‘मादल बेचेरै आठ जनाको परिवार पालेको छु’

नयाँ मादल बिक्री, पुरानोको मर्मत गरेर मासिक ६० हजारसम्म कमाइ हुन्छ । मादल उद्योग अहिले मेरो र परिवारको जीविकोपार्जनको राम्रो माध्यम बनेको छ । यसबाटै कमाएको रकमले आठ जनाको परिवार सजिलै पालिरहेको छु ।

आश्विन १५, २०८२

मित्रलाल नेपाली

”I have raised a family of eight by selling Madal”

सल्यान — दलितले पढ्ने भन्दा आफ्नो पेसालाई प्राथमिकता दिनु पर्छ भन्ने मानसिकताका कारण मैले सानोमा विद्यालय गएर पढ्न पाइनँ । त्यही भएर ६/७ वर्षको उमेरदेखि बुवाको पछिपछि लागेर गाउँगाउँ घुमेँ ।

शारदा नगरपालिका–१ शान्तिनगरमा मेरो बसोबास छ । जीविकोपार्जनका लागि बुवाले गाउँगाउँ गएर मादल बनाउने, मर्मत गर्ने गर्थे । उनले काम गर्ने क्रममा केही काम मलाई सिकाउँथे र गर्न लगाउँथे । सानो छँदा बुवाले के गरेका होलान् भन्ने लाग्यो । उमेर बढ्दै गएपछि बल्ल थाहा पाएँ– मलाई मादल बनाउन सिकाउँदैछन् भन्ने कुरा । 

१४ वर्षको उमेर छँदा म मादल बनाउन पोख्त भैसकेको थिएँ तर मलाई मादल बनाउन त्यति राम्रो लाग्दैनथ्यो । कहिलेकाहीँ मात्र मादल बनाउँथेँ र धेरैजसो समय मजदुरी गर्न जान्थेँ । ज्याला मजदुरीको काम दैनिक पाउन सकिनँ । आठ जनाको परिवार पाल्न हम्मे हम्मे भयो । त्यही भएर बाबुले सिकाएको सीप अनुसार मादल बनाउने पुर्ख्यौली पेसामा लागेँ । 

अहिले म ५५ वर्षको भएँ । घरदेखि ५ सय मिटरको दूरीमा श्रीनगर बजारमै कोठा भाडामा लिएर सल्यानी मादल उद्योग खोलेर व्यवसाय गरिरहेको छु । नयाँ मादल बिक्री, पुरानोको मर्मत गरेर मासिक ६० हजारसम्म कमाइ हुन्छ । मादल उद्योग अहिले मेरो र परिवारको जीविकोपार्जनको राम्रो माध्यम बनेको छ । यसबाटै कमाएको रकमले आठ जनाको परिवार सजिलै पालिरहेको छु । 

खेतीपाती गर्ने जग्गा–जमिन केही नभएकाले सबै खाद्यान्न किन्नु पर्छ । आठ जनाको परिवारलाई महिनामा २० किलोको तीन कट्ठा चामल खर्च लाग्छ । एक कट्ठा चामलको २ हजार रुपैयाँ पर्छ । एक महिनामा २ हजारको १० किलो दाल लाग्छ । त्यस्तै ८ सयको तीन लिटर तेल लाग्छ । ४ हजार बराबरको तरकारी खान्छौं । एक पटकमा दुई किलो मासु लाग्छ । एक किलो राँगाको मासु ४ सय, कुखुराको ३ सय ५० र बंगुरको ३ सय ५० रुपैयाँ छ । सातामा एक दिन मासु खाँदा ५ हजार बढी खर्च त त्यसैमा लाग्छ । 

कोठा भाडा दुई हजार तिर्नु पर्छ । आफूले नपढे पनि छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाइरहेको छु । किताब किन्न नपरे पनि कापी–कलम, ड्रेस, जुत्तालगायतका सामग्री किन्दा महिनामा १ हजारजति खर्च हुन्छ । नयाँ कपडा लगायत अन्य सामान किन्न ५ हजार छुट्याउँछु । ६० हजारमा सबै खर्च कटाएर २०/२२ हजार बच्छ । केही बचत गर्छु र भाइले पनि सँगै काम गर्ने भएकाले उसले र मैले उक्त रकम बराबर बाड्छौं । 

केही वर्षअघिसम्म मजदुरी गर्नु पर्दा दैनिक काम पाइन्छ कि पाइँदैन भन्ने चिन्ता लाग्थ्यो । काम नपाइएको दिन पसलबाट उधारो लिएर खर्च चलाउनु पर्थ्यो । पेटभरि दुई छाक खान गाह्रो हुन्थ्यो । सीप अनुसारको पुर्ख्यौली पेसा अपनाएपछि अहिले कसैको भर पर्नु पर्दैन । आफूलाई केही खान मन लागेको समयमा किनेर खान र नयाँ कपडा लगाउन इच्छा लागेमा किनेर लगाउन सक्ने भएको छु । घरमा परिवारले खर्चका लागि पैसा मागे भने काम गरेको ठाउँबाट साहुले दिए भने दिम्ला भनेर टार्ने हुन्थ्यो । अहिले त्यस्तो पर्दैन । 

आधुनिक बाजाले विगतमा मादल झन्डै लोप भइसकेको थियो । बनाएको मादल कसैले किन्न नमान्दा मैले पेसा छाडेर मजदुरीलाई बढी महत्त्व दिएको थिएँ । पछिल्लो समयमा पुनः माग बढ्दै गएपछि त्यसलाई व्यावसायिकतामा ढालेँ । अहिले मैले बनाएका मादल जिल्लाभित्र मात्र नभई बाहिर पनि जाने गरेका छन् । २ हजारदेखि ४ हजारसम्म मूल्य पर्ने मादल अहिले उद्योगबाट दैनिक एउटा बिक्री भैरहेको छ । अहिले मादल उद्योग संचालन गरे पनि नपढे पनि सीप सिकेको आधारमा घरमै रोजगारी मिलेको छ । 

प्रस्तुति : विप्लव महर्जन 

मित्रलाल

Link copied successfully