‘कमाइ भएका बेला बचत नगरेकाले अहिले पछुतो भो’

मैले त्यतिबेला व्यापार गर्दा पैसा नउडाएको भए, बचत गरेर घरघडेरी मात्रै जोडेको भए त्यसैमा टहरो हालेर बस्ने थिएँ ।

भाद्र २२, २०८२

दुर्गाबहादुर पुन

”I regret now that I didn't save when I earned”

What you should know

अर्घाखाँची — साथीहरू खर्चालु थिएनन्, कन्जुस्याइँ गर्थे । म अलि फुर्मासी थिएँ । साथीहरूलाई खुवाउँथेँ, पिलाउँथेँ । व्यापार भइहाल्छ, छोराहरूले पछि कमाइ हाल्छन् भन्ने लाग्थ्यो । मैले बैंकमा बचत गरिनँ । अहिले मेरा साथीहरू बुटवल, काठमाडौं र सन्धिखर्कमा अग्ला घर बनाएर बसेका छन् । गाडी चढेका छन् । मेरो भने खोलाकिनारको टहरोको बास छ ।

तीन दाजुभाइमध्ये म जेठो हुँ । बुवाको सम्पत्ति तीन भाग लाउँदा खेती गरेर खानलाई जग्गा पुगेन । मेरो भागमा परेको जग्गा पनि भाइहरूलाई गरेर खाऊ भनेर म भने २०४८ सालमा व्यापार गर्न भनेर चुत्रावेशी आएको थिएँ । 

त्यतिबेला २२ वर्षको मात्रै थिएँ । २०३२ सालमा यहाँ सर्दा चहलपहल बढ्दै थियो । जताततै बगर र जंगल थियो । छिटफुट मात्रै कच्ची घर थिए । टिनको छाप्रो र काठले बारेको घरमा ऋणधन गरेर व्यापार सुरु गरेँ । 

यही सानो टहरोमा दाल–भात, मदिरा, मासु, जेरी, समोसा, परौंठा पकाउँथेँ । त्यतिबेला गाउँबाट अड्डा, अदालतमा काम गर्ने मान्छेले पसलमा आएर खाना–खाजा खान्थे । त्यतिबेला जन्मथलो मालारानी गाउँपालिका–५ गोखुंगाबाट सन्धिखर्क आउजाउ गर्न पैदल दुई दिन लाग्थ्यो । यहाँ बास बस्ने हुँदा खाना खान्थे । त्यसले व्यापार राम्रो हुन्थ्यो ।

अहिले सडक सुविधाले सदरमुकामबाट दुई घन्टामा गोखुंगा पुगिन्छ । बजार विस्तार हुँदै गयो, चहलपहल बढ्यो र मेरो व्यापार पनि राम्रो हुँदै गयो । कोरोना महामारीभन्दा अगाडिसम्म व्यापार राम्रो चलेको थियो । लकडाउन भएपछि सबै घरभित्र बस्न थाले, होटलमा कोही आएनन्, भाडा तिर्ने पैसा नभएपछि मैले पसल बन्द गरेँ । त्यतिबेलासम्म दैनिक कमाइ राम्रो थियो । चार छोरी, तीन छोरालाई सदरमुकामकै स्कुलमा पढाउन र घरखर्च पुगेको थियो । राम्रो खाजा व्यापारीमा मेरो गणना हुन्थ्यो । सुकुटी, मासु पकाउँथेँ । साथीभाइ आउजाउ बाक्लो थियो । मेरा अन्य साथीले पनि व्यापार गर्थे । उनीहरूले नाफाजति बैंकमा लगेर बचत गरेका रहेछन् । 

कोभिड मेरा लागि दशा बन्यो । लकडाउन नभएको भए भाडाको घरमै मैले पहिले जस्तै सेकुवा, सुकुटी, जेरी, समोसाको व्यापार गरिरहन्थेँ । दुई/चार पैसा हातमा हुन्थ्यो । मैले घडेरी पनि किनिनँ, बैंकमा बचत पनि गरिनँ । ६ लाखभन्दा बढी उधारो पैसा पनि उठेन । 

लकडाउनका कारण चार वर्षसम्म बसेर खाँदा पैसा सबै सकियो । पैसा सकिए पनि घरबेटीले यत्तिकै बस्न दिएनन् । त्यसपछि म सन्धिखर्क–चुत्रावेशी बजार जोड्ने बाँगीखोलापुल छेउमा ठेलामा सानो व्यापार गर्न थाले । खोलाकिनारामा टहरो हालेर बसेको छु । दिनभर यही पुल छेउमा जेरी, पकौडा, समोसा, अन्डा बनाएर बिक्री गर्छु । पहिला मेरो होटलमा आएर खाजा खाने ग्राहकले त खाँदैनन् । अहिले गाउँबाट आएका नयाँ ग्राहक छन् । दिनमा एक हजार रुपैयाँ जतिको व्यापार गर्छु । बिहान–बेलुका भात, खाजा खान मुस्किलले पुगेको छ । अहिले म ७२ वर्षको भएँ । उमेरले मभन्दा दुई वर्ष कान्छी श्रीमती मनि पुनको टाउको, हातगोडा दुख्ने समस्या छ । औषधि खाइरहनुपर्छ । 

यो बुढेसकालमा गाउँ फर्किने मन त छ । तर, के गर्नु जग्गा छैन । यहाँ त ज्यानले सक्दासम्म व्यापार गरेर पैसा देख्न पाइएको छ । जिन्दगी यस्तै रहेछ । कहिलेकाहीँ त विरक्त लाग्छ, मन रुन्छ । मैले त्यतिबेला व्यापार गर्दा पैसा नउडाएको भए, बचत गरेको भए घर, नत्र घडेरी मात्रै जोडेको भए त्यसैमा टहरो हालेर बस्ने थिएँ । मलाई मेरा तीन जना छोरा र चार छोरीलाई सहरमा पढाएँ । यसैमा गर्व लाग्छ । छोरी सबैको विवाह गरिदिएँ । कान्छो छोराले विवाह गरेर नाति जन्मेको छ, छोरा–बुहारीले मलाई सघाउँछन् । जेठो र माइलो दुबईमा छन् । अब म छोराकै आश र भरमा बसेको छु । 

गाउँमै भए पनि घरजग्गा किनेँ भने म उतै गएर बसुँला भनेर आशा गरेको छु । पुल छेउमा दिनभर व्यापार गरेको कमाइ खासै बचत छैन । साथी सहकारीमा दैनिक एक/दुई सय बचत गर्छु । त्यो पैसा कहिले औषधि किन्न, कहिले अरु खर्चमा सकिन्छ । अहिले खातामा ३ हजार रुपैयाँ मात्रै बचत छ । म बसेको टहरो हेर्न सन्धिखर्क नगरपालिकाका प्रमुख कृष्णप्रसाद श्रेष्ठ आउनुभएको थियो । मेरो दुःख देखेर अहिले यहीँ बस्नूस्, पछि केही व्यवस्था गरौंला भन्नु भएको छ । मलाई कतै बस्ने ठाउँ र सानो घर बनाइदिए मेरो मन खुसी हुन्थ्यो ।

प्रस्तुति : वीरेन्द्र केसी

दुर्गाबहादुर

Link copied successfully