‘फलफूल बेचेर जम्मा गरेको ८ लाखले घरको जग हालेँ’

भारतमा ७ वर्ष काम गरेर फर्किएका तौलन बानियाँ अहिले भैरहवामा ठेलामा भुइँकटहर र नरिवल बेच्छन्।

भाद्र १६, २०८२

तौलन बानियाँ

”I built the foundation of the house with 8 lakhs collected by selling fruits”

What you should know

तिलोत्तमा — आमा बितेको तिथिमिति सम्झना छैन । बुवाले नै मलाई र दिदीलाई हुर्काउनु भएको हो । बुवाले गरेको दुःख देखेरै हुर्किएकाले मनमा ठूला सपना बुनिनँ । आफ्नो औकातभन्दा धेरै कुरा पाउने रहर नगर्नु नै बेस हुन्छ भन्ने मेरो सिद्धान्त छ ।

रूपन्देहीको कोटहीमाई गाउँपालिका–८, भंगैयामा जन्मिएको हुँ । जब ८ कक्षामा फेल भएँ, मेरो दिल टुट्यो । त्यसपछि पढाइ छाडेँ । स्कुल जान छाडेपछि घरमै बसेर मात्र भएन । पैसा कमाउने निधो गरेर भारत पसेँ । भारतको एक कम्पनीमा ७ वर्षजति काम गरेँ । ८/९ हजार मासिक तलब थियो । कमाइजति बुवालाई पठाउँथेँ । यही सिलसिलामा भारतमै बिहेवारी गरियो । अहिले ४ सन्तान छन् । 

श्रीमती पनि उनको परिवारकी एक्ली सन्तान हुन् । अहिले उनी छोराछोरीसहित माइतीमै छन् । बुढो भएका बुवालाई छाडेर हिँड्न सक्दिनन् । त्यही भएर म यता आएर ३ हजार ५ सय रुपैयाँ कोठा भाडा तिरेर सिद्धार्थनगर–४ मा सडक व्यापार गर्न थालेको ६ वर्ष भइसक्यो । 

खाना पकाइवरी बुवालाई खुवाएपछि म ठेला लिएर निस्कन्छु । अहिले भुइँकटहर र नरिवलको सिजन भएकाले त्यही बेच्छु । एकपटक गोदामबाट किनेको फल ३ दिनसम्म रहन्छ । त्यसपछि फेरि खरिद गर्न जाने हो । तीन दिन पुग्ने फलफूल ल्याएर आयो अनि ठेलामा राखेर बजार डुल्यो, यही हो मेरो दिनचर्या । यति गर्दा दिनको १५ सयजति कमाइ हुन्छ ।

बुवाको औषधी खर्च मासिक ३ हजार ५ सय रुपैयाँ छ । दिनको ६ सयजति रासन खरिदमा खर्च भइहाल्छ । हामी मासु खाँदैनौं । फेरि फलफूल आफ्नै व्यापार भएकाले खान मन लाग्दा रोकिँदैन । नरिवल फुटालेर काटेपछि तयार हुने प्रति पिसको २० रुपैयाँ लिन्छु । भुइँकटर पनि सिंगै बिक्री हुँदैन । त्यसैले काटेर एक पिसको ५० रुपैयाँका दरले बिक्री गर्छु । सधैं सबै बिक्री हुँदैन । फेरि लामो समय नटिक्ने भएकाले फलफूल बिग्रियो भने घाटा भइहाल्छ । 

अवस्था हेरेर चल्ने मान्छेलाई रहरले पछ्याउँदो रहेनछ । मैले ठूला सपना कहिल्यै बुनिनँ । अझ भनौं सपना नै देखिनँ । श्रीमती र छोराछोरीको रेखदेख ससुरालीबाट भइरहेकाले सहज भएको छ । कहिलेकाहीँ म पनि म ससुराली जाँदा र उताबाट बालबच्चा आउँदा खर्च गरिहाल्छु । यस्तै व्यापारबाट ८ लाख जम्मा गरेको थिएँ । यसपालि त्यही ८ लाख खर्च गरेर घरको जग हालेँ । अझै कमाएर ६ कोठाको घर बनाउने सोचले काम गरिरहेको छु ।

पुरानै घर भएको जमिनमा नयाँ घरका लागि जग हालेको हुँ । सम्पत्ति भएका मानिस होइनौं हामी । परिवारमा धेरै जना नभएकाले पुगिरहेको छ । मलाई कहिले केही पिर लार्ग्दैन । मेरो रेखदेख र भविष्यका लागि दुःख गरेका बुवालाई केही हुनु भएन बस् । उहाँ स्वस्थ रहनु पर्‍यो ।

भारतबाट आएपछि के गर्ने भनेर भौंतारिरहेको थिएँ । सडकमा फलफूल बेचेको हेरेँ । भुइँकटहर, नरिवल काटेर बेचेको पनि देखेँ । अनि त्यही काम सिकेर व्यापार नै गर्छु भनेर लागेँ । साथीभाइ विदेश छन्, केही ठूला मँन्छे पनि बने । तर मेरो पढ्ने बेला दिल टुट्यो, नपढेपछि जे जानियो, त्यही न गर्ने हो । आफूले गरेको काम ठीक मान्नै पर्‍यो । हातमा मेहेन्दी लगाएर फलफूल बेच्दा, ग्राहकले सोध्छन् ।

मेरो जवाफ, भुइँकटहरको पानीले हात खान्छ, त्यसैले जोगाउन मेहन्दी लगाएको हुँ । अप्ठ्यारो त छ नि, तर पेट पाल्ने बाटो पनि अरु छैन । जसोतसो यही काम गर्ने हो । अहिले ४२ वर्षको भएँ । अझै केही वर्ष यही व्यापार गर्न सकिन्छ । अब त सन्तान हुर्किंदै गइरहेका छन् । उनीहरूलाई पढाउन सके त भइहाल्यो ।

म बिहानभरि घरमै व्यस्त हुन्छु । म काममा गएपछि बुवाले दिउँसो खाजा किनेर खानुहुन्छ । पकाउने अरु छैनन् । मैले कमाएको सबै पैसा बुवालाई दिन्छु । सामान किन्न, केही गर्न उहाँसित मागेर लैजाने बानी छ । बेलुका ९ बजेतिर घर फर्किन्छु । अनि खाना पकाएर बुवालाई ख्वाउने र आफूले खाने । भाँडा–बर्तन सबै धोइपखाली गरेपछि बल्ल सुत्ने हो ।

दिनभरि ठेला लिएर चोक, गल्ली घुम्दा हातखुट्टा दुख्छन् । काम नगरी भएन । काम गर्ने, खुसी हुने, यसरी नै रहेछ जीवन जिउने । अचेल फेरि पैसा नै जीवन भइसक्यो । केही खाउँ पैसा, कुनै लुगा किन पैसा, कहीँ जाउ पैसा, औषधि उपचारका लागि पैसा । पैसा सबथोक हो, नभए त बाँचिन्न नि !

प्रस्तुति : सन्जु पौडेल

तौलन बानियाँ

Link copied successfully