धन कमाउन खाडी मुलुक जान्छु बा भनेर गयो । वर्षदिनमै बाकसमा फर्कियो । बुढेसकालमा छोरा गुमाउनुको पीडाले बेलाबेलामा भक्कानिन्छु । के गर्नु... खप्परमा जे लेख्या छ, त्यो सहन सक्नुपर्ने रहेछ ।
छोराको मृत्यु कसरी भयो ? यसबारेमा केही थाहा छैन । धेरैले मृत्युका अनेक कारण आ–आफ्नै किसिमले निकाले । मलाई भने छोराको मृत्युको कारण थाहा पाएर थप कमजोर बन्नु थिएन । बरु जतिसक्दो वियोगलाई भुलाएर हुर्कंदै गरेको सानो नातिलाई बुवाको कर्तव्य र जिम्मेवारीको महसुस गराउनेतर्फ लागेको छु । छोरो बितेपछि बुहारी पनि नातिको भविष्य सम्झेर विदेश गइन् । घरमा श्रीमती, म र नाति मात्र छौं । हाम्रो खुसी, भविष्य जे भने नि यही नाति केटो हो ।
नाति कुश्माको निजी विद्यालयमा पढ्छ । बिहान सँगै खाना खाएर नाति र म बजार ओर्लन्छौं । उसलाई विद्यालय छाडेर म पसल खोल्नतिर लाग्छु । आफ्नो बुवा बित्दा ३ वर्षको नाति अहिले १० वर्षको पुग्यो । नातिलाई स्कुल ल्याउने र घर पुर्याउने काम मेरै हो । नाति–बाजे गफ गर्दै उकाली–ओराली गर्छौं । शनिबारचाहिँ नातिको विद्यालय बन्द हुने भएकाले म पनि बिदामै बस्छु । बजार झर्दैनौं ।
घरअघिको बारीमा लगाएको तरकारी खेतीमा श्रीमती र म मिलेर गोडमेल गर्ने र घरायसी काममै समय बिताउने गर्छौं । जिन्दगी आनन्दै छ । कसैलाई ऋण तिर्न छैन । बिहान–बेलुकी खान राम्रै पुगेको छ ।
यस गाउँमा पुर्ख्यौली पेसा अँगाल्ने म एक्लैजस्तो भएको छु । दाजुभाइ खलकमा ९० घरपरिवार हौं । सबैले फरक पेसा र व्यवसाय समाएका छन् । हाम्रो परिवारका ९ जना दाजुभाइमध्ये म र एक जना दाइ मात्रै जीवित छौं । सानो बेलाको याद आयो । बुवाले घरका सबै परिवारलाई साथमा लिएर विभिन्न ठाउँमा जुत्ता सिलाउन लाने गर्नु हुन्थ्यो ।
पर्वतको दक्षिण हुवास हुँदै स्याङ्जाको आँधीखोलासम्म बुवासँगै जुत्ता सिलाउन गएको सम्झना छ । पहिले त एउटा गाउँमा जाने, त्यहीँ छाप्रो बनाएर ६ महिनाजति बसेर जुत्ता सिउने र फेरि अर्को गाउँ जाने हुन्थ्यो । भैंसी र गाईका छालाको जुत्ता सिलाउनु पर्थ्यो । त्यसबेला अहिलेजस्तो सबैले जुत्ता लगाउन सक्ने हैसियत हुन्थेन । धनीका परिवारले मात्रै जुत्ता लाउँथे ।
प्रस्तुति : सुमनजंग थापा
