‘गाउँमा सडक पुगेपछि खच्चर बेचेर मोटरसाइकल किनेँ’

मेरो उमेरका धेरै साथीभाइ भारतमा मजदुरी गरिरहेका छन्, कोही खाडीमा पसिना बगाइरहेका छन्, म भने गाउँठाउँमै मोटरसाइकल चलाएर दुई/चार पैसा कमाइसँगै सेवा पुर्‍याइरहेको छु ।

आश्विन १२, २०८२

रमेश सार्की

After reaching the road in the village, I sold the mule and bought a motorcycle.

बैतडी — मानवचोला लिएपछि समयअनुसार बदलिनु पर्ने रहेछ । नत्र भने जिन्दगी व्यर्थ हुने रहेछ । गुजारा चलाउन धौ हुँदो रहेछ । म अहिले ४२ वर्षको भएँ । मेरो उमेरका धेरै साथीभाइ भारतमा मजदुरी गरिरहेका छन् । कोही अहिले खाडी मुलुकमा पसिना बगाइरहेका छन् । म भने मोटरसाइकल चलाएर गाउँठाउँमै दुई/चार पैसा कमाइसँगै सेवा पनि पुर्‍याइरहेको छु ।

पहिला घरखर्च चलाउने माध्यम घोडा र खच्चर थिए । अहिले यही मोटरसाइकल छ । यसबाट मैले राम्रैसित घरखर्च चलाइरहेको छु । 

बैतडीको पञ्चेश्वर ̵१ पालडीमा मेरो घर छ । मलाई कसैले तपाईंको जागिर के हो भनेर सोध्दा प्रस्ट उत्तर हुँदैन । म मान्छे बोक्ने भरिया हुँ भनेर जवाफ फर्काउँछु । यो सुनेर मान्छे अचम्म मान्छन् । पछि पिठ्यूँमा नभएर मोटरसाइकलमा मान्छे बोक्छु भनेर उनीहरूलाई सम्झाउँछु । 

मोटरसाइकलमा मान्छे ओसारपसार गर्न थालेको पनि पाँच वर्ष भयो । गाउँका बासिन्दाले अह्राएको समयमा र भनेको ठाउँमा पुर्‍याउने मेरो दैनिकी हो । यसरी गन्तव्यमा पुर्‍याएबापत खुसीले जति दिन्छन् लिन्छु । 

अहिले मजस्ता धेरैले मोटरसाइकलमा मान्छे बोक्ने काम गरिरहेका छन् । त्यसैले ठाउँअनुसारको भाडा तोकेका छौं । सेवाग्राहीले भाडा सोध्दा ठाउँ अनुसारको भाडा बताइदिन्छु । तर, कसैकसैलाई ‘तलमाथि कति दिने हजुरको इच्छा’ पनि भन्छु । दुःखी बिरामीलाई के भाडा तोक्नू ? नदिए पनि सेवा सम्झन्छु । 

यो काम थाल्नुअघि ६ वर्ष भारतका होटलमा काम गरेर फर्किएको हुँ । भारतमा नोकरी गरेर पनि घरखर्च चलेकै थियो । अर्काको देशमा राम्रै काम गर्दा पनि मालिकको गाली खाँदाखाँदा वाक्कदिक्क भएर गाउँ फर्किएको हुँ । उतिबेला हाम्रो गाउँघरमा सडक पुगेको थिएन । जन्ती जाँदा बेहुला–बेहुली बोक्न घोडाको प्रयोग गरिन्थ्यो । मैले भारतका होटलमा कमाएको पैसाले घोडा खरिद गरेर यो काम गरेँ । बिहे नभएको सिजनमा व्यापारीका सामान र बिरामी बोक्न घोडा प्रयोग गर्थें । यसबाट राम्रै कमाइ भइरहेको थियो । घरखर्चसँगै केही बचत पनि भएको थियो । 

घोडा बेचेको रकमले र बचतले दुई खच्चर किनेँ । खच्चरमा व्यापारीको सामान, घर निर्माणमा प्रयोग हुने बालुवा, सिमेन्ट र ढुंगा बोक्ने काम गरेँ । यसबाट दिनमा दुई हजार भन्दा बढी कमाइ हुन्थ्यो । यसले मेरो घरको गुजारा राम्रैसँग चलेको थियो । मेरा ६ छोराछोरी र श्रीमती छन् । जेठी छोरीको बिहे गरिसकेँ । 

मैले कक्षा ८ सम्म मात्र पढेको हुँ । घरको आर्थिक अवस्था कमजोर थियो । बाँकी पढ्ने ईच्छा भए पनि घरको आर्थिक अवस्थाले पढ्न पाइनँ । मैले पढाइको महत्त्व राम्रोसँग बुझेको छु । त्यसैले सबै छोराछोरीलाई पढाउँदै छु । 

घोडा र खच्चरबाट राम्रै कमाइ भइरहेको थियो । स्थानीय, प्रदेश र संघको निर्वाचन भयो । जनप्रतिनिधिहरू निर्वाचित भएर आए । गाउँगाउँमा सडक निर्माण भए । सडक सञ्जालले जोडिएसँगै खच्चरले भारी बोक्ने दिन पनि गए । खच्चरमा बोक्ने घर निर्माणका सामान ट्रयाक्टरमा ओसार्न थाले । व्यापारीको सामान ट्रक र जिपमा पसल–पसल पुग्न थाल्यो । मैले पनि समयअनुसार बदलिनु पर्ने भयो । अनि खच्चर बेचेर मोटरसाइकल किनेँ । मोटरसाइकल चलाउन चाहिने लाइसेन्स बनाएँ । अहिले यसबाट दिनमा १/२ हजारसम्म कमाइ हुन्छ । 

नयाँ मोटरसाइकल किन्न सहकारीबाट पनि ऋण निकालेको छु । घरखर्च र पेट्रोलको खर्च यसबाट चलिहाल्छ । तर सहकारीको व्याज तिर्न धौ धौ नै छ । यसबाट धेरै ठूलो प्रगति गर्न नसके पनि घरखर्च चलेको छ । बिहान–बेलुका घरको रेखदेख गर्न पाएको छु । आफन्त र साथीभाइसँग हिँडडुल गर्न पाएको छु । यसैमा म सन्तुष्ट छु । मलाई मायाले झ्याउरे भनेर बोलाउँछन् । मेरो मोटरसाइकललाई झ्याउरे यातायात भन्छन् । 

प्रस्तुति : मोहन चन्द

रमेश सार्की

Link copied successfully