‘हातमा सीप भएपछि फुटपाथमा पसल थापे पनि गुजारा चल्दो रहेछ’

२२ वर्षको उमेरमा धनकुटा आएका सलमान खान अहिले ६५ वर्षका भए । तर पनि उनको संघर्ष रोकिएको छैन।

भाद्र १४, २०८२

सलमान खान 

”Once you have skills, you can make a living even if you run a shop on the sidewalk”

What you should know

धनकुटा — सुनसरीको भुटाहाबाट बसाइँ सरेर धनकुटा आएको पनि ४३ वर्ष भयो । यसबीचमा कति उथलपुथल आयो, गन्ती नै गरेको छैन । म धरानबाट आउने बेला भर्खर बाटो खुलेको थियो । त्यसबेला ७ रुपैयाँ गाडी भाडा तिरेर पहिलोपटक धरानबाट धनकुटा आइपुगेको सम्झना ताजै छ ।

भर्खरै बिहे गरेको थिएँ । श्रीमती र आफ्नाका लागि घरखर्च जुटाउनु पर्ने भयो । हातमा भएको सीपबाट कमाइ गर्ने योजना बनाएर यहाँ आएको थिएँ । २२ वर्षको कलिलो उमेरमा आएको म अहिले धनकुटामै बुढो भइसकेँ । अहिले म ६५ वर्षको भएँ । विगतका उतारचढाव सम्झिँदा रमाइलो पो लाग्दो रहेछ त ! 

यसरी पुराना दिन सम्झिने फुर्सद पनि खासै मिल्दैन । आज कुराकानी गर्दा झल्झली पुराना दिन याद आइरहेका छन् । सुरुमा श्रीमतीलाई घरैमा बुवा–आमासँग छाडेर धनकुटा आएको थिएँ । केही समय त महिना दिनमा एक/दुईपटक घर आतेजाते गर्थें । कमाइको ठेगान नहुँदासम्म परिवारै बोकेर ल्याउन मन लागेन । 

अहिले मेरा एक छोरा र चार छोरी छन् । उनीहरू सबैको बिहेबारी भइसक्यो । सबै छोराछोरीबाट गरेर १७ जना त नाति–नातिना भइसके । अहिले त मेरो परिवारै फूलबारीजस्तो बनेको छ । नाति–नातिना खेलाउने उमेरमा पनि बूढो शरीरलाई आराम दिएको छैन । आफूले जानेको सीप अनुसारको काम गरेर घरखर्च चलाइरहेको छु । 

सुरुमा धनकुटा बजारमा लाग्ने बिहीबारे साप्ताहिक हाटमा कस्मेटिक पसल र छाता मर्मत गर्ने काम गरेँ । बीचमा प्वाल भएको तामाको पाँच–दश पैसाले छाता मर्मत हुन्थ्यो । त्यसबेलाको कमाइ देखेर म धेरै खुसी भएँ । पहिलो कमाइ कति भयो, त्यो त याद छैन, तर त्यसले मलाई यही पेसाबाट कमाइ गर्न सक्छु भन्ने विश्वास भने दिलाएको थियो । त्यसपछि हिले, पाख्रिबास, तेह्रथुमको वसन्तपुर, म्याङ्लुङ र संखुवासभाको मुडेसम्म साप्ताहिक हाटमा पिठ्युँमा बोकेरै सामान बिक्री गरेँ । सबै खर्च कटाएर महिनामा ५ सय बढी बचत हुन्थ्यो । म कुनै अम्बल लिन्न । त्यसैले आवश्यक कामबाहेक खर्च पनि त्यति हुँदैन । 

पसल गर्ने कुनै कोठा नै थिएन । फुटपाथमा सामान फिँजाएर बस्थेँ । कस्मेटिक सामान र छाता मर्मत दुवैले मेरो कमाइ राम्रै थियो । अहिलेसम्म त्यही कामबाट कमाइ सन्तोषजनक छ । छोराछोरीको बिहे गर्ने खर्च यसै पेसाबाट जुटाएको हुँ । अहिलेसम्म घरखर्च रामैसँग टरेको छ । १०/१५ वर्षअघिदेखि त ग्यास चुलो, प्रेसर कुकर मर्मत गर्ने कामसमेत थपिएपछि सोचेभन्दा राम्रै कमाइ हुन्छ । लगानी कम हुने भएकाले सीपको कामले कमाइ पनि सन्तोषजनक छ ।

धनकुटा आउँदा सुरुमा घरभाडा मासिक ५ रुपैयाँ थियो । अहिले ५ हजार तिर्ने गर्छु । घरखर्चका रूपमा श्रीमतीलाई हप्तैपिच्छे ६ हजार रुपैयाँ पठाउँछु । बाँकी मलाई खर्च र बचत पनि हुने गर्छ । छोराछोरीले पढाइ भने सामान्य मात्र गरे । छोरा त रोजगारीका लागि कतार गएको छ । त्यहाँ जाने खर्च पनि ऋण काढ्नु परेन । आफ्नै कमाइले उसलाई त्यता पठाउन सकेँ । चाडपर्व, लुगाफाटा, खानानास्ताका लागि फुटपाथकै पसलको कमाइले पुगेको छ ।

अचेल त कुकर, ग्यास चुलो, छाता मर्मत गर्न घरैमा बोलाउने पनि गर्छन् । त्यसैले पनि दिनमा फुर्सद कमै हुन्छ । अब त धनकुटामा सलमान खान भनेपछि सबैले चिन्छन् । भारतको हिरोका नाम मिल्ने भएर कसैकसैले त हिरो पनि भन्छन् । हातमा सीप भएपछि मान्छे भोकै मर्दैन भन्ने लाग्छ । क्षमताभन्दा ठूलो सोचेर मात्र हुँदैन । छोराछोरीलाई पनि यसै भनेर सम्झाउने गर्छु । 

प्रस्तुतिः रमेशचन्द्र अधिकारी

सलमान खान 

Link copied successfully